|

रुकुम : रुकुम पश्चिम मुसिकोट नगरपालिका-५, सेरीगाउँमा सञ्चालनमा आएको हिमालय सिस्नो पाउडर उद्योगमा उत्पादित अर्गानिक सिस्नो पाउडरको माग बढेको छ। स्थानीय वनजंगल तथा घरआँगनमा खेर गइरहेको सिस्नोलाई संकलन गरी पाउडर धूलोको रूपमा उत्पादन गर्न थालेपछि धेरैजसो स्थानीयले सिस्नो पाउडरलाई रोजाइमा पार्न थालेका हुन्।

पाउडरको रुपमा उत्पादन गरिएको सिस्नो विभिन्न खानाको परिकारसँग खान मिल्ने र स्वास्थ्यलाई समेत फाइदा पुग्ने भएकोले हाल स्थानीय बजार तथा जिल्ला बाहिर सिस्नो पाउडरको माग बढ्दै गएको हो। प्रतिकेजी ६ सय ५० रुपैयाँमा बिक्री हुने सिस्नो पाउडरको धूलो हालसम्म दुईसय किलोग्राम बिक्री भइसकेको सिस्नो पाउडर उद्योगका सञ्चालक सुन्दर शर्माले बताए।

उनका अनुसार स्थानीय बजार तथा दाङ, बुटवल, काठमाडौंलगायत देशका विभिन्न ठाउँमा अर्गानिक सिस्नो पाउडर निर्यात हुने गरेको छ। जिल्लामा सिस्नोको उत्पादन राम्रो हुने भएका कारण गाउँघरमै केही गर्न सकिने भन्दै युवा व्यवसायीको सक्रियतामा सिस्नो पाउडर उद्योग सञ्चालनमा आएको हो।

चारजना युवा व्यवसायीले १७ लाख लगानी गरेर शुरु गरेको सिस्नो पाउडर उद्योगका लागि कर्णाली प्रदेश सरकारअन्तर्गत डिभिजन वन कार्यालयले समेत दश लाख अनुदानको व्यवस्था गरेको वन कार्यालय रुकुम पश्चिमका रेन्जर जीवराज महत जानकारी दिए।

 हिमालय सिस्नो पाउडर उद्योगले साँख, स्याँलापाखा, भलाक्चा, चुन, चौखाबाङ्ग लगायत गाउँबाट २५ रुपैंयाँ प्रतिकेजीका दरले सिस्नो संकलन गर्दै आएको छ। संकलन गरिएको सिस्नोलाई पाउडर धूलो बनाउनु पूर्वसफा पानीले धोएर आल्मुनियको जालीमा सुकाइसकेपछि प्रविधिको सहायतामा अर्गानिक सिस्नो पाउडर उत्पादन गरी बिक्रि गर्ने गरिएको छ। जिल्लामै पहिलोपटक सिस्नो पाउडर उद्योग सञ्चालनमा आएपछि सिस्नो यहाँका स्थानीयको लागि आम्दानीको श्रोत पनि बनेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.