|

पर्वत : फागुपूर्णे भन्नासाठ्ठ साथ रङ्गहरू छर्किँदै र दल्दै रमाइलो गर्ने पर्वका रूपमा चिनिन्छ। साथीभाईहरुसँग सामीप्ययता बढाउन झनै राम्रो माध्यमको रूपमा लिइने फागुपूर्णे यस वर्ष पर्वतमा भने सुनसान बनेको छ।

विगतका वर्षहरूमा सडकमा हातभरि रङ्गहरूको पोका बोकेका, खल्तीमा लोला बोक्दै हाँस्दै र रमाउँदै हिँडिरहेका यूवायुवतीरुको समूहहरु धेरै देखिन्थे। एक अर्कामा रङ्गहरू दल्दा र फ्याँक्दा घरका भित्ता र सडकहरूले पनि फागुपूर्णे नै मनाएको देखिन्थ्यो। सडकहरूमा गीत बजाउँदै, रङ्ग दल्दै नाचिरहेका देखिने युवायुवतीहरू यस वर्ष सडकमा छैनन्।

विश्वभर सङ्क्रमणको रूपमा फैलिएको कोरोना भाईरस ९कोभिड १९० का कारण सबैले सतर्कता अपनाइरहेका छन्। चिकित्सक, स्वास्थ्य संस्था, गृह मन्त्रालय लगायतका निकायहरूले भिडभाडमा जाँदा कोरोना सङ्क्रमण हुने खतरा देखाउँदै समूहमा रमाइलो नगर्न अनुरोध गरिरहेको छ।

तीजमा होटेलमा दर खाएर खर्च गर्न नहुने, दसैँमा अरूको देखासिकी गरेर धेरै खर्च गर्न नहुने लगायतका सचेतनामूलक अनुरोधहरूको अवज्ञा हुने गरेको भए पनि कोरोनाले विश्वव्यापी रूपमा पारेको प्रभावका कारण कसैले पनि भिडभाड नगर्ने अनुरोधलाई अवज्ञा गर्न सकेका छैनन्।

सदरमुकाम कुस्मामा बस्दै आएका एक जना युवा रामकृष्ण दर्जीले कोरोनाको सङ्क्रमण हुन सक्ने खतराकै कारण यस वर्ष निधारमा टीका मात्र लगाएर फागुपूर्णे मनाएको बताए। ‘अघिल्ला वर्षहरूमा त १५÷२० जना साथीहरूको ग्याङ बनाएर अग्ला झोलुङ्गे पुलसम्म रङ्ग दल्दै पुगिन्थ्यो, स्पिकर बजाएर सबै जना नाच्दा खूब रमाइलो हुन्थ्यो।’ उनले भने, ‘कोरोना लागेर चीनमा त्यत्रा मान्छे मरे, खतरा छ भन्दा भन्दै त खेल्न भएन नि।’

कुस्मा नगरपालिकाकै युवा राम पौडेलले पनि यस वर्षको फागुपूर्णे पूर्णिमालाई अध्ययनको अवसरको रूपमा लिने बताउँछन्। अघि पछिको समयमा आफ्नै काममा व्यस्त हुने भएकोले बिदाको दिनलाई घरमै बसेर कथाका किताब पढ्ने दिनका रूपमा उनले लिएका छन्।

फागुपूर्णे पूर्णिमामा युवाहरूको जमातले जति रमाइलो गर्ने गर्दथ्यो त्यो भन्दा बढी उमङ्ग बालबालिकाहरूमा देखिन्थ्यो। पूर्णिमा भन्दा केही दिन पहिलेबाट नै घरका छतमा लुकी लुकी लोला हान्ने बालबालिकाहरू यस पटक देखिएका छैनन्। अभिभावक तथा संरक्षकले सुरक्षाकै दृष्टिले फागुपूर्णे खेल्न बन्देज गरेका छन्।

त्यस बाहेक बिदाको दिन भए पनि निजी विद्यालयहरूले भने पठनपाठन गरिरहेका कारण पनि सडकमा फागुपूर्णे खेल्ने बालबालिकाहरू नदेखिएका हुन्। चैत १० गतेबाट सुरु गर्ने भनिएको वार्षिक परीक्षालाई चैत ५ गतेभित्रमा सकाउनका लागि फागुपूर्णेन २८ गतेबाटै परीक्षा चलाउन बाध्य भएका छन्।

सदरमुकाम कुस्मामा रहेको पर्वत गुरुकुल एकेडेमीका प्रिन्सिपल कमल भुसालले कतिपय शिक्षकहरूले पाठ्यक्रम नसिध्याएका कारण सार्वजनिक बिदाको दिनमै भए पनि कक्षा सञ्चालन गर्नुपरेको बताए।

जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक श्यामु अर्यालले विगतका वर्षहरूमा फागुपूर्णेमा रमाइलोको नाममा हुन सक्ने दुर्व्यवहार र झगडाका लागि पनि प्रहरीलाई आवश्यकता अनुसार बजारमा खटाउनुपरेको भए पनि यस वर्ष भने बजार सुनसान रहेको बताए। ‘विगतका वर्षहरूमा सुरक्षालाई ध्यानमा राखेर सादा र बर्दीका प्रहरीलाई बजारमा निगरानीका लागि पठाउने गरेका थियौँ।’ उनले भने, ‘यस वर्ष पनि प्रहरी नखटिएको त होइन तर फागुपूर्णे खेलेर रङ्ग छ्याप्दै, लोला हान्दै हिँड्नेहरू सडकमा छैनन्।’

जिल्ला प्रशासन कार्यालय पर्वतमा बसेको सर्वपक्षीय बैठकले मानिसहरूको भिड जम्मा हुने गरी मेला महोत्सव नगर्न, समूहमा फागूपूर्णिमा नमनाउन अनुरोध गर्दै यसअगाडि नै सार्वजनिक अपिल गरिसकेको छ। प्रमुख जिल्ला अधिकारी कल्पना घिमिरे नेपालले कोरोना सङ्क्रमणको सजगताका लागि प्रशासनले गरेको अनुरोधलाई सबैले मानेको र बजारमा समूह समूह बनाएर हिँड्दै रमाइलो गर्नेहरूको भीड नदेखिएको बताइन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.