केन्द्र र प्रदेश सरकार दुवै आइसोलेसन वार्ड बनाउँदै

|
फाइल फाेटाे

काठमाडौं : विश्‍व स्वास्थ्य संगठन (डब्ल्युएचओ)ले कोरोना भाइरसको फैलँदो संक्रमणलाई विश्‍वव्यापी महामारी संज्ञा दिइसकेको छ। 

बुधबार जेनेभास्थित डब्ल्युएचओको मुख्यालयमा आयोजित पत्रकार सम्मेलनमा डब्ल्युएचओका प्रमुख डा. टेड्रोस अदानोम घेब्रियससले अपेक्षा विपरीत भाइरसको संक्रमण फैलँदै जाँदा महामारी घोषणा गर्नुपरेको बताएका छन्। तिब्रगतिमा कोरोनाको संक्रमण फैलिइरहेका बेला नेपाल सरकार पनि त्यसलाई अधिकतम थेग्न सकिने योजनामा जुटेको छ।

गत डिसेम्बरबाट फैलिएको कोरोनाको संक्रमण दर यतिखेर चीनमा त घटेको छ तर चीन बाहिर पछिल्लो दुई हप्तामा यसको संक्रमण दर १३ गुणाले बढेको छ।

पछिल्लो समय इटली र इरानमा यसको संक्रमण तथा मृत्युदर भयावह देखिएको छ। इटलीका अधिकारीहरुले पछिल्लो तीन सातामा १० हजार बढीलाई संक्रमण देखिँदा ८ सय बढीको मृत्यु भइसकेको जनाएका छन्।

भारतमासमेत पछिल्लो समय कोरोना भाइरसको संक्रमण बढ्दो छ। इटली र इरानमा संक्रमण देखिन शुरु गर्दादेखि नै डब्ल्युएचओले नेपाललाई कोरोना भाइरसको अति उच्चजोखिमयुक्त मुलुकहरुको सूचीमा राखिसकेको छ।

नेपालमा हालसम्म एकजनालाई मात्र कोरोना भाइरसको संक्रमण देखिएको छ। ती बिरामी अहिले कोरोना भाइरस संक्रमणबाट मुक्त भइसकेका छन्।

त्यसयता नेपालमा कसैलाई पनि कोरोना भाइसर पुष्टि भइसकेको छैन। तर विश्‍व स्वास्थ्य संगठनले नेपाललाई कोरोनाको अतिउच्चजोखिम देशको सूचीमा राखेको छ। कोरोनासँग जुध्न केन्द्र र प्रदेश सरकारले विशेष तयारी थालिरहेका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेलले सम्भावित जोखिमलाई दुई कोणबाट विश्लेषण गरी तयारीलाई तीब्रता दिइएको बताए।  उनले भने, ‘हामीले दुई कोणबाट विश्लेषण गर्दा एउटा चीनको जस्तो अवस्था र अर्को इटली तथा इरानमा देखिएको जस्तो अवस्थालाई उदाहरणका रुपमा लिने गरेका छौँ । यदि त्यो अवस्था आएमा हामीले के के गर्छौँ भन्‍ने योजना बनाएका छौँ, अन्य सर्तकताबारे त काम भइरहेको छ।'

चीनमा जस्तै फैलिए यस्तो छ तयारी

स्वास्थ्य मन्त्रालयले चीनको जनसंख्या र त्यहाँ कोरोना भाइरस फैलिएको अवधि र संक्रमितहरुको संख्यासँग नेपालको तुलना गर्दै सम्भावित अवस्थाको चित्रण गरेको छ।

‘हाम्रो विश्लेषण के हो भने, यदि संक्रमणको दर चीनमा जस्तै देखियो भने नेपालमा एक महिना भित्र १०० जनामा देखिन सक्छ, त्यसमध्ये ८० जना सामान्य अवस्थामा रहन्छन्, १५ जनालाई मध्यमखालको असर पार्न सक्छ', डा. पोखरेलले भने, 'बाँकी पाँचजनालाई ५ कडा असर अर्थात् सीभीआर देखिन सक्छ। यो अवस्थालाई हामीले सजिलै नियन्त्रण गर्न सक्छौँ। यसलाई टेकु अस्पतालले नै धान्‍न सक्छ।'

इटाली र इरानको जस्तो भए के गर्छ सरकारले?

स्वास्थ्य मन्त्रालयका अधिकारीले कोरोनाको संक्रमण इटाली वा इरानमा जस्तै तीव्र गतिमा फैलिने अवस्था आएमा व्यवस्थापन गर्ने भन्‍नेबारे तयारी भएको बताएको छ। इटाली र इरानको जस्तो अवस्था आएमा नेपालमा एक महिनाभित्र एक हजार ४०० बढीमा संक्रमण देखिन सक्ने अनुमान स्वास्थ्यले गरेको छ ।

महिनामा १४०० संक्रमण भए पनि ८० प्रतिशत अर्थात ११२० जना सामान्य अवस्थामा रहन्छन्। १५ प्रतिशत अर्थात २१० जना मध्यमखालको अवस्था हुन्छ। बाँकी ५ प्रतिशत अर्थात् ७० जना गम्भीर अर्थात् सीभीअर अवस्थामा हुने अनुमान छ।

सरकारको तयारी

स्वास्थ्य मन्त्रालयले अहिले भक्तपुरको खरिपाटीस्थित क्‍वारेन्टाइनमा १८० जना, कीर्तिपुरस्थित आयुर्वेद क्याम्पस र आयुर्वेद शिक्षण अस्पतालमा १२० जना, वीर अस्पतालको जापानले बनाइदिएको १०० बेडको नयाँ भवन आदि तत्काल प्रयोगमा ल्याउन सक्ने गरी तयारी गरेको छ।

त्यसबाहेक टेकु अस्पताल, पाटन अस्पतालको आइसीयू संख्या पुरै बढाउने, टेकुलाई पुरै कोरोना संक्रमितको मात्रै उपचार गर्ने अस्पताल बनाउने, न्युरोडस्थित सेनाको त्रिचन्द्र मिलिटरी अस्पतालको नयाँ भवन प्रयोगमा ल्याउने लगायतको योजना छ।

यस्तै धेरैनै संक्रमण फैलिए नेपाली सेनाको सहयोगमा मोबाइल अस्पतालसमेत सञ्‍चालन गर्न सक्ने गरी सरकारले तयारी गरेको छ। चीनबाट विद्यार्थीलाई ल्याएर राखिएको खरिपाटी क्वारेन्टाइन यथावत राखिएको छ। 

प्रमुख विशेषज्ञ डा पोखरेलले भने, ‘त्यसका लागि ठूलो संख्यामा क्वारेन्टाइन र आइसोलेसन वार्डको जरुरी पर्छ, त्यसका लागि हामीले तयारी गरिरहेका छौँ, यस्तो बेला आत्तिने होइन, सबैले मिलेर समस्यासँग जुध्‍ने हो।

यस्तै सरकारले काठमाडौं मात्रै केन्द्रित नभएर जिल्ला जिल्लामा फैलियो भने के गर्ने भन्‍नेबारे तयारी गरिरहेको छ। अहिले हरेक प्रदेशहरुले जिल्ला जिल्लामा क्‍वारेन्टाइन तथा आइसोलेसन वार्डहरु छुट्याएको अवस्था छ। सीमानाकाहरुमा आवातजावतमा कडाई गरिएको छ। जनचेतनामुलक कार्यक्रमहरु पनि स्थानीय, प्रदेश र संघले समानान्तररुपमा अघि बढाएको छ।

हाललाई कोरोनाको उपचारका लागि काठमाडौंमा विभिन्‍न अस्पतालका १ सय ५५ वटा आइसोलेसन वार्ड तयारी अवस्थामा  मन्त्रालयले राखेको छ

यस्तै आजदेखि सरकारले कोरोना भाइरसबारे नागरिकलाई जानकारी गराउन सरकारले 'कल सेन्टर’ सञ्चालनमा ल्याउने भएको छ। कोरोना भाइरसबारे नागरिकको चासो र गुनासो सुन्‍न कल सेन्टर शुरु गर्न लागेको हो।

अहिले केहिबेरपछि शुचारु हुने कल सेन्टरमा १११५ नम्बर कल गर्न सकिनेछ। कसैलाई कोरोना भाइरसबारे केही जान्‍न, औषधि र अस्पतालबारे सोध्‍न परेमा २४ सै घण्टा कल गर्न सकिनेछ।

कल सेन्टरमा ६ जना कर्मचारी खटाइएको छ। ती कर्मचारीले सर्वसाधरणका प्रश्‍नको उत्तर दिनेछन्। कसैले ज्वरो, रूघाखोकी लाग्यो भने के गर्ने भनेर पनि सोध्‍न सकिनेछ।

प्रदेश सरकार पनि जुट्दै 

कोरोना विश्‍वव्यापी भइरहँदा केन्द्रसँगै प्रदेश सरकारले पनि आवश्यक तयारी गरेका छन्। प्रदेश १ सरकारले मोरङ र उदयपुरका दुई ठाउँमा करिब २ हजार जना अट्न सक्ने क्‍वारेन्टाइन बनाउने भएको छ।

त्यस्तै सुदूरपश्‍चिम सरकारले कैलाली र कञ्‍चनपुरका अस्पतालमा आइसोलेसन वार्ड तयारी अवस्थामा राख्न काम थालेको छ। बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा कोरोना भाइरस संक्रमणको आशंकामा एक युवालाई आइसोलेसनमा राखेर उपचार नै थालिएको छ। तर उनमा निमोनिया भएको पुष्टि भएको छ।

गोरखा र लमजुङसहितका जिल्ला अस्पतालमा पनि एक बेड क्षमताको आइसोलेसन कक्ष तयार गरिएको छ। प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बरालले प्रदेशका विभिन्‍न १० वटा अस्पतालमा आइसोलेसन बेड तयार पारिएको जानकारी दिए। मन्त्रालयले १२ वटा जिल्लालाई पायक पर्ने अस्पतालमा विशेषज्ञ चिकित्सकसहितको आइसोलेसन बेड तयारी अवस्थामा राखेको उनले बताए।

कोरोना भाइरस संक्रमितलाई उपचार गर्न प्रदेश १ मा २८ शैय्याको आइसोलेसन वार्ड तयार गरिएको छ। संक्रमणको आशंका गरिएकालाई डाक्टरको प्रत्यक्ष निगरानीमा राख्‍न प्रदेशका दुई स्थानमा क्‍वारेन्टाइनस्थल पहिचा गरिएको छ।

शंकास्पद बिरामीलाई ‘आइसोलेसन वार्ड’ मा राखेर उपचार गर्न चार वटा अस्पतालमा २८ शैय्याको व्यवस्था गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । विराटनगरस्थित बिराट मेडिकल कलेजमा सबै भन्दा बढी १२ वटा आइसोलेसन वार्ड तयार छन्।

धरानस्थित बीपी कोइराला स्वाथ्य विज्ञान प्रतिष्ठानमा १०, कोशी अञ्चल अस्पतालमा ५ र नोबर्ल मेडिकल कलेजमा आईसीयूसहितको आइसोलेसन वार्ड तयार गरिएको हो।

गण्डकी सरकारले पनि कोरोना आएमा सम्भावित पूर्वतयारी थालेको छ। गण्डकी सरकार र पोखरा महानगरपालिकाले कोरोना भाइरसका संक्रमितलाई उपचार गर्न पोखराका अस्पतालमा ६० शय्याको आइसोलेसन वार्ड बनाएको छ।

शंकास्पद बिरामीलाई आइसोलेसन वार्डमा राखेर उपचार गर्न चरक मेमोरियल नागढुंगामा २७, मणिपाल शिक्षण अस्पतालमा १५, गण्डकी मेडिकल कलेजमा १५ र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गत क्षेत्रीय अस्पतालमा ३ वार्ड तयार गरिएको हो।

कोरोनाबाट जोगिन कर्णाली प्रदेशमा भित्रिने मुख्य नाकाहरुमा चेकजाँच र स्वास्थ्य परिक्षण गरिँदैछ। सचेतनामुलक कार्यक्रम पनि गर्न थालिएएको छ।

कोरोनाबाट अति प्रभावित चीनसँग सीमा जोडिएको हुम्लासहित चार नाकामा हेल्थडेस्क खोल्न लागिएको हो।

तिब्बतसँग सीमाना जोडिएको हुम्लाको हिल्सा, ५ नम्बर प्रदेशसँग जोडिएको बबई, दाङबाट भित्रिने सल्यानको कपुरकोट र काठमाडौंबाट मानिसहरु भित्रिने सुर्खेत विमानस्थलमा चेकजाँच गरिनेछ।

सबै परिक्षण राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा?

टेकुस्थित राष्टिय जनस्वास्थ्य प्रयोगशालाले एक सातामा ५ हजार बढीको कोरोना परीक्षण गर्न सक्ने बताएको छ। त्यसबाहेक आवश्यक परेको खण्डमा निजी प्रयोगशालासँग पनि हामीले सहयोग लिने तयारी सरकारले गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.