|

म्याग्दी : म्याग्दी प्रशस्तै पर्यटकीय सम्भावना भएर पनि ठोस योजना र आवश्यक लगानीको अभावमा  म्याग्दीको पर्यटन क्षेत्र फस्टाउन सकेको छैन।

स्थलमार्गका लागि मुस्ताङको प्रवेशद्वार र अन्नपूर्ण संरक्षण क्षेत्रको आकर्षकस्थल, प्राकृतिक सौन्दर्य र हिमाली दृश्य नियाल्ने आँखीझ्याल मानिएको म्याग्दीमा पर्यटकलाई आकर्षित गर्ने दर्जनौं स्थलहरू भए पनि सरोकारवालाको वेवास्ता र लगानीकर्ताको अभावका कारण पर्यटकीय सम्भावनायुक्त दर्जनौं ठाउँहरू अझै पनि ‘भिल्लाका देशमा मणि’ को नियति भोग्न बाध्य भएका छन्।

थोरै लगानी र धेरै चर्चा भएका पर्यटकीयस्थल

राउण्ड अन्नपूर्णको आकर्षक गन्तव्य मानिएको  घोडेपानी, पुनहिल, भुरुङ तातोपानी, प्राकृतिक चिकित्सालयको रुपमा चर्चित सिंगा तातोपानी कुण्ड, संसारकै गहिरो अन्धगल्छी, रुप्से झरना, धौलागिरि र अन्नपूर्ण आधार शिविर तथा ढोरपाटन शिकार आरक्ष लगायतका केही स्थानमा केही वर्षयता सामान्य रुपमा भौतिक पूर्वाधारहरू निर्माण भए पनि जिल्लाका अन्य पर्यटकीय स्थलहरू दशकौ अघि कै अवस्थामा रहेका स्थानीयले बताएका छन्। 

म्याग्दीमा संसारकै सातौं अग्लो हिमाल धौलागिरि पहिलो (आठहजार १६७ मिटर), अन्नपूर्ण पहिलो (८,०८१ ) मिटर, गुर्जा, मानापाथीलगायत विभिन्न ११ वटा हिमाल रहेका छन्। यी हिमालहरूको आधार शिविरसम्म पुग्नका लागि न व्यवस्थित पदमार्ग छ न त होटल, रेष्टुरेण्ट तथा होम स्टेको नै उचित प्रवन्ध रहेको छ।

बस्तीबाट देखिन्छन् हिमाल : वास्तै गर्दैन स्थानीय सरकार

म्याग्दीका ६ वटै स्थानीय तहका अधिकांश बस्तीबाट हिमश्रृंखला र हिमसौन्दर्यको दर्शन गर्न सकिने भए पनि स्थानीय सरकारले हिमाल दर्शनका लागि आवश्यक योजना र लगानीतर्फ कुनै कुनै चासो नदेखाएको पर्यटन व्यवसायीले बताएका छन्।

त्यसका साथै धौलागिरि आइसफल, धौलागिरि सेञ्चुरी, अन्नपूर्ण धौलागिरि सामुदायिक पदमार्ग, गुरिल्ला, खोप्रा, खयर, बयली, गुर्जा, पश्चिम धौलागिरि, टोड्के, लभ्लीहिल, मोहरेडाँडा, करबाकेली म्याग्दीका पछिल्लो पटक पहिचान गरिएका पर्यटकीयस्थलहरू हुन्। 

संसारको सातौ अग्लो आठहजार १६७ मिटर उचाइ भएको धौलागिरि पहिलोदेखि, अन्नपूर्ण पहिलो (८,०८१), गुर्जा (७,१९३), मानापाथीलगायत हिमाल म्याग्दीको सौन्दर्य बढाउने ‘चार चाँद’ हुन्। 

प्राकृतिक सुन्दरताको अनुपम उदाहरणका रुपमा वर्णन गरिने अन्नपूर्ण र धौलागिरि चक्रीय पदमार्गमा समेटिए पनि म्याग्दीले पर्यटनबाट अपेक्षाकृत लाभ लिन सकेको देखिँदैन।

'प्रकृतिले म्याग्दीलाई दिएको उपहारलाई पर्यटकीयस्थलका रुपमा विकास गरेर समुदाय र देशको आर्थिक विकासमा रुपान्तरण गर्नुपर्छ,' धौलागिरि पर्यटन विकास परिषद्का अध्यक्ष अमर बानियाले भने, 'पर्यटकीयस्थलको पहिचान, पूर्वाधार निर्माण, प्रचारप्रसार र प्रवर्द्धनको आवश्यकता छ।'

युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन खोजे जस्तै देखिन्छ दृश्य

दानाको रुप्से, हिस्तानको महभिर, लुलाङको नर्जा, मुदीको घोप्टेओडार, भुङकोटलगायत दर्जनौं झरना कुनै षोडशी युवतीले ओढेको सेतो पछ्यौरी हावाले उडाउन लाग्दा सम्हाल्न खोजेको जस्तो दृश्यावलोकन गर्न सकिन्छ। 

घारको पुनहिल, राम्चेको मोहरे, शिखको खोप्रा, भगवतीको रुइसे, कुहुँको टोड्के, बिमको मालिका, भकिम्लीको स्वर्गाश्रम, लुलाङको जलजलालगायत दर्जनौँ टाकुराबाट बिहानीमा लाली छाउँदै उडाउने सूर्योदय हिमालका चुचुरोमा पर्दा सुन टल्किए झैं मनमोहक दृश्य देख्न सकिन्छ। खुलेको निलो आकाश, पाखाभरि फुलेका लालीगुराँसको जंगलको पृष्ठभूमिमा गगन चुम्न लागेजस्तो हिमाल देखिन्छ।

ताल र गुफा त कति कति !

दानामा रहेको छ हजार ९६७ मिटर गहिरो अन्धगल्छी म्याग्दीको गहना हो। दरवाङ दुखुको भाले बास्ने, शिखको खयर, हिस्तानको प्यारी, नाँगी बाराही, निस्कोट, गुर्जा, गाईखर्क, कालीदहलगायतका ठाउँमा दर्जनौँ तालतलैया छन्।

बेनपा ४ को तातोपानी प्राकृतिक उपचार स्थल र अन्नपूर्ण २ को भुरुङ तातोपानी पर्यटकीयस्थलका रुपमा परिचित छन्। शिख, दोवा, दर्मिजा, मुदी र गुर्जाको तातोपानी कुण्डको संरक्षण, प्रवर्द्धन र प्रचारप्रसार हुन सकेको छैन। प्राकृतिक संग्रहालयका रुपमा रहेका कल्लेनीको क्यामध्याम, देविस्थानको देवताभिर, काभ्रेको बाजाढुंगा र गलेश्वरको जडभरत गुफा ओझेंलमा छन्।

भक्तजनको प्रतीक्षामा धार्मिक पर्यटकीयस्थल

बेनपा–९ मा रहेको गलेश्वरमा पछिल्लो समय धार्मिक पर्यटकको आगमन बढे पनि बेनीकै महारानी, वरको रूखमुनि रहेको बेनी शिवालय, लक्ष्मीनारायण मन्दिर, बौद्धगुम्बा, राम्चेको करबाकेली थान, पुलाचौरको जगन्नाथ, पछै, रघुगंगा गाउँपालिकाको रिखार, मालिकाथानलगायत दर्जनौस्थल भक्तजनको प्रतीक्षामा छन्।ताकमकोट, ज्यामरुककोट, बेनी कोट र भगवतीमा रहेका ऐतिहासिक महत्वका कोटको संरक्षण हुन नसकेको बेनपा २ का टीकाबहादुर कार्कीले बताए।

समुदायको पहलमा भएका छन् केही काम

बेनी, तातोपानी, भुरुङ, दाना, घोडेपानी भ्रमणमा आउने पर्यटकका लागि सुविधा सम्पन्न होटल सञ्चालन भएका छन्। टिकोट, कुहुँको पूर्णगाउँ, झीँ, गुर्जामा, खिवाङ, होमस्टे सञ्चालन भएको छ। नाँगी, मोहरेडाँडा, फूलबारी, टिकोट, ढाँडखर्क, बयली र खोप्रामा सामुदायिक लज सञ्चालित छ। ती सामुदायिक लजको आम्दानी सामुदायिक विद्यालय र स्वास्थ्य संस्था सञ्चालनमा परिचालन गरेर नमूनायोग्य काम भएको छ।

मगर, छन्त्याल, थकाली, नेवार समुदायको मौलिक कला र संस्कृति पर्यटन विकासको अर्को आधार हो। धौलागिरि चक्रीय, अन्नपूर्ण आधार शिविर, गुरिल्ला, धौलागिरि आइसफल र सेञ्चुरी पदमार्गमा होटल तथा लजको सुविधा नभएकाले क्याम्पिङ गर्नुपर्छ।

सञ्चार र विद्युत् सुविधा पुगेको छैन भने सुरक्षा अर्को चुनौती हो। गाउँ पर्यटन प्रवर्द्धन केन्द्र (भिटोभ) का पूर्वमहासचिव राजकुमार थापा म्याग्दीमा थुप्रै सम्भावना भए पनि पूर्वाधार, प्रचारप्रसार र प्रवर्द्धनको अभाव रहेको बताए।

म्याग्दीका स्थानीय तहले चालु आर्थिक वर्षमा पर्यटन पूर्वाधार विकाससम्बन्धी ४२ वटा योजनालाई तीन करोड ४० लाख विनियोजन गरेका छन्। पर्यटन विकासका लागि स्थानीय तह, प्रदेश र संघीय सरकारले पूर्वाधारमा लगानी बढाउनुपर्ने म्याग्दी उद्योग वाणिज्य संघका अध्यक्ष उत्तम कर्माचार्यको भनाइ छ।

नयाँ रुटहरूमा पदमार्ग, क्याम्पिङ साइट, पदचिह्नका साथै गाउँमा होम स्टे, चिया पसल र होटल सञ्चालनका साथै स्थानीयमा पर्यटकमैत्री व्यवहारको विकास गराउन आवश्यक भएको पर्यटन व्यवसायी बताउँछन्।

म्याग्दीको पर्यटन क्षेत्रका अभियान्ता राजेश शाक्यले प्राकृतिक सौन्दर्यमा रमाउन चाहने सौखिन पर्यटकले अरू नपुगेको र नयाँ ठाउँ रुचाउने हुनाले नयाँ पर्यटकीयस्थलका बारेमा प्रचारप्रसारसँगै न्यूनतम आधारभूत पूर्वाधार जुटाई दिनुपर्ने आवश्यकता रहेको बताए।

जिल्ला प्रहरी कार्यालयको तथ्यांकअनुसार गत आव २०७४/०७५ मा ८० हजार जना पर्यटक भित्रिएको म्याग्दीमा आउने ९० प्रतिशत पर्यटकको गन्तव्य घोडेपानी पुनहिल नै हो। घोडेपानीका होटल व्यवसायीसमेत रहेका अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले पछिल्लो समय पर्यटकको संख्या बढे पनि उनीहरूले खर्च गर्ने क्षमता भने घटेको बताए। 

सडक विस्तार पर्यटन क्षेत्रको अर्को चुनौती बनेको छ। सडक विस्तारसँगै पुराना पदमार्ग विस्थापित मात्र भएका छैनन् पर्यटक आगमन निराशाजनक रुपमा घटिरहेको छ। पुराना पदमार्ग सडकमा परिणत भएपछि वैकल्पिक र नयाँ पदमार्गको पहिचान र विकासमा जोड दिइएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजनाले जनाएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.