|

जाजरकोट : कृषकको जीवनस्तर सुधार गरी आत्मनिर्भर बनाउन मुड्केचुला गाउँपालिका डोल्पाले विशेष योजना सञ्चालन गरेको छ। स्याउका बिरुवा हुर्काउने कृषकलाई आर्थिक सहायतादेखि थप बिरुवा दिनेसम्मका योजना सञ्चालनमा ल्याएको छ।

गाउँपालिकाले वितरण गरेका स्याउका ५० प्रतिशत बिरुवा पहिलो वर्ष हुकाउनेलाई प्रति बिरुवा वापत १०० दिने नीति बनाएर काम थालिएको गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। यहाँका अनुसार दोस्रो वर्ष प्रतिबिरुवा हुकाएवापत ७५ र तेस्रो वर्ष ५० दिने कार्यक्रम रहेको छ।

५० प्रतिशत भन्दा तल बिरुवा हुकाउने कृषकले कुनै पनि सेवा सुविधा नपाउने उनको भनाई छ। ४ वर्षपछि रोपिएका स्याउका बिरुवाले फल दिने योजनाका साथ  दण्ड र पुरस्कारको व्यवस्था गरिएको हो। गाउँपालिकाले पहिलो वर्ष मुड्केचुला गाउँपालिकामा २० हजार स्याउँका बिरुवा वितरण गरेको थियो। त्यस्तै दोस्रो वर्ष २५  हजार गरिसकेको छ।

तेस्रो वर्ष २५ हजार स्याउँका बिरुवा वितरण गर्ने योजना रहेको छ। त्यस्तै गाउँपालिकाले १२ हजार ५ सय टिमुरका बिरुवा समेत वितरणको तयारी रहेको छ। गाउँपालिकाका उपाध्यक्ष सविताकुमारी रोकायको नेतृत्वमा प्रत्येक वर्षको चैत अनुगमनपछि मात्र स्याउका बिरुवा  हुर्काएवापत रकम भुक्तानी गर्ने कार्यक्रम हुँदै आएको छ। 

गाउँपालिकाले स्याउका बिरुवासँगै हुर्काएवापत पुरस्कार दिएपछि आफूहरू खुसी भएको मुड्केचुला गाउँपालिका ६ का देवबहादुर बुढाथोकीले बताए। उनले भने, 'गाउँमा रहेको स्थानीय सरकारको अनुभूति राम्रोसँग भएको छ। स्याउका बिरुवा आफैँ खरिद गरेर लगाउँदै आएका हामीलाई दुई वर्षदेखि गाउँपालिकाले बिरुवा दिदै आएको छ। त्यसमा पनि राम्रो हुकाउनेलाई पुरस्कार दिँदा हामीलाई निकै जागर आएको छ।' 

त्यस्तै उनी जस्तै वडा ८ का ओक्टका दत्तबहादुर रोकायले भने, 'पहिलो वर्ष  लगाएको स्याउका बिरुवा अहिले तीन वर्ष हुन थालेँ। अव अर्को वर्ष फल नि दिन थाल्छ। स्याउ बिक्री गर्दा एकातिर आम्दानी। अर्कातिर बिरुवा हुर्काएवापत पैसा, जे होस् राम्रो भएको छ।' यहाँका हरेक गाउँमा कृषकका खेतबारी स्याउका बिरुवाले हरियो भएको छ। 

डोल्पा स्याउ उत्पादनका हिसावले असाध्य राम्रो मानिन्छ। डोल्पाका स्याउ जाजरकोट, रुकुमपश्चिम हुँदै सुर्खेत र नेपालगञ्जसम्म लिएर बिक्री हुने गर्दछ। आम्दानीको राम्रो स्रोत मध्यको स्याउ यहाँका कृषकको जीवन जीउने मुख्य आधार बनाउका लागि गाउँपालिकाले यो कदम चालेको गाउँपालिकाले जनाएको छ। 
जमिनको वर्गीकरणका साथै हुर्कने ठाउँको आधारमा बिरुवा वितरण गरिएको छ।

जाजरकोटको सिमानासँग जोडिएको मुड्केचुला गाउँपालिका तल्लो डोल्पामा पर्दछ। सडक सञ्जासँग जोडिन केही भाग मात्र बाँकी रहेको यो ठाउँ जाजरकोट, रुकुम र डोल्पाको संगमस्थल त्रिवेणीबाट झण्डै ४ घण्टा पैदल हिडेपछि पुग्न सकिन्छ। 

सडक सञ्जालसँग जोड्ने तयारी 

संघीय सरकार, प्रदेश र स्थानीय सरकारको पहलमा त्रिवेणीबाट नर्कुसम्म सडक निर्माणको काम सुरु गर्न लागिएको छ। सडक सञ्जालसँग जोडिएसँगै यहाँका कृषकले उत्पादन गरेका स्याउ तथा कृषिजन्य वस्तु सजिलै वजारसम्म पुर्‍याउन सकिने गाउँपालिकाका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए। अहिले कृषि सडकको काम समेत सुरु भएको छ। 

इलस्थित जगदुल्ला जलविद्युत आयोजनाको विद्युत गृह निर्माण तथा सुरुङ निर्माण गर्नुपर्ने भएकोले यस ठाउँमा सडक र विद्युत छिटो पुर्‍याउनुपर्ने तीन तहका सरकारलाई दवाव छ। 

केन्द्रीय लाइन (३३ केभी प्रशारण लाइन) विस्तार गर्नका लागि अहिले जाजरकोटको नलगाड नगरपालिका १० स्थित चौखामा सव स्टेशन निर्माणको काम सुरु भइसकेको छ। यो निर्माण कार्यसँगै मुड्केचुलामा विद्युत र सडकको काम सुरु हुने भएको छ। यहाँ उत्पादन गरिएका वस्तुको निर्यात गर्न र विद्युत आयोजना निर्माणका लागि सडक निर्माण कार्य सुरु भइसकेको प्रतिनिधिसभा सदस्य सत्य पहाडीले जानकारी दिइन्।

जनताको जीवनस्तर सुधार्नका लागि हामी कुनै कसुर बाँकी नराख्ने पहाडीको भनाई छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.