|

बर्दिया : विश्वभर महामारीका रुपमा फैलँदै गएको कोरोना भाइरसको त्रास बर्दियामा पनि देखिन थालेको छ। भारतसँग खुला सिमाना भएका कारण भाइरस फैलिन सक्ने डरले स्थानीयबासिन्दा त्रसित बन्न थालेका छन्। 

भाइरस विशेषगरी हावा र श्वास प्रस्वासका कारण सर्न सक्ने भएकाले सरसफाइमा पनि ध्यान दिएर स्वस्थ बन्न सकिएमात्रै यस रोगबाट बच्न सकिने भएकाले सरसफाइमा जोड दिन समेत स्थानीयलाई पटक-पटक आग्रह गर्दै सचेत गराइँदै आइएको छ। 

कोरोना भाइरसबाट बच्न पशुपन्छीहरूको सम्पर्कबाट टाढा रहने, खोक्दा र हाच्छ्युँ गर्दा नाकमुख छोप्न मास्क लगाउने, फ्लु जस्तो लक्षण देखिए तुरुन्त चिकित्सकहरूसँग जाने, सरसफाइमा ध्यान दिने, माछा, मासु र अण्डा राम्ररी पकाएर खानेजस्ता उपायहरू अपनाउन स्वास्थ्यकर्मीले स्थानीयहरूलाई सुझाव दिएका छन्।

१०४ डिग्री भन्दा माथि ज्वरो आउनु, रुघाखोकी लाग्नु, घाँटी टाउको दुख्नु र श्वास प्रश्वासमा समस्या देखिनु कोरोना भाइरसका लक्षण भएकोले त्यस्ता कुनै लक्षण देखापरे स्वास्थ्य चौकीमा जाँच गर्न स्वास्थ्यकर्मीले नगरवासीलाई अनुरोध गरेका छन्। 

सात स्थानमा 'हेल्प डेक्स' स्थापना 

भारतसँग खुला सिमाना भएका कारण कोरोना भाइरसको जोखिममा रहेको जिल्ला मानिन्छ। भारतबाट नेपाल आवतजावत गर्ने नाकाहरूमा 'हेल्प डेक्स' स्थापना गरिएको छ। बर्दियाका ४ स्थानीय तहका ७ स्थानमा हेल्प डेस्क स्थापना गरिएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाका जनस्वास्थ्य निरीक्षक कृष्ण गोपाल चौधरीले जानकारी दिए। 

बर्दियाको बढैयातालका फुटाहा र कण्ठपुर, गुलरियाको सुरजपुर, मधुवनको धनौरा र राजापुरका ३ स्थानमा गरि ७ स्थानमा 'हेल्थ डेस्क' स्थापना गरिएको उनले बताए। भारतबाट आवागमन बढि हुने स्थानको पहिचान गरि 'हेल्प डेक्स' राखिएको उनको भनाई छ  ।

'हेल्थ डेस्क'हरूमा स्थास्थ्यकर्मीहरूले भरतबाट नेपाल भित्रिने यात्रुहरूको स्वास्थ्य चेकजाँच गरिरहेका छन्। अहिलेसम्म चेकजाँचका कसैमा संक्रमण भने नभेटिएको जनाईएको छ। 

अहिले बर्दियाभर मौसमी रुघाखोकी फैरिरहेकाले स्थानीयमा त्रास देखिएको छ। स्वास्थ्यचौकीहरूका दैनीकजसो रुघाखोकी र ज्वरोका बिरामीहरू बढी मात्रामा आउने गरेको स्वास्थ्यकर्मीहरूले जनाएका छन्। मौसम परिवर्तनका कारण मौसमी रुघाखोकी फैलिएकाले कोरोना नै हो भनि नआत्तिन र सावधानी अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन्।

यस्तै बर्दियालाई कोरोना भाइरसको संक्रमणबाट रोक्न सम्पूर्ण स्थानीयले सावधानी अपनाउनुपर्ने बर्दियाका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताएका छन्। 

परीक्षा हलमै पुगेर मास्क वितरण 

कोरोना भाइरसको संक्रमण रोक्नका लागि बर्दियाको ठाकुरबाबा नगरपालिकाका नौ वटा विद्यालयमा मास्क वितरण गरिएको छ। परीक्षा चलिरहेकै समयमा विद्यालयमै पुगेर समाजसेवी विनय रावलको सहयोगमा विद्यालयहरूमा माक्स वितरण गरिएको हो।

स्वास्थ्यकर्मीहरूले कोरोना भाइरसको संक्रमणबाट बच्न मास्क अनिवार्य लगाउनु पर्ने भनिरहेका बेला समाजसेवी रावलको आर्थिक सहयोगमा ९ विद्यालयका १ हजार २ सय ८६ विद्यार्थीरुलाई मास्क वितरण गरिएको छ। 

ज्ञानोदय प्राथामिक विद्यालय सत्घरुवाका ७० जना, जनजागृती आम्बासाका ६० जना, श्रीप्रावि कालीगौडीका १ सय १७ जना, जनचाहना आधारभुत विद्यालय डुम्रेनीका ३ सय ३४ जना, दुर्गा प्राथामिक विद्यालय पेरहनीका १ सय ५५ जना विद्यार्थीहरूलाई मास्क वितरण गरिएको हो। 

यस्तै किसान माध्यामिक विद्यालय बनकट्टीका २ सय ५० जना, चुरे मावि बगनाहका ८० जना, हिमालय आधारभुत विद्यालय मिर्चैयाका १ सय १० जना र बबई शिशु आधारभुत विद्यालय बर्गदाका १ सय १० गरि कुल १ हजार २ सय ८६ जना विद्यार्थीहरूलाई मास्क वितरण गरिएको सवाजसेवी रावलले बताए।

कोरोना भाइरसको प्रकोपबाट बच्नका लागि उपलब्ध गराइएका मास्कहरू चुरे माद्यामिक विद्यालयमा कक्षा ८ को परीक्षा हलमै वितरण गरिएको विद्यालयले जनाएको छ। केहि समय पहिले देखीनै समाजसेवामा लाग्दै आएका रावलले उक्त मास्क विद्यालयहरूमा उपलब्ध गराएका हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.