|

काठमाडौं : विश्वमा फैलिएको कोरोना भाइरसका कारण अहिले नेपाली बजारमा मास्क र स्यानिटाइजर अभाव हुनुका साथै कालोबजारी बढेको छ। जसकारण १० रुपैयाँमा पाइने सामान्य मास्कलाई सर्वसाधारण ४०÷५० रुपैयाँ तिर्न बाध्य छन्।

पैसा तिर्दा पनि मास्क नपाइरहेको अवस्था छ। यही अवस्थालाई मध्यनजर गर्दै ललितपुर महानगरपालिकाले आफैंले मास्क उत्पादन थालेको छ। महानगरपालिकाले अहिले सिलाइ सिकेका महिलालाई पारिचालन गरी सामान्य तालिम दिएर मास्क उत्पादन थालेको हो।

महानगरले प्रत्येक वडाका २ जनाका दरले सिलाइ सिकेका महिलाहरूलाई मास्क बनाउने तालिम दिएर उत्पादन थालेको महानगरपालिका समाजकल्याण महाशाखाले जनाएको छ। महाशाखा प्रमुख बाबुराजा महर्जनका अनुसार २९ वटै वडाका महिलाहरूलाई यही फागुन २५ गतेदेखि तालिम दिइएको हो।

तालिम प्राप्त महिलाहरूले पनि वडाका महिलाहरूलाई तालिम दिन भनिएको छ। महाशाखाको कार्यालय पाटन छाबाहालमा तालिम लिने महिलाहरूको भिडभाड नै छ।

एकैछिनमा मास्क बनाउने सकिने तालिम लिन आएकी वडा नम्बर २९ धापााखेलकी विमला भट्टराईले बताइन्। ‘एकै छिनमा सिकियो नि, अब म मेरो वडामा सिलाइ सिकेका महिलाहरुलाई सिकाउँछु। वडा-वडामा मास्क उत्पादन भएपछि बजारमा हाहाकार नहोला’ भट्टराईले भनिन्।

ललितपुरकै लगनखेलमा रहेको उद्यौगिक क्षेत्रमा उत्पादन भएका सुतीका कपडा प्रयोग गरी मास्क बनाउन थालिएको महानगरले जनाएको छ। यसरी उत्पादन गरिएको मास्कको १५ रुपैयाँसम्म पर्न आउने महाशाखा प्रमुख महर्जनले बताए। तालिम दिएपछि तुरुन्तै सिकिने भएकोले तालिम सक्नेबित्तिकै उत्पादनका काममा महिलाहरू लागिसकेका र उनीहरूले बनाएका मास्क हाललाई महानगरपालिकाले खरिद गर्ने महर्जनले बताए। महानगरपालिकाले उत्पादन गरेका मास्क सस्तोमा पाइने र बारम्बार धोएर तथा आइरन गरेर प्रयोग गर्न सकिने मास्क सिलाइ तालिमका प्रशिक्षक सुनिता महर्जनले बताइन्।  

मास्क निशुल्क वितरण गर्ने वा बेच्ने भन्ने निर्णय भने भइनसकेको र आजै बस्ने विपत व्‍यवस्थापन समितिको बैठकले टुंगो लगाउने विपत व्‍यवस्थापन समितिका प्रमुख हरिशचन्द्र लामिछानेले जानकारी दिए। महानगरपालिकाले मास्क मात्रै नभएर स्यानिटाइजर पनि उत्पादन गर्ने तयारीका साथ अध्ययन गरिरहेको प्रमुख लामिछानेले बताए।     

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.