|

पाल्पा : विद्युत खपत गरेबापत शुल्क तिर्नुपर्छ, यो स्वाभाविक पनि हो र सबैलाई थाहा पनि छ। तर, बिजुली बाल्नका लागि घरमा चिम राख्‍ने होल्डर जडान गरेबापत नै शुल्क तिर्नुपर्छ भन्ने कुरा सुन्दा तपाईंलाई अचम्म लाग्न सक्छ! अचम्म मान्नु पर्दैन।

जिल्लाको तिनाउ गाउँपालिका–४ छापटोलका स्थानीयलाई आफ्नो घरमा वायरिङ गरेर होल्डर जडानबापत शुल्क तिर्ने कुरा सामान्य बनेको छ। उनीहरूले करिब १० वर्ष पहिलेदेखि चिम नबालेको होल्डरको शुल्क तिर्दै आएका छन्। यो उनीहरूको लागि रहर नभई बाध्यता हो। उनीहरूले घरमा वायरिङ गरेर जडान गरेको होल्डरमा चिम नबाले पनि शुल्क तिर्नुपर्छ।

एउटा होल्डर जडान गरेबापत मासिक १५ रुपैयाँ तिर्नुपर्छ। कतिपयको घरमा १० वटाभन्दा बढी होल्डर जडान गरिएको छ।  लघुविद्युतबाट २ वटा चिम मात्र बाल्न पाइन्छ। अन्य ८ वटा होल्डरको समेत १५ रुपैयाँका दरले शुल्क तिर्दै आएका छन्। विद्युत् खपत गरेबापत पनि १५ रुपैयाँ नै शुल्क लाग्छ।

केन्द्रीय लाइनको प्रक्रिया नै छैन

विकट क्षेत्रमा पर्ने ठाउँमा अहिलेसम्म केन्द्रीय प्रसारण लाइन जोड्नको लागिसमेत कुनै प्रक्रिया नै अगाडि बढेको छैन। यहाँका नागरिक प्रायः अँध्यारोमै बस्न बाध्य छन्।

 यहाँ २०६६ सालदेखि तीन किलोवाटको लघु जलविद्युत आयोजना सञ्चालनमा छ। जसोतसो रातको समयमा मात्र यहाँका स्थानीयले बिजुली बाल्न पाएका छन्। तर, सामान्य हावाहुरी चल्यो र खोलाको पानीको वहाव कम भयो भने रातको समयमा विद्युत आउँदैन।

एउटा घरपरिवारले बढीमा २ वटासम्म चिम बाल्न पाउने नियम बनाइएको छ। त्यहि पनि बढीमा ५ वाटसम्मका चिम बाल्न पाइन्छ। त्योभन्दा बढी क्षमताका चिम बाल्न पाइँदैन। तोकिएभन्दा धेरै क्षमताको चिम बाल्न नपाइने भन्दै झिकेर फालिदिएको स्थानीय तिलक सिंह दर्लामीले बताए।  

मैनबत्ती र मट्टीतेल पाउन छाड्यो

गाउँको बत्तीको कुनै भर नभएको र मैनबत्ती तथा मट्टीतेल किन्न पनि पाइन छाडेको हुनाले जीवनशैली थप कष्टकर बन्दै गएको स्थानीय बताउँछन्। प्रायः रातीको समयमा अँध्यारोमा बस्न बाध्य भएको स्थानीय विमला दर्लामीले दुखेसो पोखिन्। साँझको समयमा छोराछोरीले राम्रोसँग विद्यालयको गृहकार्य गर्न नपाएको उनले बताइन्।

विद्युतको कुनै भरोसा नभएको र गाउँका पसलमा मट्टीतेल र मैनबत्ती किन्‍न नपाइँदा झन समस्या हुने गरेको उनले बताइन्।

०६६ सालमा विभिन्‍न बजेट र स्थानीयसँग केही रकम उठाएर छापटोलमा लघु जलविद्युत् सञ्‍चालन गरिएको हो। त्यतिबेला कम क्षमता भएको यो आयोजनाबाट जसोतसो ३८ घर लाभान्वित भएका थिए।

पछिल्लो समयमा घरधुरी बढ्दै गएकाले विद्युत आपूर्तिमा समस्या भएको स्थानीय चेतबहादुर दर्लामीले बताए। ‘सुरूमा ३८ घर थियो। अहिले ४९ घरधुरी पुगेको छ’ उनले थपे, ‘त्यसैमाथि खोला सुक्दै गएको छ। विद्युत उत्पादनको क्षमतामा ह्रास आएको छ। जसले गर्दा थेग्न नसकेर छिनछिनमा विद्युत जान्छ।’

आयोजनाका संरचना र उपकरण समेत जीर्ण बन्दै गएको उनले बताए। वडाले दिएको २ लाख बजेटबाट यो वर्ष सामान्य मर्मत गरिएको छ। बिजुली नहुँदा सञ्चारबाट समेत बञ्चित हुनुपरेको बाध्यता उनले सुनाए।

के भन्छ स्थानीय सरकार?

छापाटोलमा गत वर्ष केन्द्रीय प्रसारण लाइन जोड्नेबारे सामान्य गाउँमा सर्वे भएको वडा अध्यक्ष दानबहादुर गाहाले बताए। ‘त्यसपछि पनि मैले पटक पटक गाउँपालिका र विद्युत प्राधिकरण पाल्पामा अनुरोध गरिरहेको छु’ उनले भने ‘तर पनि कामको प्रक्रिया अहिलेसम्म अगाडि बढेको छैन।’ यो ठाउँमा ठ्याक्कै बिजुली कहिले बल्छ भन्नेमा उनी आफैँ अन्योलमा छन्।

अर्को वर्षसम्म यहाँ बिजुली बाल्न सकिने आशामा आफू रहेको गाउँपालिका अध्यक्ष ओमबहादुर घर्तीमगरले बताए। ‘छापटोल नजिकका अन्य गाउँमा लगभग बिजुली पुगिसकेको छ’ उनले भने ‘अर्को आर्थिक वर्ष भित्रमा यहाँ बिजुली बाल्ने योजनाका साथ गाउँपालिकाले पहल थालेको छ।’

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.