|

हेटौंडा : बागमती प्रदेशले कोरोना भाइरस संक्रमण न्यूनीकरणका लागि हात नमिलाउने निर्णय गरेको छ। प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा बिहीबार बसेको  मन्त्रिपरिषदको बैठकले विश्वव्‍यापी रूपमा फैलिएको कोरोनाको संक्रमणबाट बच्न जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिने भएको छ।

विश्व स्वास्थ्य संगठनले नेपाललाई समेत कोरोना भाइरस संक्रमणको उच्च जोखिममा रहेको जनाएपछि प्रदेश सरकारले यसका लागि छुट्टै उपचार कक्ष निर्माण गरिसकेको समेत जनाएको छ। नेपालीको परम्परादेखि चलिआएको चलन एवं हातका कारण कोरोना बढी संक्रमण हुने चिकित्सकको भनाइलाई मध्यनजर गर्दै 'नो ह्याण्डसेक' को नीति अवलम्बन गर्न जनसमुदायमा आह्‍वान गर्ने निर्णय पनि गरेको हो।

बिहीबरै बसेको मन्त्रिपरिषदको बैठकले नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ। बुधबार मात्र मिर्गौलाको सफल प्रत्यारोपण भएपछि प्रधानमन्त्री एवम् मिर्गौला दिने समीक्षा संग्रौलाको स्वास्थ्य लाभको कामना गर्दै मिर्गौला प्रत्यारोपणमा संलग्न चिकित्सकको टोलीलाई प्रदेश सरकारले धन्यवाद ज्ञापन गरेको छ।

प्रदेश संरचनाको लागि हेटौंडा सिमेन्टको जग्गा

बागमती प्रदेशको प्रदेश संरचना निर्माणका लागि हेटौंडा सिमेन्ट उद्योगको खाली रहेको जग्गा उपलब्ध गराइदिन नेपाल सरकारलाई आग्रह गर्ने निर्णय  बागमती प्रदेश सरकारले गरेको छ। सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले राजधानी हेटौंडामा स्थायी संरचना आवश्यक पर्ने भएकोले सरकारले संघिय सरकारले जग्गा उपलब्ध गराईदिन आग्रह गर्ने निर्णय गरेको बताए।

यस्तै बागमती सरकारले प्रदेश सूचनाको हकसम्बन्धी ऐन २०७६ लाई संशोधन गर्न बनेको विधेयक प्रदेश सभामा पेश गर्ने स्विकृत दिने, चालु आर्थिक बर्षको लागि प्रदेश बिषेश अनुदान तर्फका थप योजनाहरु स्विकृत गर्ने निर्णय गरेको छ।

साझासँगको सहमति खारेज

बागमती प्रदेश सरकारले साझा यातायात सहकारी संस्था लिमिटेडमा शेयर लगानीको निर्णयसमेत खारेज गर्ने निर्णय गरेको छ। यसअघि साझा सहकारी संस्थासँग मिलेर बस सञ्चालन गर्ने भनिए पनि सहमतिअनुसार काम नभएकोले सहमति खारेज गरिएको प्रवक्ता मन्त्री ढुंगेलले जानकारी दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.