|

दाङ : माओवादी सशस्त्र द्वन्द्वका क्रममा बन्दुक र बारुद्धसँग खेलेका जेपी चौधरी अचेत देवीदेवताका मूर्ति बनाउँछन्‌।

शान्ति प्रक्रियासँगै जनसेनाबाट योङ्ग कम्युनिष्ट लिग (वाइसीएल) हुँदै सर्वसाधारणसरह जीवनयापनमा लागेका चौधरीले केही बर्ष घोराही उपमहानगरपालिका १७ गैरागाउँमा बंगुरपालन गरे। तर बंगुरपालनमा राम्रो आम्दानी गर्न नसकेपछि उनी आफ्ना साढु दाईको सहयोगमा मूर्तिकलामा लागे। १० बर्षे सशस्त्र द्वन्द्वका क्रममा आठ बर्षसम्म विद्रोही सेना भएर लडेका चौधरी गत छ बर्षदेखि भगवानका मूर्तिहरू बनाउँदै आइरहेका छन्‌।

चौधरीले घोराही उपमहानगरपालिका ५ धर्नामा रहेको पाण्डवेश्वर महादेव मन्दिरमा ठुलो ढुङ्गा कुँदेर भगवान शिवको मूर्ति बनाउन लागेका छन्। उनले धारापानीमा ढुङ्गा कुदेर १ सय ८ शिवलिङ्ग लगाएत मूर्तिहरु समेत निर्माण गरिसकेका छन्। दाङको घोराही उपमहानरपालिका ५ का चौधरीले धारापानी मन्दिरसँगै घरमा पनि मूर्ति बनाएर बेच्दै आएको बताए। 'धारापानीमा अधिकांश मूर्तिहरु ढुङ्गा कुदेर बनाएको छु, घरमा बनाउँदा माटोसँगै बालुवा, छड, सिमेन्ट लगाएतका सामग्रीबाट बनार्न् गर्छु,' उनले भने।

उनले जिल्लाका विभिन्न विद्यालयहरुका लागि समेत सरस्वतीको मूर्ति बनाइसकेका छन्। मूर्ति बनाउने काम सानैदेखि रुचि भएपनि विभिन्न कारण व्यवसायिक रुपमा गर्न नसकेको उनले बताए। माओवादी सेनामा जानुभन्दा पहिले चौधरीले नेपाल प्रहरीमा जागिर खाएका थिए। करिब डेढ बर्ष नेपाल प्रहरीमा रहेर काम गरेपछि उनले जागिर छोडेको बताए। प्रहरीको जागिर छोडेर चौधरी करिव ६ महिना घर बसेपछि माओवादीको जनमुक्ति सेनामा गए।

माओवादी सेनामा रहदाँ रुकुमको खारा, अर्घाखाचीको बतासे डाँडा लगाएतका ठाउँहरुमा लडेको उनले बताए। माओवादीमा लागेपछि गरिबी हटाउने, स्वदेशमै रोजगारीको अवसर दिने लगाएतका आश्वशन पाएपछि माओवादीमा लागेर ८ बर्ष बिताएका चौधरी शान्ति प्रक्रिया पछि भने पुन: बेरोजगार बन्न पुगे।

‘माओवादी आन्दोनका क्रममा त देश र जनताको परिवर्तनका लागि भनेर लडियो, घर परिवारको चिन्ता भएन ,उनले भने ,‘तर शान्ति प्रक्रिया पछि अवस्था फेरियो, सेनाबाट संगठन निर्माणका लागि बाहिर पछि केहीसमय पार्टीले खर्च दिने गरेको थियो, तर पहिलो संविधानसभाको निर्वाचनपछि त्यो पनि दिन छोड्यो।

विगत ६ बर्षदेखि मूर्ति बनाउँदै दैनिकी चलाउँदै आएको बताए। माटो,बालुवा,छड,सिमेन्टबाट भन्दा ढुङ्गाबाट मूर्ति बनाउन गाह्रो र समय समेत धेरै लाग्ने उनले बताए। ढुङ्गा कुदेर भागवानका मूर्ति बनाउन अब्बल चौधरी माटो, सिमेन्ट,बालुवा लगाएतको प्रयोग गरेर विभिन्न देवीदेवताका मूर्तिसँगै शहीद,साहित्यकार, जनावर लगायतका मूर्ति समेत बनाउने गर्छन्‌। दाङको प्रसिद्ध धार्मिक स्थल पाण्डवेश्वर धाम धारापानीमा शिवको मूर्ति कुँद्‍दै गरेका उनले भने, ‘काममा बढी परिश्रम गर्नुपरेपनि सीप र मेहनतअनुसारको आम्दानी भइरहेको छ।’

उनले आफूजस्तै अन्य युवाहरुलाई मूर्तिकलाको सीप सिकाउँदै आएको समेत बताए। चौधरीसँगै रोजगारी गर्ने कपिलवस्तु वाणगंगा नगरपालिकाका रविन्द्र विश्वकर्माले पहिलेको होटल व्यवसाय छोडेर मूर्ति बनाउने पेशामा आएको र यो पेशामा आफू निकै सन्तुष्ट रहेको बताए। अरुले बनाएको हेरेर आफुले बनाउन सिकेको समेत उनले बताए।

सिमेन्ट भन्दा ढुङ्गाको मूर्ति बनाउन धेरै गाह्रो हुने उनको भनाई छ। मूर्ति पेशालाई संरक्षण गर्न सके पर्यटन क्षेत्रमा पनि सहयोग पुग्ने देखिन्छ। यो पेशालाई बचाई राख्न स्थानीय सरकारले चासो दिन जरुरी छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.