|

काठमाडौं : नेपालमा अहिलेसम्म ४५० जनामा कोरोना भाइरसको परीक्षण गर्दा एक जनामा मात्र संक्रमण भएको पाईएको छ । स्वास्थ्य मन्त्रालयले विश्‍वका १२० देशमा पुगिसकेको कोरोना संक्रमणका बारेमा मन्त्रालयमा आयोजित कार्यक्रममा यस्तो जानकारी दिएको हो।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार गत डिसेम्बरमा चीनको वुहानबाट फैलिएको कोरोना रोकथामका लागि आवश्यक परीक्षणसहितका काम भइरहेका छन्।

'हालसम्म ४ सय ५० जनामा कोरोना भाइरस परीक्षण भइसकेको छ', उनले भने, 'तीमध्ये एकजनामा मात्रै कोरोना संक्रमण देखिएको थियो। कोरोना संक्रमित  बिरामी अहिले ठीक भइसकेका छन्।'

देवकोटाका अनुसार कोरोना आशंकमा हाल टेकु अस्पतालको आइसोलेसन वार्डमा चारजना बिरामी उपचाररत छन्। त्यसैगरी पाटन अस्पतालको आइसोलेसन वार्डमा अर्का एकजना बिरामीको उपचार भइरहेको छ। 

सरकारले चीनको वुहानबाट उद्धार गरी ल्याएका १ सय ७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा १६ दिन राखेर बिदा गरिसकेको छ। चीनबाट ल्याइएका सबै १ सय ७५ जनामै कोरोनाको संकेत नपाइए पछि घर पठाइएको थियो ।

बिहीबारसम्म कोरोना विश्‍वका १ सय २० देशमा पुगिसकेको छ। हालसम्म ४ हजार ६ सयजनाले ज्यान गुमाइसकेका छन्। चीनमा मृतकको संख्या ३ हजार १ सय ६९ पुगेको छ। त्यसपछि इटालीमा ८ सय २७ जनाले ज्यान गुमाएका छन्। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.