|

ओखलढुंगा : ओखलढुंगा, रामेछाप र सोलुखम्बुको सीमा भएर बग्ने लिखु नदीमा सातवटा जलविद्युत् आयोजना निर्माण हुँदै छन्। ओखलढुंगाको लिखु र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको बिजुलीकोटसम्म सातवटा जलविद्युत आयोजना निर्माण हुँदै गरेका हुन्।

सातवटा जलविद्युत् आयोजना निर्माण सम्पन्न भएमा लिखु नदीबाट ३ सय २९ दशमलव ६ मेगावाट विद्युत् उत्पादन हुनेछ । पछिल्लो समय नदीको माथिल्लो क्षेत्र लाहाछेवरदेखि बिजुलीकोटको रातामाटासम्म विद्युत् आयोजनाका विभिन्न संरचना निर्माण धमाधम भइरहेका छन्।

रामेछापको उत्तरी बस्ती लाहाछेवरमा भिजन जलविद्युत् आयोजनाले ५८ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्दै छ । आयोजनाले प्रवेशमार्ग र अन्य संरचना निर्माण धमाधम थालेको छ । आयोजनाको सिभिल संरचनाको काम धमाधम भइरहेको छ। उक्त आयोजनाले उमातीर्थ नजिकै विद्युतगृह निर्माण गर्ने बताइएको छ ।

त्यस्तै, हिमालय प्रालिले प्रवर्द्धन गरेको लिखु–१ को ७७ मेगावाट क्षमताको आयोजनाले विद्युत् उत्पादन गर्न तीव्र गतिमा काम गरिरहेको छ । उक्त आयोजनामा मुख्य लगानी प्राइम बैंक र अन्य ६ वटा बैंकहरू रहेका छन् । लिखु–१ को ७७ मेगावाट विद्युत् उत्पादन भई बाहिरिएको पानी प्रयोग गरी लिखु–२ आयोजनामा लैजाने कामसमेत भइरहेको छ ।

प्रतिमेगावाट १८ करोड

लिखु–१ आयोजनामा ३० प्रतिशत लगानी मोतीलाल दुगड समूहको रहेको छ । प्रतिमेगावाट १८ करोड खर्च अनुमान गरिएको आयोजना ०७७ साउनमा सम्पन्न गर्ने लक्ष्य दुगड समूहका राजन खत्रीले बताए। दुगड समूहकै लगानीमा लिखु–२ आयोजनाको काम अगाडि बढाइएको उनको भनाइ छ।

आयोजनाको विद्युत् क्षमता ५५ मेगावाट हुनेछ । यो आयोजनामा माछापुच्छ्रे बैंकको मुख्य लगानी छ। उमाकुण्ड–१ क्यामाको वाल्दिङ दोभानमा बाँध निर्माण गरी उमाकुण्डकै ठाडोखोलामा विद्युतगृहमा पानी खसालिने बताइएको छ । लिखु–२ आयोजनाको कामसमेत ०७७ साउनमै सक्ने आयोजनाको लक्ष्य छ ।

यसैगरी, सोही समूहले तेस्रो आयोजनाको काम पनि सँगसँगै अघि बढाएको छ । लिखुको राङदहमा बाँध निर्माण गरी बुकुदोभानमा विद्युतगृह निर्माण हुने आयोजनाको संरचना निर्माणमा तीव्रता दिइएको छ । २९ दशमलव ४ मेगावाट क्षमताको आयोजना निर्माण पूरा गरी ०७७ असारमा विद्युत् उप्पादन हुने लक्ष्य छ ।

सुरुङ र पावरहाउसको काम हुँदै

दुगड समूहले निर्माण गरेका तीनवटै आयोजनामा हाल सुरुङ निर्माण, पावर हाउसको सिभिलतर्फको काम, प्रसारण लाइनको सर्भे, जग्गा अधिग्रहणलगायत काम भइरहेका छन् । उत्पादित विद्युत् १३२ केभी प्रसारण लाइनमार्फत रामेछापको चुचुरेस्थित गर्जाङ सबस्टेसनमा लगेर केन्द्रीय प्रसारण लाइनमा जोड्ने लक्ष्य रहेको खत्रीले बताए ।

उक्त तीनवटा आयोजनाबाट उत्पादन हुने १६१ दशमलव ४० मेगावाट बिजुलीमध्ये नेपाल विद्युत् प्राधिकरणले ११४ मेगावाट खरिद गर्ने सम्झौता भएको छ भने बाँकी विद्युत् अन्य खरिदकर्तालाई बेचिने उनले बताए। आयोजनाका लागि सानाठूला गरी पाँचवटा पक्की पुल र करिब १२५ किमि सडक निर्माण कार्य पूरा भई सकेको छ।

३० प्रतिशत काम पूरा

लिखु नदीको पानी प्रयोग गरी ५२ दशमलव २ मेगावाट क्षमताको लिखु–४ जलविद्युत् आयोजना निर्माणसमेत तीव्र पारिएको छ । ओखलढुंगाको खिजीदेम्बा र रामेछापको उमाकुण्ड गाउँपालिकाको बीचमा पर्ने बिमिरेमा बाँध बाँधी ओखलढुंगाको लिम्तीमा निर्माण हुने विद्युतगृहमा पानी खसालिने आयोजनाको काम करिब ३० प्रतिशत काम पूरा भएको छ।

त्यस्तै, गरी लिखु नदीमा लोयर लिखुका नाममा ओखलढुंगाको लिखु गाउँपालिका र रामेछापको लिखु तामाकोशी गाउँपालिकाको ढाँडेमा ड्याम साइड बनाई बिजुलीकोटमा पावर हाउसको काम तीव्र गतिमा अगाडि बढाइरहेको छ।

यसका लागि सानीमा बैंक मुख्य लगानीकर्ता रहेको छ। २८ दशमलव १ मेगावाट क्षमताको यो विद्युत आयोजनाको ५० प्रतिशत काम सम्पन्न भएको बताइएको छ। तीन किलोमिटर सुरुङ निर्माण गर्नुपर्ने यो आयोजनाको हालसम्म २ किमी ३०० मिटर सुरुङ निर्माण सम्पन्न भएको आयोजनाले बताएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.