|

ओखलढुंगा : जिल्लामा वर्षौंदेखि विद्युतमा गरेको करोडौंको लगानी बालुवामा पानी हालेसरह भएको छ। पछिल्लो समय नेपाल विद्युत प्राधिकरणले ग्रामीण विद्युतीकरण गर्न थालेपछि स्थानीय जनता र गाउँ विकास समितिहरूले लगानी गरेको माइक्रो हाइड्रोको लगानी बालुवामा पानी हालेसरह भएको हो। 

ओखलढुंगाका ७५ वटा वडामा वर्षौदेखि साबिकका गाउँ विकास समिति, वैकल्पिक ऊर्जा तथा स्थानीयले लगानी गरी उत्पादन गरेको १.५  मेगावाटभन्दा बढी विद्युत विभिन्न स्थानमा उत्पादन गरेका छन्।

ग्रामीण क्षेत्रमा कम्तीमा १० किलोवाट विद्युत उत्पादन गर्नलाई ५०–६० लाख बढी खर्च लाग्ने गर्दछ। यसरी जनताको प्रत्यक्ष लगानीमा उत्पादन गरिएका माइक्रो हाइड्रो र पेल्ट्रिक सेट पछिल्लो समय मर्मत सम्भार र संरक्षण नहुँदा लगानीको जोखिम बढेको छ।

पछिल्लो समय राज्यले हरेक गाउँमा केन्द्रीय विद्युत पुर्‍याउन थालेपछि गाँगाउँमा उत्पादन गरिएका विद्युत् गृह मर्मत नहुँदा यो अवस्था भएको खिजीदेम्वा गाउँपालिका अध्यक्ष बेदबहादुर रोकाले बताए।

आफ्नो गाउँपालिकामा लिखु चार  हाइड्रो पावर निर्माण हुन लागेका भए पनि अझै केही वर्ष राष्ट्रिय प्रसारण लाइन विस्तार हुने अवस्था नभएको र केही वर्ष स्थानीयस्तरमा उत्पादन भएका माइक्रो हाइड्रो संचालनमा आउने उनको भनाइ छ।

पछिल्लो समय ओखलढुंगामा लिखु, चम्पादेवी, चिसंखुगढी, मोलुङ, मानेभञ्ज्याङ, सुनकोशी गाउँपालिका र नगरपालिकामा केन्द्रीय विद्युत् विस्तार हुन थालेपछि जनताको लगानी डुबेको सुनकोशी गाउँपालिका अध्यक्ष रुदप्रसाद अधिकारीले बताए।

मोलुङ हाइड्रोको हिसाबकिताब नै सार्वजनिक भएन

उनले मोलुङखोलाबाट उत्पादन गर्न लागिएको ३०० किलोवाटभन्दा बढी क्षमताको माइक्रो हाइड्रोको उपभोक्ता समितिले आजसम्म हिसाब सार्वजनिक गर्न सकेको छैन। कारण प्रतिपरिवार उठाइएको ७ हजार तथा साबिकका गाउँविकास समिति र जिल्ला विकास समितिले लगानी गरेको करोडौं रकम कहाँ पुग्यो भन्नेसमेत सर्वसाधारणलाई थाहा नभएको बताए।

त्यस्तैगरी, मानेभञ्ज्याङ गाउँपालिकामा साबिकका गाविसहरूले करोडौं लगानी गरेका भए पनि पछिल्लो समय गाउँपालिकामा रहेको एउटा माइक्रो हाइड्रो मात्रै  सञ्‍चालनमा रहेको छ। आगामी एक वर्षभित्रमा गाउँपालिकामा केन्द्रीय विद्युतीकरणको काम सक्ने गरी आफूहरू लागिपरेको गाउँपालिका अध्यक्ष मोतीराज राइको भनाइ छ।

विद्युत् प्राधिकरणले पनि जनताको लागानीमा निर्माण भएका साना जलविद्युत् आयोजनाहरू आफ्नो स्वामित्वमा नलिने भएका कारण अहिले पनि संचालनमा रहेका माइक्रो हाइड्रोको अवस्था नाजुक भएको डुडे खोलाखर्क लघु जलविद्युत आयोजना गाम्नाङटारका व्यवस्थापक फत्तबहादुर पौडेलले बताए।

आफूहरूले विद्युत प्राधिकरणसँग समन्वय गर्न खोज्दा प्राधिकरणले तार र पोल मात्रै लिने भएका कारण १८ किलोवाटको माइक्रो हाइड्रो जेनतेन चलाइरहेको उनको भनाइ छ।

लगानी दिन सक्दैनौँ, तार र पोल मात्र लिन्छौँ : प्रधिकरण

यस विषयमा नेपाल विद्युत प्राधिकरण ओखलढुंगाका प्रमुख सञ्जीव शाहले सामान्य मर्मत गरेर चल्ने भए  तार र पोल मात्रै आफूहरूले लिने तर लगानी गर्न नसक्ने बताए। ओखलढुंगा खिजीदेम्वा गाउँपालिकाका विभिन्न वडामा ३५० किलोवाट बढी विद्युत उत्पादन गरिएको छ।

त्यस्तैगरी, लिखु गाउँलिकाको विभिन्न वडामा १५ वटा माइक्रो हाइड्रो तथा पेल्टिकसेटबाट २५० किलोवाटभन्दा बढी विद्युत उत्पादन गरिएको छ।

चिसंखुगढी गाउँपालिकाकाका विभिन्न वडामा पनि १५० किलोवाट भन्दा बढी विद्युत उत्पादन गरिएको छ। मानेभञ्ज्याङ गाउँपालिकाका विभिन्न वडामा १५० किलोवाटभन्दा बढी विद्युत् क्षमता विभिन्‍न   माइक्रो हाइड्रो र पेल्ट्रिकसेटबाट उत्पादन गरिएको छ।

सुनकोशी गाउँपालिका मै मोलुङखोलामा निर्माणाधीन ३०० किलोवाटभन्दा माथिको माइक्रो हाइड्रोको लगानीको आजसम्म हिसाब सार्वजनिक हुन सकेका छैन। गाउँमा टुकी विस्थापनकै लागि चम्पादेवी गाउँपालिकामा २७५ किलोवाटभन्दा बढी विद्युत उत्पादन गरिएको छ भने मोलुङ गाउँपालिकामा पनि २ सय किलोवाटभन्दा बढी  विद्युत उत्पादन गरीएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.