राजश्‍वले थाल्यो छानबिन, तीन ट्रक चिनी नियन्त्रणमा

|

बारा (पथलैया) : जलेश्वर भन्सार कार्यालय प्रमुखको संलग्नतामा म्याद नाघेको गुणस्तरहीन ७२ हजार केजी चिनी भारतबाट नेपाल भित्रिएको छ।

खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वर महोत्तरीले भन्सार कार्यालयलाई म्याद नाघेको र खान अयोग्य भनी पत्रमा उल्लेख गरेको ७२ हजार केजी चिनी जलेश्वर भन्सारबाट नेपाल भित्रिएको हो।

‘प्रयोगशालामा विश्लेषण गरेको पारामिटरको आधारमा प्राप्त नमुना आयात गर्न योग्य नदेखिएको तथा उपयुक्त नमुनाको उपभोग्य मिति समाप्त भइसकेको छ’ खाद्य प्रमाणीकरण कार्यालय भन्सारलाई पठाएको पत्रमा उल्लेख छ। प्रमाणीकरण कार्यालयको पत्रलाई व्यवस्था गर्दै तीनवटा ट्रकमार्फत नेपालमा चिनी भित्रिएको हो।

अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि बागेश्वरी मनहराले भारतबाट ना. ५ ख ५६७३ ना. ८ ख २१५२ र ना. ६ ख ८३६९ नम्बरको तीनवटा ट्रकमा ५० केजीका एक हजार ४४० बोरा म्याद नाघेको चिनी आइतबार (फागुन २५ गते) नेपाल आयात गरेको हो।

कम्पनीले काठमाडौं लैजादै गरेको चिनी छोटो दूरीमा रहेका वीरगञ्ज र भैरहवा भन्सार छोडेर महँगो भाडा तिरेर महोत्तरीको जलेश्वर भन्सार प्रयोग गरेर भित्र्याएको हो।

लामो दूरी प्रयोग गरेर चिनी भित्र्याउनुलाई आयातकर्ता र भन्सार प्रमुखको मिलेमतोमै गुणस्तरहीन चिनी नेपाल आयात गरिएको बताउछन्, उपभोक्ता हित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष अजय अधिकारी। उनले गुणस्तरहीन चिनी प्रमुख केशव भण्डारीले निर्वाध रूपमा नेपाल आयात गर्न दिएको आरोप लगाए।

उनका अनुसार विदेशी खाद्यवस्तु नेपाल आयात गर्दा सम्बन्धित खाद्य क्वारेन्टाइनमा परीक्षण गरेको प्रतिवेदन भन्सार कार्यालय पठाउनुपर्छ। त्यही आधारमा भन्सारले आवश्य राजस्व लिएर खाद्यवस्तु नेपाल आयात गर्ने अनुमति दिने व्यवस्था रहेको छ।

तर, सम्बन्धित ल्याबले गुणस्तरहीन र उपभोग गर्ने म्याद सहिएको भनेर रिर्पोट दिँदादिँदै पनि भन्सारले खान अयोग्य चिनी नेपाल भित्राउन अनुमति दिनुले प्रमुखकै प्रत्यक्ष संग्लनता रहेको अधिकारीको दाबी छ।

‘काठमाडौंको आयातकर्ताले ठूलो परिणाममा चिनी भित्राउँदा  छोटो दूरीको वीरगञ्ज र भैरहवाका भन्सार छोडेर महँगो भाडा तिरेर जलेश्वर भन्सार प्रयोग गर्नुले भन्सार प्रमुखकै मिलेमतोमा अखाद्य वस्तु आयात गर्न आयातकर्ता पल्केको देखिन्छ’ अधिकारीले भने।

चिनी आयातकर्ता कम्पनीसँग चिनी आयात गर्ने क्रममा खाद्य प्रज्ञापनपत्रसमेत नरहेको पाइएको छ। आवश्यक कागजपत्र नपुगेको कम्पनीलाई भन्सारले नीतिगत र कानुनी प्रकिया मिचेर चिनी आयात गर्ने अनुमति दिनुले पनि प्रमुखको प्रत्यक्ष संलग्नता रहेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ।

जलेश्वर भन्सार कार्यालयबाट ठूलो परिणाममा गुणस्तरहीन चिनी  नेपाल भित्रिँदैछ भन्ने सूचना पाएर बुधबार पथलैया आइपुगेको उपभोक्ता हित संरक्षण मञ्चका पदाधिरीहरूले गुणस्तरहीन चिनी आयात गर्न अनुमति दिने भन्सार प्रमुख र अनुष्का मल्टिपर्पोज कम्पनी प्रालि दुवैलाई तत्काल छानबिन गरी कारवाही गर्न माग गरेका छन्।

खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले चलानी नम्बर ७४१ मार्फत ७२ हजार केजी चिनीको विश्लेषण प्रतिवेदन जलेश्वर भन्सारलाई फागुन २५ गते नै बुझाएको थियो। तर, खाद्यले पठाएको पत्रको वेवास्ता गर्दै २५ गते दिउँसो भन्सारले चिनी आयात पास दिएको छ। चिनी आयातकर्ता कम्पनीले ७२ हजार केजी चिनीको २३ लाख ५० हजार राजस्व बुझाएको छ।

कडा कारवाही हुनुपर्छ : भन्सार प्रमुख 

जलेश्वर भन्सार कार्यालयका प्रमुख केशवकुमार भण्डारीको म्याद नाघेको गुणस्तरहीन चिनी आयात गर्ने व्यापारीलाई कडा कार्वाही हुनुपर्ने माग गरेका छन्।

कानुनीरूपमा व्यापारीले ल्याएको सामानको राजस्व तिरे नतिरेको मात्रै हेर्ने तर, गाडीभित्र के कस्तो सामान कति परिणाममा ल्याएको छ चेकजाँच गर्ने कानुनी अधिकार नभएका कारण म्याद नाघेको चिनी नेपाल भित्रिएको दाबी भण्डारीले गरेका छन्।

‘व्यापारीले सामान आयात गर्दा 'ग्रीन सिग्नल' भएको पत्रमा हामीले सम्बन्धी व्यापारीले कम्प्युटर सिस्टमबाट राजस्व तिर्‍यो कि तिरेन भनेर हेर्ने मात्रै अधिकारी हुन्छ, गाडीभित्रको सामान खोतलेर चेकजाँच गर्ने अधिकार हुँदैन’ जलेश्वर भन्सार प्रमुख भण्डारीले भने ‘यसमा भन्सार पास हुनुभन्दा पहिला नै हामीलाई सूचना आएको भए हामीले चेकजाँच गरेर नियन्त्रणमा लिन मिल्थ्यो।’

खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले भन्सारलाई पठाएको पत्रमा म्याद नाघेको खान अयोग्य भनी उल्लेख भएको पत्रको विषयमा भण्डारीले आफूकहाँ खाद्य प्रमणीकरणको पत्र नआएको उनले दाबी गरे। ‘खाद्य प्रमाणीकरणले पठाएको पत्र म कहाँ आएको छैन्, त्यो व्यापारीको हातमा होला’ स्पष्टीकरण दिँदै उनले भने।

म्याद नाघेको अखाद्य चिनी भन्सार प्रमुख र कर्मचारीको मिलेमतोविना नेपाल कसरी भित्रियो भन्ने जिज्ञासामा भण्डारीले नखाएको विष आफूलाई लागेको जवाफ दिए। ‘म आफैँ दोषीलाई कारवाही होस् भन्ने छु, यसमा मेरो संलग्नता छैन्।’

चिनी राजस्व अनुसन्धानको नियन्त्रणमा

नेपाल भित्रिएको उक्त अखाद्य चिनी हाल राजस्व अनुसन्धान कार्यालय पथलैयाले नियन्त्रणमा लिएको छ। राजस्व अनुसन्धान कार्यालयले पथलैयाले विशेष सूचनाका आधारमा ती ट्रकहरू नियन्त्रणमा लिएको हो।

‘तीनवटा गाडी अहिले हामीले नियन्त्रणमा  लिएर  अनुसन्धानको गरिरहेका छौँ, गाडीभित्र रहेका मालसमान र कागजपत्रको चेकजाँच भइसकेको छैन्, सम्बन्धित मालधनी आइसकेपछि सामानको चेकजाँच हुन्छ’ राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी होमबहादुर पाण्डेले भने।

‘हामीले हेर्ने भनेको राजस्व चुहावटसँग सम्बन्धित मात्रै हेर्ने हो, तर गुणस्तरहीन अखाद्य साम्रगी आयात भएको भए चेकजाँजपश्चात अर्को सम्बन्धित निकायले हेर्छ’ उनले थपे।

राजस्व अनुसन्धान कार्यालय पथलैयाले  २५ गते राति २ बजे ना ८ ख २१५२ ना ५ ख ५६७३ नम्बरको ट्रक पथलैया र पर्सा राष्ट्रिय निकुञ्ज आधारवार क्षेत्रबाट नियन्त्रणमा लिएको हो भने ना ६ ख ८३६९ नं को ट्रक बिहीबार बिहान नियन्त्रणमा लिएको हो।

जलेश्वर भन्सार कार्यालयवाट छुटेका गाडीमा चिनी आयात गर्ने मालधनी को हुन् भन्ने विषमा भने खोजी भइरहेको छ। आन्तरिक राजस्व कार्यालय कोटेश्वरमा दर्ता भएको अनुष्का मल्टिपर्पोज कम्पनि प्रालिले प्यान नम्बर ६०६७९७९९९ कागेश्वरी मनोहरा  नगरपालिका ठेगाना खुलाएर कारोवार गरेका भेटिएको छ।

उपभोक्ताको स्वास्थ्यमाथि चरम खेलवाड गरेर म्याद नाघेको चिनी आयात गर्ने कम्पनीले हालसम्म के कति अखाद्य वस्तु नेपाल भित्राएको छ भन्‍ने विषयमा पनि अनुसन्धान गर्न उपभोक्ता हित संरक्षण मञ्चले माग गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.