|

गोरखा : उत्तरी गोरखाको मनास्लु पदमार्गमा अहिले पर्यटक आउने मुख्य सिजन हो। हिउँ पग्लँदै जाने थालेपछि यो सिजनमा अब पर्यटक दिनदिनै बढ्दो क्रममा देखिनुपर्थ्यो। 

तर, अहिले फाट्टफुट्ट बेसिजनमा जस्तो पर्यटक मात्रै जाने गरेका छन्। पर्यटक आउजाउ ह्वात्तै घटेपछि होटल व्यापार, व्यवसाय र भरियाहरूको रोजीरोटीमा समेत असर पुगेको छ। विश्वरभर फैलिएको कोरोना भाइरसको असर र त्रासका कारण गोरखाको मनास्लु पदमार्ग सुनसान बनेको हो।

सन् २०१९ को मार्च महिनामा नौ सय ५९ पर्यटकले उत्तरी गोरखाको मनास्लु क्षेत्रमा पदयात्रा गरेका थिए। यो वर्षको मार्च महिनाको पहिलो हप्ता मनास्लु क्षेत्र जाने विदेशी पर्यटकको संख्या २० मात्रै छ। गत वर्ष फेब्रुअरी महिनामा ९८ जनाले मनास्लु घुमेका थिए भने यो वर्ष उक्त महिनामा ४८ जना मात्रै विदेशी मनास्लु पुगेको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) ले जनाएको छ।

एमक्याम्प गोरखाका प्रमुख नरेन्द्र लामाले भने, ‘तर शहरहरुमा जस्तो सुनसान भएको छैन, पर्यटकको आउजाउ चलिरहेको छ।’ शहर केन्द्रित भएर बसेका पर्यटक पनि ग्रामिण भेगतिर जाने र स्वच्छ हावापानी भएकाले पदमार्ग तिर जाने गरेको उनी बताउँछन्। मनास्लु पदमार्गमा फाट्ट फुट्ट मात्रै विदेशीले पर्यटन बोर्डबाट अनूमति (पर्मीट) लिएको बोर्डले जनाएको छ।

‘नेपाल भित्रिएका पर्यटकले पदमार्गलाई सुरक्षित सम्झिएर आउँदा हुन्छ,’ एमक्याप गोरखाका प्रमुख लामाले भने ‘विदेशबाट आउने जाने क्रम कम भएकाले प्रभाव पर्नु स्वभाविक हो, तर नेपालमा भने प्रभाव नदेखिएकाले यहाँ भएका पर्यटक ढुक्कसँग पदयात्रा गरेको देखिन्छ।’

मनास्लु पदमार्गमा रहेका होटलको व्यापार घटेको छ। होटल सिङ्ला एण्ड गेस्ट हाउस बिहीफेदीका विष्णु गुरुङ भन्छन् ‘रोगको त्रासले टुरिस्ट आएको छैन, फाट्ट फुट्ट मात्रै देखिन्छ।’ होटल व्यवसायीको व्यापार चलेको छैन।

पर्यटक घटेपछि व्यवसायी चिन्तित बनेका छन्। सिजनको छ महिना व्यापार गरेको वर्षभरी गुजारा चलाउनेहरुलाई समस्या भएको छ।  पोखराको अन्नपूर्ण पछिको पदमार्गको रुपमा मनास्लु पदमार्गलाई लिईन्छ। युरोपियन मुलुकका पर्यटकहरु यहाँको भौगोलिक धरातल, हिमऋङखला, हेर्न र लार्केपासका लागि आउने गर्छन्‌। व्यक्तिगत भन्दा पनि ग्रुपमा ट्रेकिङ आउने ठाउँको रूपमा मनास्लु पदमार्गलाई पर्यटकले लिन्छन्।

फ्रान्स, जर्मन, अमेरीका, स्विजरल्याण्डका पर्यटक आउने गर्थे। गत वर्ष सात हजार पाँच सय ११ जना विदेशी पर्यटक मनास्लु पदमार्ग पुगेका थिए। सन् २०१८ मा सात हजार पाँच सय ५५ पुगे।

सन्  २०१५ मा दुई हजार चार सय ४१ पर्यटकले मनास्लुको भ्रमण गरे। यो वर्षको सुरुवातमा कोरोना भाइरसको संक्रमणले यो वर्ष पदमार्गमा जाने विदेशीको संख्या घटेपछि चौतर्फी असर परेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.