|

काठमाडौं : विश्‍व स्वास्‍थ्‍य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिममा रहेको बताइसकेको छ। हालसम्म विश्वभर एक लाखभन्दा बढी कोरोनाबाट संक्रमित भएका छन्। त्यस्तै, तीन हजारभन्दा बढीको मृत्यु भइसकेको छ। हालसम्म नेपालमा कसैलाई कोरोना भाइरस नलागे पनि देशभर कोरोनाको त्रास भने कायमै छ। 

काठमाडौंका व्यस्त चोकहरू सुनसान हुँदै गएका छन्। सधैँ व्यस्त हुने ठमेल क्षेत्र पनि हाल सुनसान भइसकेको छ। पर्यटन आवागमन ठप्प रहेको छ। आन्तरिक रूपमा पनि नेपाली बजार सुस्त हुँदै गएको छ। यसको प्रमाण हो असन बजार।  

व्यवसायी चिन्तित

असन बजार काठमाडौं उपत्यकाको सबैभन्दा बढी भिडभाड हुने र पुरानो व्यापारिक बजार पनि हो। केही दिनअघिसम्म भिड रहेको असन बजार आजभोलि सुनसान बनेको छ। असनको गल्लीमा किनमेल गर्ने मानिस पातलिँदै जाँदा व्यवसायी चिन्तित बनेका छन्।

असनको मन्दिर अगाडि रङ बेच्‍दै आएका निराजन शाहीले यसपालि फागुका लागि रङ र प्लाष्टिकको व्‍यापार नै नभएको बताए। २० वर्षदेखि यही रङको व्यापार गर्दै आएका उनले होलीको बेलामा पनि रङ बिक्री नहुने  अवस्था आएको सुनाए।

'ग्राहक नै छैनन् सबैलाई ज्यानको माया छ उनले भने, 'गत वर्ष आज र भोलि रङ बेच्‍न भ्याइनभ्याई हुन्थ्‍यो तर यो वर्ष अहिलेसम्‍म सुनसान छ।' असन क्षेत्रमा घरायसी सामानदेखि खेतीबारीमा लगाउने बीउ बिजन सम्‍पूर्ण सामग्रीहरू पाइए पनि यतिबेला सुनासान हुने गरेको छ। 

न्यून आय भएकादेखि उच्च आयसम्‍मकाले पहिलो किनमेल बजार पनि नै असन हो। भान्सामा पकाउने तरकारीदेखि खुट्टामा लगाउने जुतासम्म त्यहाँ पाइन्छ।  

भूकम्‍पको भन्दा बढी कोरोनाको त्रास

गएका वर्षहरूमा यतिखेर असन क्षेत्रमा होली पूर्णिमाको रौनक छाइसक्थ्यो। तर, यसपटक असन बजार सुनसान प्रायः छ। मानिसको चहलपहल निकै कम छ। अझ भन्ने हो भने ग्राहकको संख्या र बाटोमा ओहोरदोहोर पनि कम देखिन्‍छ। यी सबैको एउटै कारण हो चीनबाट फैलिएको कोरोना भाइरसको त्रास।

होलीका लागि टिसर्ट बेच्‍न बसेका प्रेम पाण्डे भन्छन्,'१ सय २५ मा किनेर १ सय रुपैयाँमा बेचिरहेको छु तैपनि कोही किन्‍न मानिरहेको छैन। त्रास र हल्लैहल्‍लामा आफ्नो व्‍यापार चौपट भएको उनले दुखेसो सुनाए। 

जिल्ला प्रशासन कार्यालयले भिडभाड नगर्न र अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन सूचना जारी गरेपछि ह्यवात्तै व्‍यापार घटेको उनी बताउँछन्। अनावश्यक हल्लाले व्यापारमा असर परिरहेको उनको विश्वास छ। ‘भूकम्प आउँदा पनि मानिस डराएको जस्तो लागेको थिएन तर, कोरोना भाइरसदेखि धेरै डराएका छन्,’ उनले भने।

असन क्षेत्रमै व्यापार गर्दै आएका कपिल रिजाल दिनमा २५ देखि ३० हजार रुपैयाँको व्यापार अहिले आठदेखि नौ हजारमा झरेको सुनाउँछन्।

'घण्टामै तीन/चारवटा ब्याग बिक्री हुन्‍थ्‍यो, अहिले दिनभरिमा एउटा बेच्‍न पनि गाह्रो भइरहेको छ,' उनले भने,'सबै जनामा त्रास छ। बाटोमा मानिसको चहलपहल एकदमै कम छ।'  

आधा व्‍यापार घट्यो

व्‍यापारको चिन्ता एकातिर हुँदाहुँदै अर्कातिर असन बजार बढी भिडभाड रहने क्षेत्र भएकाले यहाँका धेरै व्यापारीहरू पनि कोरोना भाइरसको त्रासले डराइरहेको रिजालको भनाइ छ। 'आएका ग्राहकलाई सामग्री देखाउन परिगो, कसलाई के रोग लागेको छ अनुहार हेरेर थाहा हुँदैन' उनले भने।

वीरगञ्‍जका आनन्दप्रसादले इन्द्रचोकमा महिलाले कानमा लगाउने रिङको व्‍यापार गरेको आठ वर्ष भयो। अहिले जस्तो सुनसान यो बीचमा कहिल्‍यै नदेखेको उनी बताउँछन्। ग्राहकले जीवनोपयोगी सामग्री मात्र किन्‍न थालेको उनले बताए। उनले भने, ’मेरो ग्राहक बढी महिला छन तिनीहरू अहिले कोही आउँदैनन्। दैनिक २५ सयको व्यापार हुनेमा अहिले आधा घटेको छ।  

कोरोना भाइरसको प्रभाव परेकोले ग्राहक घटेको उनको बुझाइ छ। त्रासै त्रासमा ग्राहक घटेसँगै व्‍यापार पनि घटेको र लामो समयसम्‍म यस्तै अवस्था रहे व्यापार गर्ने वातावरण नहुने उनले बताए।

असन क्षेत्रमै तामाका भाँडा खरिद गर्दै गरेका अधिकांश मानिसमा कोरोनाको त्रास रहेको ठमेल ज्याठाका व्‍यापारी उमेश शाक्य बताउँछन्। कोरोनाबारे अनावश्‍यक हल्ला धेरै भएको उनले बताए। 'भाइरस भन्‍ने कुरा डरलाग्दो त हुन्‍छ नै तर विभिन्‍न सञ्चारमाध्यममा आएको अनावश्‍यक समाचार र हल्‍लाले पनि मानिसमा त्रास फैलिएको  छ' उनले भने।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.