'र्‍यापिड रेस्पोन्स टीम' देखि 'एक्याप' को टोली परिचालन

|

पर्वत : हिमालपारीको जिल्ला मुस्ताङमा कोभिड १९ भनिने कोरोना भाइरस संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाइएको छ। त्यहाँ घुम्न पुगेका १६० जना विदेशी पर्यटकको शनिबार एकैदिन स्वास्थ्यजाँच गरिएको छ।

चिसो ठाउँमा बढी स‌ंक्रामक हुने भनिएको कोरोनाबाट जोगिन हिमाली जिल्ला मुस्ताङमा संघदेखि स्थानीय सरकारले सतर्कता अपनाएको हो। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले नेपाललाई कोरोनाको उच्च जोखिमको सूचीमा राखेको छ। 

विदेशी पर्यटकहरूका कारण नेपालमा कोरोना संक्रमण फैलने उच्च जोखिम रहेको छ। कोरोना उद्‍गमस्थल चीन र अहिले निकै ठूलो आकारमा फैलिइरहेको पश्चिमा मुलुकहरूबाट नेपालमा पर्यटक आउन नरोकिएकाले यो जोखिमबाट बच्न मुस्ताङमा स्वास्थ्य सजगता उच्च बनाइएको हो। 

चिसो मौसम र आन्तरिक तथा बाह्य पर्यटकहरूको ठेलमठेल चाप हुने गरेको मुस्ताङमा पहिलेकै लयमा पर्यटकहरु नगएको भएपनि जाने क्रम भने रोकिएको छैन।

पर्यटकको स्वास्थ्य जाँचका लागि ४ वटा डेस्क

पर्यटकहरूको चाप अत्यधिक हुने गरेको जिल्ला मुस्ताङमा कोरोना सतर्कताको लागि चार वटा स्वास्थ्यजाँच कक्ष (हेल्थ चेक डेस्क) स्थापना गरिएका छन्‌। यी मध्येको एउटा मुस्ताङको जोमसोम एयरपोर्ट नजिकै हवाई मार्ग हुँदै आउने पर्यटकहरूलाई ध्यानमा राखेर स्थापना गरिसकिएको छ।

यस्तै, अर्को डेस्क बारगुङ मुक्तिक्षेत्र गाउँपालिकामा रहेको मुक्तिनाथ मन्दिर नजिकै स्थापना गरिएको छ। गाउँपालिकाका प्रमुख फेन्चोक छेप्तेन गुरुङका अनुसार मनाङबाट अन्नपूर्ण पदमार्ग अन्तर्गत थोरङ्लापास हुँदै मुस्ताङ भित्रिने पर्यटकहरूलाई ध्यानमा राखेर यो डेस्क स्थापना गरिएको हो।

सडक मार्ग अन्तर्गत सवारी साधनबाट मुस्ताङ पुग्ने पर्यटकहरूको स्वास्थ्य जाँच गर्नको लागि थासाङ गाउँपालिकाको घाँसामा ‘हेल्थ चेक डेस्क’ राखिएको छ। 

शनिबार मात्र १ सय ६० पर्यटकको स्वास्थ्य जाँच

मुस्ताङका प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालका अनुसार शनिवार मात्रै तीन ओटा डेस्कहरूमा १ सय ६० जना विदेशी पर्यटकहरूको स्वास्थ्य जाँच गरिएको छ।
शुक्रवार स्थापना भएको मुक्तिनाथ मन्दिर नजिकै रहेको डेस्कमा ३५ जना, जोमसोम एयरपोर्टमा रहेको डेस्कमा ५५ जना र घाँसामा रहेको डेस्कमा २ वटा जिप र एउटा बसमा गएका ७० जना पर्यटकहरूको स्वास्थ्य जाँच गरिएको छ।

घाँसामा जाँच गरिएकामध्ये १५ जना नेपाली पर्यटकहरू पनि रहेका थिए।

पाँच पालिकामा पाँच 'एमआरआरटी'

आन्तरिक भन्दा बाह्य पर्यटकहरूको चाप बढी हुने गरेको र अहिले विदेशी धेरै राष्ट्रहरूमा कोरोनाको सङ्क्रमण फैलिएका कारण मुस्ताङका पाँच वटै गाउँपालिकाहरूले उच्च सतर्कता अपनाइरहेका छन्।

विदेशबाट आएका पर्यटकहरूमा यसको सङ्क्रमण हुन सक्ने भएकाले हरेक गाउँपालिकाले आ–आफ्नै तयारीहरू गरिरहेका छन्। बारगुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख गुरुङले सबै पालिकाहरूले सचेतना फैलाउने काम गरिरहेको बताउँदै प्रत्येक पालिकाले 'म्युनिसिपल र्‍यापिड रेस्पोन्स टिम (एमआरआरटी)' निर्माण गरेर तयारी अवस्थामा रहेको बताए।

‘अहिलेसम्मको अवस्था हेर्दा त हामीले मुस्ताङमा कोरोनाको जोखिम छ भन्दैनौँ, तर युरोपियनहरू र इन्डियनहरू आफूखुशी आउने भएका कारण जोखिम चाहिँ छ,’ उनले भने, ‘यदि कोहीमा पनि शङ्का लाग्यो भने जुन पालिकाले भेट्छ, तुरुन्तै उपचार र निगरानीको लागि तल पठाइहाल्छ, हामी सतर्क अवस्थामा छौँ।’ यस्ता रेस्पोन्स टिमहरू मुस्ताङका सबै गाउँपालिकाहरू बारागुङ मुक्तिक्षेत्र, लोमान्थाङ, थासाङ, घरपझोङ र लोघेकर दामोदर कुण्डमा निर्माण गरिएका छन्।

अहिले नै पर्यटकलाई रोकिहाल्ने कुरा छैन

सम्बन्धित पालिकाहरूले आवश्यक मात्रामा तयारी गरिएको र सबै नाकाहरूमा रहेका डेस्कहरूमा राम्रोसँग जाँच गरिएका कारण तत्काल नै पर्यटकहरूको आगमनलाई रोक्नुपर्ने अवस्था नरहेको प्रमुख जिल्ला अधिकारी वेदप्रसाद अर्यालले बताए।

सम्बन्धित गाउँपालिकाहरू सहित जिल्ला जनस्वास्थ्य कार्यालयले पनि आवश्यक व्यवस्थापन गरेका कारण चिकित्सक सहित प्रहरी र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) को टोली पनि खटिएको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका प्रमुख गुरुङले जानकारी दिए।

लोमान्थाङ डेस्क खोल्न हिउँको अवरोध

मुस्ताङमा कुल ४ वटा ‘हेल्थ चेक डेस्क’ स्थापना गर्ने भनी निर्णय गरिएकोमा ३ वटा डेस्क स्थापना भइसकेका छन् भने एउटा डेस्क सञ्चालनमा आउने सकेको छैन।

जिल्लाको सबैभन्दा माथिल्लो भेगमा रहेको लोमान्थाङ गाउँपालिकामा राख्ने भनिएको हेल्थ डेस्कमा जानको लागि बाटो अवरुद्ध भएका कारण स्वास्थ्य जाँच गर्ने टोलीलाई पठाउन नसकिएको प्रजिअ अर्यालको भनाई छ।

‘लोमान्थाङको डेस्क खुलिसकेको छैन, सम्भवतः आइतबार बाटो पन्छाउन सकियो भने सोमबारबाट डेस्कको काम सुरु होला,’ उनले भने, ‘तर माथि डेस्क नखुल्दैमा पिर गर्नुपर्दैन, नाका बन्द भएका कारण चिनियाँ नागरिकहरू आउन पाउँदैनन्, तलबाट जाने पर्यटकहरूको स्वास्थ्य जाँच तलैका डेस्कहरूमा भइरहेको छ, बाटोमा हिउँ जमेका कारण तलबाट पर्यटकहरु जान सक्ने अवस्था छैन।’

मुस्ताङको तल्लो भागमा रहेका ३ वटा डेस्कमा कसैको स्वास्थ्य परीक्षण गर्न छुटेको भएमा सुविधाको लागि लोमान्थाङमा डेस्क स्थापना गर्न लागिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.