विचार

नेपाललाई कोरोनाको जोखिमबाट जोगाऔँ

फागुन २४, २०७६

    नेपालमा बेलामौकामा देखिने रुघाखोकीजन्य सरुवा रोगले महामारीको रूप लिने गरेको छ। यतिबेला पनि हिमाली जिल्ला डोल्पा र हुम्लामा त्यो भाइरल ज्वरो र रुघाले सताएकै छ।  झन् अहिले विश्वभर नै त्रासको वातावरण फैलाएको छ  नोबल कोरोना भाइरस अर्थात् कोभिड १९ भन्ने नेमोनियाको एउटा हाँगोले।

    पर्यटकहरूमा चिनियाँहरूको उल्लेख्य संख्या यसै पनि छँदैछ, झन् नेपाली विद्यार्थीहरूको आवतजावत पनि र विभिन्न प्रकारका सरकारी तथा गैरसरकारी भ्रमणहरूको ताँती नै लागेको पाइन्छ। यस अवस्थामा चीनका वुहानसहित करिब २५ वटा घना आवादी भएका शहरहरूमा कोरोना भाइरसको महामारी नै चम्केको छ। 

    एकातिर हाम्रो देशमा सामान्य ओखतीसमेत नपुगेर सामान्य रुघा खोकी र ज्वरोले समेत गाउँका गाउँ थलिने हाम्रो स्वास्थ्य अवस्थाको नाजुक अवस्था छँदै छ। अर्कातिर झन् अन्तर्राष्ट्रियरूपमै ओखती फेला नपरेको कोरोनाको महामारीको जोखिम छ।

    संसारका करिब ७७ वटा देशहरूमा देखिएको कोरोना भाइरसको उच्च जोखिममा  नेपाल पनि पर्छ भनेर विश्व स्वास्थ्य संगठन डब्लुएचओले दिएको चेतावनीपछि भने नेपालमा त्यसबारे सचेतना बढेको छ।

    तर, अहिलेसम्म कुनै पनि व्यक्तिमा कोभिड १९ नभेटिएको समाचारले राहत दिए पनि विश्वसँगको हाम्रो सम्बन्धले र कुनै पनि बेला त्यस्तो रोगले गाँज्न सक्ने भनेर स्वास्थ्य मन्त्रालयको स्पष्टोक्तिले हामीलाई पनि यसबारेमा चिन्तित तुल्याउने नै भयो।     

    एकातिर हाम्रो देशमा सामान्य ओखतीसमेत नपुगेर सामान्य रुघा खोकी र ज्वरोले समेत गाउँका गाउँ थलिने हाम्रो स्वास्थ्य अवस्थाको नाजुक अवस्था छँदै छ। अर्कातिर झन् अन्तर्राष्ट्रियरूपमा समेत कुनै ओखती फेला नपरेको अनि महामारीको रुप लिएको भाइरस नेपालमा महामारीको रुपमा फैलिन सक्ने अवस्थालाई सतर्कताका साथ निदानात्मक अवस्थाको बेलैमा जोहो गरिनुपर्छ। यसबारेमा सर्वोच्च अदालतले समेत सतर्कता अपनाउन सचेत गराएको छ। र, केही देशहरूसँग हवाई सम्बन्ध अन्तरिम समयका लागि बन्दसमेत गर्न आदेश दिएको छ।

    चेतना र सजगताको खाँचो

    एकातिर चिसोको बेलामा यसै पनि रुघाखोकी ज्वरो र घाँटीको संक्रमण हुन्छ नेपालमा। झन् त्यस्तैबेलामा त्यस्तै खालको रोगले ग्रस्त बनाउँदा कुन कोरोना भाइरस हो या कुन सामान्य रुघाखोकी र ज्वरो हो भन्ने थाहा पाउन गाह्रो हुन्छ।

    कोरोना भाइरसको लक्षणमा पनि ज्वरो अत्यधिक देखिने हो जुन कम्तीमा पनि १००.४ डिग्री हुने गर्छ। यसका लागि निरन्तरको चेतना र सजगता नै ठूलो निदानात्मक उपाय हो। तर त्यसो भनेर पनि हुँदैन, गाउँगाउँमा फैलिएका एफएम रेडियोबाट यसबारेमा जनचेतना फैलाउन स्थानीय सरकारलाई सजग बनाउनुपर्छ र चेतना फैलाउनका लागि आवश्यक रकम पनि र आवश्यक रोकथामका लागि ओखतीको पनि व्यवस्था गरिनुपर्छ।

    भन्दछन्—स्याल मार्न जाँदा बाघ मार्ने खजाना लिएर हिँड्नुपर्छ। सामान्य रुघाखोकीले त गाउँ-गाउँमा महामारी फैलिएको हाम्रो आफ्नै अनुभव छ भने झन् अहिले त घना आवतजावत भएको देश चीनमा नै त्यस्तो महामारी फैलिएकोले सडक सञ्जालबाट आउने पर्यटक, आएका  सामान ढुवानी गर्ने व्यक्ति तथा मासु अण्डा आदिमा केही समय रोकेर भए पनि सजगता अपनाउनु नै कल्याणकारी हुनेछ। अहिले सडक सञ्जालको मात्र कमी भएको हो, केही हवाई यात्रीहरू अझै आउँदै छन्। यो रोग हो र रोगलाई सकेसम्म निर्यात हुनबाट रोक्नका लागि हदैसम्मको उपाय अपनाउनु जरुरी छ।

    भोलि महामारी हुनभन्दा अहिले नै सजगता अपनाउनुपर्छ र दुर्गम तर जाडो क्षेत्रहरूमा बेलैमा आवश्यक  सजगता अनि ओखतीको प्रबन्ध आवश्यक छ। शहरी क्षेत्रमा त झन् घना आवादी भएकाले यदि कोरोना भाइरस प्रवेश गर्‍यो र अनियन्त्रित अवस्थामा पुग्यो भने यसले गर्ने क्षति अकल्पनीय हुनेछ। यसबारेमा स्वास्थ्य क्षेत्र, सुरक्षा क्षेत्र, गैरसरकारी क्षेत्र तथा सबै नेपाली जनता आफैँ सजग र सतर्क हुनु आवश्यक देखिएको छ।

    चीन जस्तो सुविधासम्पन्न देशमा र प्राविधिकरूपमा दक्ष जनशक्ति भएको देशमा त यसले महामारीको रुप लियो भने हामीलाई त यसले राष्ट्रिय संकट नै उत्पन्न गर्नेछ। हुन त हामीले वुहानबाट आफ्ना नेपाली नागरिकहरूलाई उद्धार गरेका छौँ र ती आएका १७५जनामा कुनै पनि प्रकारको संक्रमण नरहेको प्रमाणित भएर सबै नै घरघरमा पुगेका छन्।

    औषधिबारे अनुसन्धान हुँदै

    कोरोना भाइरसबारे पहिले पनि अनुसन्धान भएको रहेछ र पशुपन्छीबाट नै सर्ने प्रमाणित भएको रहेछ। तर, मानिसमा जुन संक्रमण भएको अहिले पाइयो, यसबारे विश्‍वका विभिन्‍न देशहरूमा अनुसन्धान पनि हुँदैछ र खासै ओखती पनि पत्ता लागेको देखिँदैन।

    नेपालमा यसको असर नेपालभित्रै खासै नपरेको देखिए पनि विश्वका अरू देशहरूसँगको सम्बन्धले  भ्रमण वर्ष २०२०मा धक्का लागेको छ र नेपालले आवश्यकता हेरेर मात्र विदेश भ्रमणका लागि जान, सकेसम्म टाढाको भ्रमणमा नजान र चीन, कोरिया, जापान, इरान जस्ता देशमा नजान सचेत गराएको छ। इरानमा त जेलमा रहेका कैदीहरूसमेतलाई अस्थायीरुपमा जेलमुक्त गरिएको छ। नेपालमा पनि केही निदानात्मक कदम चालिन थालेको देखिन्छ।

    मुलुक  भनेको जनता हो। जनताको व्यक्तिगत तथा सामुदायिक स्वास्थ्यबारे चिन्ता लिने भनेको सरकारले नै हो। जनताले कतिपय कुरामा पहुँच राख्दैनन् तर सरकारले पहुँच राखेकै हुन्छ। यस्ताबेलामा जनस्वास्थ्यमा खेलबाड गर्नेहरूमाथि सरकारले कडा व्यवहार पनि गर्नुपर्छ। डाक्टरहरूको स्वास्थ्यमाथि पनि झन् खतरा हुन्छ।

    कक्षा १० को अन्तिम परीक्षा चैत ६ बाट सुरु हुने हुँदा चैत ५ सम्ममा कक्षा १ देखि ९ सम्मको अन्तिम परीक्षा सकेर लामो बिदा दिनका लागि विद्यालयहरूलाई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले परिपत्र गरेको समाचार आएको छ। त्यसअघि नै विश्वविद्यालयहरूका स्नातकोत्तरका परीक्षा हुँदैछन् र १० कक्षाको अन्तिम परीक्षालगत्तै कक्षा १२ र११ को अन्तिम परीक्षा हुँदैछन्।

    परीक्षाको यो वृत्त वर्षैभरि चलिरहन्छ र भिडभाड पनि त्यहाँ हुन्छ। मानवीय स्वास्थ्यको जगेर्ना गर्नका लागि  पूर्व सचेतना अपनाउँदा धेरै कुरामा ध्यान पनि पुर्‍याउनुपर्छ र कतिपय कुरामा भावी दिनको तयारीका लागि सम्झौता पनि गर्नुपर्छ।

    जनताको स्वास्थ्यबारे सरकार चिन्तित हुनुपर्छ

    मुलुक  भनेको जनता हो। जनताको व्यक्तिगत तथा सामुदायिक स्वास्थ्यबारे चिन्ता लिने भनेको सरकारले नै हो। जनताले कतिपय कुरामा पहुँच राख्दैनन् तर सरकारले पहुँच राखेकै हुन्छ। यस्ताबेलामा जनस्वास्थ्यमा खेलबाड गर्नेहरूमाथि सरकारले कडा व्यवहार पनि गर्नुपर्छ। डाक्टरहरूको स्वास्थ्यमाथि पनि झन् खतरा हुन्छ।

    सचेतना अपनाउन यसो गरौँ

    जनताको स्वास्थ्यको ख्याल गर्ने डाक्टरहरूलाई सुविधा र वास्ता नगर्नेहरूलाई कडा कारबाही गरिनुपर्छ। यहीबेलामा भएका मास्क पनि लुकाउने र बढी मूल्य लिने चलन पनि देखिन थालेको छ। यसैलाई भनिएको हो जनस्वास्थ्यमाथिको खेलबाड भनेर। त्यस्तो कुनै ओखती त छैन तर तातोपानी पिइरहने, हात साबुनले धोएर मात्र केही चिजमा छुने, अरूले छोएको चिजमा सकेसम्म ग्लोब लगाएर छुने, हात नमिलाउने, नमस्कार गर्ने, अभिवादन गर्ने अनेक अरू परम्पराहरू छन्, तिनको प्रयोग गर्ने, लिफ्टमा जाँदा आउँदा तलाको अंक थिच्दा आफ्नो पेन वा कुइनाले थिच्ने, ढोका उघार्दा वा ह्यान्डिल उघार्दा रुमालको प्रयोग गर्ने र मास्क लगाएर मात्र बाहिर जाने गर्नु उचित हुनेछ।

    अर्थात् सचेतनाका अनेक उपाय अपनाउने गरौँ भनेर एकले अर्कालाई सिकाउने पनि गर्नुपर्छ। विद्यालयमा यदि यो भाइरस भाइरल भयो भने वा यसले साना साना बालबालिका र वृद्धवृद्धाहरूलाई बढी नै सताउने हुनाले यसपटक परीक्षा नलिएर पनि कक्षा बढाउन सकिन्छ भन्ने मान्यता राख्‍न सकिन्छ। सामुदायिक स्वास्थ्य बचाउनका लागि केही कुरामा सम्झौता र रणनीतिक उपाय पनि अपनाउनुपर्छ।

    कोभिड १९को कति विस्तार हुने हो भन्ने कुराबारे अहिल्यै भन्न हतारो हुनेछ भन्ने विश्व स्वास्थ्य संगठनको धारणा छ। झन् हामीले त कसरी भन्न सक्छौँ र? मात्र हामीले सचेतना बढाउने र जोगिने हो।

    सबै भाइरसले संक्रमितहरू मर्ने त होइनन्, अहिलेसम्म करिब १ लाख व्यक्तिमा यो भाइरसले संक्रमण गरेको र करिब ३ हजार ३०० जतिको मृत्यु भएको पुष्टि भएको छ। यसको अर्थ हो करिब ३ प्रतिशतको मृत्यु भएको छ। यसको संक्रमणबाट पनि मानिसहरू मुक्त भएर सामान्य जीवन यापन गरिरहेका छन्। तर पनि यो जसरी भयानक तरिकाले विस्तारित भइरहेको छ, त्यसले देखाउने भयानक तस्वीरचाहिँ डरलाग्दो छ किनभने यो सन्त्रासको नाममा परिणत भएको छ।

    यो कोभिड १९ संक्रमण चीनको मात्र समस्या रहेन। न त चीनले यसको उत्पादन गरेर निर्यात गरेको हो। चीन स्वयं यसको मारमा परेर अरबौँ डलरको क्षतिमा परेको छ। जनस्वास्थ्यमा देखिएको समस्याले राजनीतिक, आर्थिक  तथा  सामाजिक समस्यामा परेको बेला छ। चीन आफैँ जनस्वास्थ्यका मामिलामा सजग र सक्षम देश हो र पनि अन्योलग्रस्त किन भएको हो भने यो संक्रमण यसरी बढेको छ कि कसरी नियन्त्रणमा ल्याउने भन्ने समस्या देखिएको छ। अब यो विश्वका ७७ देशमा फैलिँदा अरू देशहरूमा पनि संक्रमित हुँदैछ र यसमा चीनबाट जानेहरूकै कारणले यस्तो फैलावट भएको मानिएको छ।

    सामान्‍य र भयानक दुवै तरिकाले हेरौँ

    यो विश्वको स्वास्थ्य समस्या भएको छ र हामीले पनि आफ्नो स्वास्थ्यको ख्याल गर्दै विश्वका अरू देशलाई पनि कसरी यसबाट मुक्त हुन सहयोग गर्न सकिन्छ, गर्दै जाने नीति लिनुपर्छ। निरन्तरतको सजगता र पूर्व-सचेतना नै यसबाट मुक्त हुने उपाय हो। यसलाई सामान्यरुपमा पनि लिऔँ र भयानकरुपमा पनि लिऔँ। सामान्य यसकारणले कि यो रुघाखोकी र ज्वरो हो, असामान्य यसकारणले कि यो महामारीको रुपमा देखियो।

    सजगताका साथ कोरोना भाइरससँग जुधौँ। सकेसम्म त्यसको प्रभाव नपरोस् भनेर सतर्क होऔँ, भइहाले एकान्त जीवनयापनबाट त्यसमाथि विजय हासिल गर्ने विधि अपनाऔँ। 

हरिविनोद अधिकारी

पत्रकार अधिकारी समसामयिक विषयमा कलम चलाउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]