|

हेटौंडा : हेटौंडा–काठमाडौं रोप–वे व्यवस्थापनका विषयमा बागमती प्रदेश सरकारको भौतिक योजना मन्त्रालयले चासो देखाएको छ। बन्द अवस्थामा रहेको रोप–वे सेवा व्यवस्थापनका लागि यसअघि मकवानपुर जिल्लाको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाले प्रदेश सरकार र संघीय सरकारको ध्यानाकर्षण गराउँदै आएको थियो।

स्थानीय सरकारको ध्यानार्षणपछि प्रदेश सरकारले व्यवस्थापनमा चासो देखाएको हो। बागमती प्रदेश सरकारको भौतिक विकासमन्त्री रामेश्वर फुँयालले बिहीबार भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधि, रोप–वेका सेवानिवृत्त कर्मचारीसँग मन्त्रालयमै अन्तरक्रिया गर्दै रोप–वे व्यवस्थापनमा अग्रसरता देखाएका हुन्।

२० वर्षदेखि बन्द

मकवानपुरको हेटौंडाबाट भीमफेदी र ईन्द्रसरोवर गाउँपालिका हुँदै काठमाडौंको बल्खुसम्म रहेको रोप–वे करिब २० वर्षदेखि बन्द छ। बन्द रहँदा जीर्ण बन्दै गएको रोप–वेको पुन: सञ्चालन गर्न या पुनसञ्चालन हुन नसक्ने भए रोप–वेको संरचना हटाउन माग गर्दै आएको भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामाले जानकारी दिए।

स्थानीय तहको ध्यानाकर्षणपछि केही समयअघि मात्रै मन्त्री नियुक्त भएका फुँयालले मकवानपुरको भीमफेदी र इन्द्रसरोवर गाउँपालिकाका जनप्रतिनिधि तथा रोप–वेका पूर्वकर्मचारीलाई बोलाएर छलफल गरेका हुन्।

मन्त्री फुँयालले जिल्ला विकास समिति मकवानपुरका पूर्व-सभापति रामेश्वर रानाको संयोजनमा बिहीबारको छलफल भएको बताए।

स्थानीय सरकारले चासो देखाएपछि प्रदेश सरकारले पनि रोप–वेको सञ्चालनको सम्भाव्यता अध्ययन गर्न लागेको मन्त्री फुँयालले जानकारी दिए। पर्यटन र यातायात दुवै दृष्टिकोणले महत्वपूर्ण रोप–वेको पुनर्निर्माणको सम्भाव्यताका लागि प्रदेश सरकारले पहल गर्ने उनको भनाइ छ।

उनले प्रदेश सरकारको नीति तथा कार्यक्रममै रोप–वे सञ्चालन गर्ने उल्लेख गरिएको बताए। रोप–वे सेवा पुनर्निर्माणको विषयमा प्रदेश सरकारले स्थानीय र संघीय दुवै सरकारसँग आवश्यक समन्वय र सहकार्य गर्ने मन्त्री फुँयालले स्पष्ट पारेका छन्। रोप–वेका सेवानिवृत्त कर्मचारी रामप्रसाद पनेरुको संयोजकत्वमा ७ सदस्यीय अनुभव तथा सुझाव दिन समिति गठन गरेको छ।

यस्तो छ तिहास   

राणा प्रधानमन्त्री चन्द्र शम्शेरले निर्माण गरेको भीमफेदी–काठमाडौं रोप–वे सेवा २०१६ सालदेखि राजा महेन्द्रले विस्तार सुरु गरी २०२० बाट हेटौंडा–काठमाडौं सञ्चालनमा थियो।

भीमफेदी–काठमाडौं रोप–वेलाई हेटौंडासम्म विस्तार गर्ने क्रममा ३ करोड ७६ लाख रुपैयाँ खर्च भएको, एक हजार दुई सय नेपाली सेना र ४ विदेशी विज्ञ संग्लन रहेको थियो। रोप–वे सेवा विस्तारको क्रममा हेलिकोप्टरबाट आवश्यक सामग्री ढुवानी गरिएको थियो। ४२ किलोमिटर लामो रोप–वे सेवा नेपाल यातायात संस्थानले २०५६ सालमा पूर्ण रुपमा बन्द गरेको थियो।

छलफलमा मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष जीवन लामा, भीमफेदी गाउँपालिकाका अध्यक्ष हिदम लामा, उपाध्यक्ष पार्वती रानासहित वडाअध्यक्षहरुको पनि सहभागिता रहेको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.