|

सल्यान : पछिल्लो समय धेरैले राजनीतिलाई खेतीपाती बनाएका छन्। धेरैले राजनीतिलाई कमाई खाने भाँडो बनाइ रहेको अवस्थामा सल्यान शारदा नगरपालिका १ श्रीनगरका नविन भडेलले भने राजनीतिलाई उद्यमशीलतसँगै जोडेर अघि बढी रहेका छन्। 

समाजमा कुराजस्तै काम गर्ने कमै भेटिन्छन्। तिनै कर्म गर्ने मध्यमा पर्छन् भडेल। राजनीतिमा सक्रिय भडेल मञ्चमा भाषण मात्र गर्दैनन् खेतीकिसानी पनि गर्छन्।

आर्थिक उपार्जनका लागि व्यवसायिक तरकारीलगायत उत्पादन मुलक काममा लागेका उनले अरुलाई पनि कृषिमा लाग्न प्रोत्साहन गर्ने छन्। २०७२ सालमा एक रोपनी क्षेत्रफलबाट व्यवसायिक तरकारी खेती सुरू गरेको भडेलले अहिले २२ रोपनीमा  लटरम्म तरकारी फलाएका छन्। उनको बारीमा अहिले काउली, बन्दा, आलु, प्याज, लसुन, काक्रो, लौका र फर्सी लगाएका छन्। 

तरकारी खेतीबाट राम्रो आम्दानी भएपछि उनले १७ रोपनी जमिन भाडामा लिएर तरकारी खेती गरी रहेका हुन्। उनले भने, 'अन्नबालीको भन्दा धेरै गुणाले तरकारीबाट आम्दानी भएपछि आफ्नो पाँच रोपनी र अरुको १७ रोपनी भाडामा लिएर खेती गरी रहेको छु।' 

वार्षिक ३० हजारका दरले जग्गा भाडामा लिएको उनको भनाई छ। तरकारी खेतीबाट सबै खर्च कटाएर वार्षिक ३ लाख रुपैयाँसम्म आम्दानी हुने गरेको उनले बताए। 

भाषणले समृद्धि आउँदैन 

आफू उद्यमशील बन्न नसकेसम्म समृद्धिका भाषणले मात्र सार्थकता नपाउने उनको भनाई छ। समृद्ध नेपाल बनाउने भनेर भाषण मात्र गर्नु भन्दा उद्यमशील बनेमा मात्र समृद्ध नेपाल बन्ने भडेलले बताए। उनले भने हामी धेरै समृद्ध नेपाल बनाउने भनेर भाषण गर्छौ। तर भाषणले मात्रै समद्ध बनाउन नसकिने भएकाले त्यसका लागि आफै पनि उद्यममा जोडिनु पर्छ। 

राजनीति गर्नेले खाली बस्नुपर्छ भन्ने मान्यता अन्त्य गर्नुपर्ने बताउँदै राजनीतिककर्मीले पनि आम नागरिक जस्तै गरी जीवनयापन गर्नु पर्ने बताए। परिवार चलाउन तरकारी खेती गरी रहेका उनले मुलुकलाई समृद्ध बनाउन राजनीतिलाई पनि सँगसँगै अघि बढाएको बताए। 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) शारदा नगर कमिटिका अध्यक्ष रहेका भडेलले राजनीति र कृषि पेशालाई साथ साथै अघि लगि रहेका छन्। पार्टीको काम तथा सामाजिक कामबाट बचेको साँझ बिहानको समय तरकारी खेतीमा बिताउने उनले बताए। 

एक जनालाई रोजगारी 

व्यवसायिक तरकारी खेती गरी रहेका भडेलले एक युवालाई समेत रोजगारी दिएका छन्। खाना खाएर मासिक १० हजार रुपैयाँ दिएर एक जनालाई रोजगारी दिएको उनले बताए। श्रममा विश्वास गर्ने भडेलले स्वदेशमै सानो कामबाट पनि आम्दानी गर्न सकिने बताए। पैसा कमाउन विदेशै जानुपर्छ भन्ने युवाको सोचमा परिर्वतन आउन जरुरी रहेको उनले बताए। 

आउँदो वर्षदेखि टनेल थप गरेर बेमौसमी तरकारीलाई जोड गर्ने उनले बताए। 'जग्गा अलि नमिल्दा वर्षाको समयमा पानी जम्दा समस्या भएको छ। आउँदो वर्ष टनेल थप गरेर बेमौसमी तरकारी बढाउने योजना छ,' उनले भने। 

सामुहिक तरकारी खेतीको सपना 

एक ढंगले तरकारी खेती गर्दै आएका भडेले सामुहिक खेती गर्ने सपना रहेको बताए। 'छरपष्ट रहेका खेतीलाई सामुहिक कम्पनीमा रुपान्तरण गरी सामुहिक कृषि खेती गर्ने सपना छ,' उनले भने। छरिएर रहेको पूँजी र श्रमलाई एकीकृत गर्न सकेमात्र आर्थिक रुपमा सवल र सक्षम बन्न सकिने उनी बताउँछन्‌।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.