|

पर्वत : जिल्लाको कुस्मा नगरपालिका ५ मेलमिलाप चोकमा रहेको सञ्जय ब्याग उद्योगका सञ्चालक सञ्जय नेपालीले एकैदिनमा हजारौँ मूल्यका झोलाहरू बिक्री गर्छन्।

सिलाइको सीप भएकाहरूलाई रोजगारसमेत दिएका उनको ब्याग उद्योगबाट उत्पादन गरिने झोलाहरू सदरमुकाम कुस्मासहित छिमेकी जिल्ला बागलुङ र म्याग्दीका पसलहरूले पनि बिक्रीका लागि लैजाने गरेका छन्।

कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण बढ्दै गएको र नेपाल पनि जोखिममा रहेको भनी सतर्कता अपनाउँदै गर्दा नेपालीले झोला उत्पादनको काम थाती राखेर मास्क बनाउने काम गरिरहेका छन्।

बजारमा विभिन्न पसलहरूमा सहजै रूपमा उपलब्ध हुने तथा मेडिकल र फार्मेसीहरूमा पाइने मास्कहरू पाउन कठिन बन्दै गइरहेको बेलामा हजारौँका झोलाको व्यापार छोडेर उनले कामदारहरूलाई मास्क तयार गर्न लगाइरहेका हुन्।

देशका विभिन्न निजी फार्मेसी तथा सरकारी अस्पतालहरूले नै मास्कमा कालोबजारी गरिरहेको खबरहरू आइरहेको बेलामा नेपालीले भने कपडालाई डबल गरेर बाक्लो खालको इलेस्टीक हालेर मसिनले सिलाएर बनाएको मास्कलाई खुद्रा ३० रुपैयाँका दरमा बिक्री गरिरहेका छन्।

जबकि सदरमुकाम कुस्माका फार्मेसीहरूमा पाइने सामान्य खालको मास्कलाई सामान्य अवस्थामा बिस रुपैयाँ तिर्नुपर्छ। ‘मैले यो बेलामा व्यापारलाई भन्दा पनि ज्यानैसम्म लिने भाइरसबाट सबैजना कसरी बाँच्ने? भन्ने कुरालाई ध्यान दिएको हो’ उनले भने, ‘४/५ वटा झोला बेच्ने हो भने दिनभर सिलाएका मास्कको भन्दा दोब्बर पैसा आउँछ, तर पैसाभन्दा समाज र धर्म ठूलो हो।’

झोला उत्पादनको कामलाई कम गरेर मास्कहरू मात्र निर्माण गरिरहेका नेपालीले छिमेकी जिल्लाहरू बागलुङ र म्याग्दीबाट पनि अर्डरहरू आउन थालेको बताएका छन्। सञ्जय ब्याग उद्योगले जस्तै बजारमा सिलाई कटाइको काम गर्दै आएका अन्य केही टेलरिङ सपहरुले पनि मास्कको उत्पादन गर्न थालेको बताएका छन्।

सदरमुकाम कुस्मा बजारकै साझा चोकमा अनुष्का होजीयारी उद्योगसँगै फेन्सी पसल पनि सञ्चालन गर्दै आएका शङ्कर सापकोटाले आफ्नो पसलमा बिक्रीका लागि राखिएका मास्कहरू निःशुल्क वितरण गर्ने भनी सामाजिक सञ्जाल फेसबुकमा राखेको भोलिपल्टै सबै मास्कहरू सकिए।

‘मानवीयता र आशीर्वाद पैसाले किन्न नमिल्ने चीज हुन्। यो बेलामा मास्क लगाउँदै धेरै व्यक्ति सङ्क्रमणबाट सुरक्षित हुन सक्छन् भने मैले २/४ सय मास्क निःशुल्क उपलब्ध गराउँदा केही हुँदैन’ उनले भने, ‘बजारमा मास्कको अभाव भइरहेको छ, मास्क लगाउन नपाएकाहरू हल्लाकै भरमा झन् धेरै डराएको जस्तो मानेँ। उनीहरूको मनोवैज्ञानिक असर कम गर्न पनि मैले यो काम गरेको हुँ।’

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले चैत पाँचभित्रमा कक्षा एकदेखि नौसम्मको वार्षिक परीक्षाका कार्यक्रमहरू सकाउन अनुरोध गरेसँगै पर्वतमा भाइरसको सङ्क्रमण घरघरमा छिरेको जस्तै गरी त्रास सिर्जना भइरहेको छ।

चियागफ गर्नेहरूले चोक–चोकमा बसेर काठमाडौंमा कोरोना सङ्क्रमितहरू धेरै रहेको भए पनि सरकारले त्रास नियन्त्रण गर्न ती कुराहरू लुकाएको र सोही कारण तत्काल नै विद्यालय बन्द गर्न भनेको भन्ने अफवाह फैलाउनेहरूका कारण बजारमा मास्कको अभाव सुरु भएको थियो।

सदरमुकामकै बडागाउँमा रहेको बागलुङ मेडिकल हलका ल्याब टेक्नीसियन तथा फर्मा्सिस्ट सन्दिप पौडेलले पसलमा मास्कहरूको सकिएको र थप मगाएको भए पनि नआइपुगेको बताए।

बजारमा वास्तविकताभन्दा धेरै हल्ला भएका कारण पनि कोरोनाको कारणले भन्दा त्रास र हल्लाका कारण सामान्य रुघा लागेका व्यक्तिहरू समेत अत्यन्तै हताश मानसिकतामा देखिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.