देउवाको एकपक्षीय निर्णयले विवादको भूमरीमा कांग्रेस

|
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेसमा गुट विवादले फेरि उग्र रुप लिएको छ। सभापति शेरबहादुर देउवाले आफूनिकटलाई जिल्ला सभापति बनाउन महामन्त्री शशांक कोइरालानिकट नेतालाई हटाएपछि विवादमाथि अर्को विवाद थपिएको हो। 

यही फागुन २५ गते जिल्ला सभापतिका रुपमा पदस्थापन गरिसकेका देउवानिकट विष्णु पौडेललाई सभापति बनाएर शशांकनिकट नेता तथा कार्यवाहक सभापति अर्जुन पोखरेललाई जिम्मेवारीबाट हटाइएको हो।  

सभापति बनेका पौडेललाई आफ्नो पक्षबाट १३औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित सांसदसमेत रहेका देवेन्द्रराज कँडेलको जोडबलमा देउवाले सभापति बनाएका हुन्। कँडेल नेपाली कांग्रेस अनुशासन समितिको सदस्य पनि हुन्।  

सभापति देउवाले १३ औँ महाधिवेशनबाट निर्वाचित भएपछिको नियमित कार्यकाल सकिएकै दिन विभाग गठन गरी केही पदहरुमा मनोनित गरेपछि वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले विरोध गर्दै आइरहेको छ। 

सभापतिले महाधिवेशनको नतिजा आफ्नो पक्षमा पार्न पार्टी कब्जा गर्न खोजेको आरोप पनि पौडेल पक्षले लगाएको छ।  पहिलेको नवलपरासी जिल्ला संघीयतासँगै नवलपुर र नवलपरासी भएको छ। नवलपरासी (पूर्व)का सभापति भने विष्णु लामिछाने छन्। 

सभापति देउवाको यो कदमविरुद्ध शशांकसहित पौडेल पक्ष प्रतिरोधमा उत्रिने तयारीमा छन्। पौडेल पक्षले बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामै आफूनिकटको बैठक गरेको थियो। 

पौडेल पक्षले देउवालाई नयाँ सभापति नियक्तिको निर्णय गरी पोखरेललाई नै निरन्तरता दिन पत्र लेख्ने निर्णय पनि सानेपा बैठकले गरेको थियो। आफूनिकट नेतालाई सभापतिबाट हटाएपछि महामन्त्री कोइरालले पौडेल पक्षका नेताहरुसँग छलफल अघि बढाएका छन्। 

महामन्त्री कोइराला तथा पौडेल पक्षले सभापतिको यो कदमलाई विधानविपरीत ठहर गरेको छ। विधानको धारा ५० को ८ अनुसार कार्यवाहक जिल्ला सभापति हटाउन नमिल्ने पौडेल पक्षले दाबी गरेको छ।

उक्त धारामा सभापतिको मृत्यु वा राजीनामापछि रिक्त भएको अवस्थामा उपसभापति कार्यवाहक सभापति हुने उल्लेख गरिएको छ। 

‘अर्जुन पोखरेललाई नै सभापति बनाउनुपर्छ भनेर सभापतिलाई पत्र बुझाउने अधिकार महामन्त्री कोइरालालाई वरिष्ठ नेता पौडेलले दिनु भएको छ,’ शशांकनिकट स्रोतले भन्यो।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.