|

पर्सा : विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले कोभिड १९ भनिने कोरोना भाइरस संक्रमणलाई महामारी घोषणा गरेपनि वीरगञ्‍जस्थित नेपालको प्रमुख स्थल नाकामा भने आवश्यक सजगता अपनाइएको छैन। पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतको पहलमा गएको माघ २१ गते नै वीरगन्ज नाकामा 'हेल्थ डेक्स' खडा गरिए पनि प्रभावकारिता नदेखिएको हो। 

गएको माघ २१ गते पर्साका तत्कालिन प्रमुख जिल्ला अधिकारी बस्नेतको अगुवाईमा सरोकारवालाहरुको बैठकले 'हेल्थ डेक्स'मा स्वास्थ्यका कर्मचारी र त्यसको पूर्ण व्यवस्थापनको जिम्मा वीरगन्ज महानगरपालिकालाई दिएको थियो। तथापि त्यसको प्रभावकारितामा भने केही कमि देखिएको स्वास्थ्य कार्यालय पर्साका प्रमुख कामेश्वर चौरसियाले बताए। यसलाई कसरी प्रभावकारी बनाउने भन्ने सवालमा आफूहरु पनि लागिपरेको उनको भनाइ छ। 

वीरगन्जको शंकराचार्य गेट छेउमा स्थापना भएको 'हेल्थ डेक्स'मा कोरोना भाइरस जाँच गर्ने लेजर थर्मामिटर, बीपी सेट र टर्च लाईट मात्र रहेको 'हेल्थ डेक्स'का इन्चार्ज अहेव जहिर आलमले बताए। उनी लगायतका स्वास्थ्य कर्मचारीले आवश्यक पूर्वाधार बिनै कोरोना संक्रमण परीक्षण गरिरहेका छन्‌।

भारतका नागरिकको परीक्षण नै हुँदैन

विभिन्न ८ मुलुकका नागरिकलाई नेपाल प्रवेशमा कडाई गरिएको समयमा स्थलमार्ग मध्येको व्यस्त वीरगन्ज नाकामा भने ती देशका नागरिक बाहेक छिमेकी मुलुक भारतबाट आउने मानिसको निगरानीमा खासै सजगता अपनाइएको छैन। भारततर्फ भने दुवै देशको सीमा जोड्ने मितेरीपुल कट्नासाथ थोरै शंका देखिएका मानिसलाई पनि चेकजाँच गर्ने गरिएको छ। भारतीय पक्षले आफ्ना नागरिक भए डंकन अस्पताल र नेपाली नागरिक भए फिर्ता पठाइदिने गरेको छ। नेपालतर्फ भने तेस्रो मुलुकबाट आएका मानिसलाई मात्र बढी निगरानी गरी परीक्षण गर्ने व्यवस्था गरिएको छ। 

भारतमा पनि कोरोना संक्रमणको पुष्टी भइसकेको अवस्थामा यो नाका भएर नेपाल प्रवेश गर्ने भारतीय सवारी र ती सवारीमा आवागमन गर्ने मानिसलाई पनि अलि निगरानी गर्नुपर्ने स्थानीयको भनाइ छ। तर पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेत भने यस्तो व्यस्त नाकामा सबैलाई चेकजाँच गर्न सम्भव नहुने बताउँछन्। बस्नेत बिहीबार वीरगन्जको शंकराचार्य गेट नजिक रहेको 'हेल्थ डेक्स' स्थापना भएको ठाउँमा अनुगमन गर्न भनी गृह मन्त्रालयले पठाएको पत्र हातमा नै बोकी पुगेका थिए।

फ्रान्सका दुई नागरिकलाई फर्काइयो 

चीन, फ्रान्स, जापान, इरान, इटली, दक्षिण कोरिया, जर्मनी र स्पेनका नागरिकलाई सहज आवागमनमा बढी कडाई गर्न नेपाल सरकारले भनिरहेको समयमा बिहीबार फ्रान्सबाट आएका एक महिला र एक पुरुषलाई स्थलमार्गको बाटो प्रयोग गरी नेपाल प्रवेश गर्न रोकिएको छ।

फ्रान्सका दुई नागरिकलाई भने फिर्ता पठाइएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णु प्रसाद कार्कीले थाहा खबरसँग बताए। 

खुला सीमा भएको पर्सामा एउटा मात्र 'हेल्थ डेक्स' 

खुला सीमा भएको पर्साको अरु नाकामा शंकाजनक देखिएका मानिसलाई 'हेल्प डेक्स'मा पठाउने र त्यहाँको प्रारम्भिक चेकजाँचबाट पनि ती मानिसमा कोरोना संक्रमणको शंका भए वीरगन्जको नारायणी अस्पताल, नेशनल मेडिकल कलेज शिक्षण अस्पताल र बयोधा अस्पतालको आइसोलेसन वार्डमा पठाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीको भनाइ छ।

जिल्लाभरका खुला नाका मध्ये वीरगन्ज भन्सार क्षेत्रको नाकामा मात्र 'हेल्प डेक्स' राखेर चेकजाँच गर्ने व्यवस्था मिलाइएको छ। बाँकी छोटी भन्सार नाका वा अन्य ठाउँमा भने 'हेल्थ डेक्स' नै खडा नगरे पनि सीमा क्षेत्रमा खटेका सुरक्षाकर्मीले शंकास्पद मानिसको आवागमन देखेमा तुरुन्त सम्बन्धित ठाउँमा पठाउने व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी कार्कीले बताए।

वीरगन्ज नाकामा शुक्रबारबाट ६ स्वास्थ्यकर्मी परिचालन गरिने

स्थलमार्गको प्रमुख नाका वीरगन्जमा शुक्रबारबाट जम्मा ६ जना कर्मचारीलाई चौबिसै घण्टा खटाउने तयारी भइरहेको वीरगन्ज महानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकारी अरुण कुमार महतोले बताए। तर, बिहीबारसम्म तीनजना मात्र स्वास्थ्यकर्मी परिचालन गरिएको थियो। नजिकै भारतमा पनि कोरोनाको संक्रमण फेला परेपछि अझ आवागमनलाई कडा पार्ने तयारी भइरहेको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.