काठमाडौं : डा. बाबुराम भट्टराई प्रधानमन्त्री भएपछि २०६८ सालदेखि देशैभरका सडक फराकिलो पार्ने अभियान शुरू भयो। फराकिलो मात्रै होइन, हरित सडक बनाउने क्रममा सडकको लेन डेडिकेटर र फुटपाथमा हजारौं बिरूवा रोपियो।
रोपिएकामध्ये केही प्रमुख सडकहरू साँच्चै हरित सडक बनेका छन्। तर रोपेपछि संरक्षण नगर्ने, बजेट सक्न र आफूलाई पर्यावरणमैत्री रहेको देखाउनकै लागि सडकमा बिरूवा रोप्नेहरूका कारण हरित सडकको अवधारणा विफल हुँदै गएको छ।
काठमाडौं महानगरपालिका र नेपाली सेनाले एकैसाथ गत असोज ३ गते महानगर क्षेत्रका सडकपेटीमा करिब ६ सय बिरूवा रोप्यो। महानगर हरियाली प्रबर्द्धनका लागि भन्दै रोपिएका बिरूवाहरू यतिखेर त्यहाँ छैनन्, बचेखुचेका बिरूवा पनि कतै भाँचिएका छन् भने कतै जरै समेत उप्काएर लगिएका छन्।
देशकै सुरक्षाको प्रमुख जिम्मेवार सेना आफैंले रोपेको बिरूवा समेत संरक्षण गर्न सकेन। महानगर त यस्ता काममा बजेट सक्ने र बर्षेनी बिरूवा रोप्ने धन्दामा लागिरहेकै छ। नागरिकको त कुरै नगरौं - बिरूवा रोपिएको ठाउँलाई शहरबासीले पान थुक्ने र फोहोर फाल्ने डष्टबिनको रुपमा प्रयोग गर्दै आएका छन्।
रोपिएका बिरूवामध्ये कति सुकेका छन् भने कति उखेलेर फ्याँकिएको अवस्थामा छन्। महानगरपालिकाले बिरूवा ढाक्न ट्रिगार्ड (बिरूवा छोप्ने सामग्री) राख्न नसक्दा संरक्षण हुन नसकेको हो।
नेपाल भ्रमण वर्ष २०२० लाई लक्षित गर्दै महानगरलाई हरियाली बनाउन वृक्षारोपण गरिएको वडा नम्बर ५ का अध्यक्ष विकासमान श्रेष्ठ बताउँछन्। महानगरले सडक हरियाली बनाउन २३ लाख रूपैयाँ बजेटसमेत छुट्याएको थियो।
रोपिएका बिरूवाको संरक्षण गरिने, वृक्षारोपण पछि महानगरको हरियाली प्रबर्द्धन र फुटपाथको अतिक्रमण रोकिने अपेक्षा राखिएको थियो। तर, रोपिएका बिरूवाको संरक्षणमा न सरकारी निकाय लाग्यो, न त यात्रुहरूले नै यसलाई बचाउन चाहे।
रोपिएका बिरूवामध्ये कति सुकेका छन् भने कति उखेलेर फ्याँकिएका छन्। यात्रुले नै रोपेको बिरूवा भाँच्ने गरेका पनि देखिन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।