|

अर्घाखाँची : शनिबार राति अविरल वर्षासँगै परेको असिनाले शितगंगा नगरपालिका-३ र ४ का किसानहरूको हिउँदे बाली नष्ट गरिदिएको छ। पाक्नै लागेको हिउँदे गहुँबाली, तोरीलगायत विभिन्‍न तरकारी खेती र फलफूल बाली क्षति भएपछि यहाँका किसान चिन्तित बनेका छन्।

पाक्न लागेको मुख्य गँहुबाली असिनाले सखापै बनाएको छ। करिब ३ घण्टा निरन्तर परेको असिना पानीले यहाँका कुखुरा फर्मका टहरासमेत  भत्किएर किसानका धेरै कुखुरा पनि मरेका छन्। कच्ची घरको गारो, ट्रसका छाना भएका टहराहरू,विभिन्न नर्सरीको टनेलाहरू भत्किएर करोडौंको क्षति भएको छ।

परिवार पाल्ने चिन्ता

असिनाले बाली नष्ट गरिदिएपछि यहाँका किसानलाई पेट पाल्ने चिन्ता थपिएको छ। श्रीमानले साथ छोडेपछि तरकारी बेचेरै आफ्नो जीविका चलाउँदै आएकी शितगंगा-३ साहुँटोला निवासी बालकुमारी घर्तीमगर भन्छिन्, 'जीवनको सहारा दिन्छु भनेका श्रीमानले साथ छोडे छोडे तर प्रकृतिले पनि उठ्न नसक्ने गरी क्षति गरायो।'

तरकारी बेचेर आएको दुईचार पैसा जम्मा गरेर वर्ष दिन खानेकुरा जुटाउँदै आएकी उनले यसपटक सबै खेती असिनाले नष्ट गरेपछि ५ जनाको परिवार कसरी पाल्ने भन्‍ने चिन्ता थपिएको गुनासो गरिन्।  उनले भनिन्, 'यही तरकारी बेचेर छोराछोरीको पढाइ खर्च,लत्ताकपडा, जुटाएकी थिएँ अब के गरौँला भनेर सोच्नै सकेकी छैन।'

सरकारले त आफू जस्ता गरिब दु:खी र असहायलाई क्षतिपूर्ति  दिए केही राहत हुने पनि उनले आशा व्‍यक्त गरिन्।

त्यस्तै, तरकारी बेचेरै जिविका चलाउँदै आएकी शितगंगा-३ पाणेगैरा निवासी पोमा पौडेलको पीडा पनि उस्तै छ। बारीको तरकारी बाली असिनाले चुटेर नष्ट पारेपछि ठूलो क्षति भएको उनले बताइन्। तरकारीसँगै टनेलाभित्र विभिन्न प्रजातिका फूलहरूको नर्सरी राखेर बिक्रीवितरण गरी दैनिक गुजारा गर्दै आएका शितगंगा-३ थर्पुका कमानसिङ दर्लामी पनि उत्तिकै चिन्तित छन्। नर्सरी र तरकारी पूर्णरूपमा नष्ट भएपछि २५ लाख बढी क्षति भएको उनले दुखेसो सुनाए।  

स्थानय सरकारको के छ तयारी?

प्राकृतिक प्रकोपबाट ठूलो क्षति व्यहोर्नुपरेपछि शितगंगा नगरपालिकाको विपत् व्यवस्थापन समिति,  निरीक्षणमा आएको जिप्रकको टोली र पत्रकारहरूको रोहवरमा बसेको आपतकालीन बैठकले यस घटनालाई राष्ट्रिय विपत्ति भनेको छ।

बैठकले किसानको क्षतिको विवरण संकलन गरी उचित क्षतिपूर्ति  उपलब्ध गराउन संघीय सरकार र प्रदेश सरकार तथा विभिन्न सरोकारवाला संघ सस्थाहरूसँग सहयोगको लिगी माग गर्ने निर्णय  गरिएको नगर प्रमुख सूर्यप्रसाद अधिकारीले बताए।  नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतमले नगरपालिकाले गर्न सक्ने क्षतिपूर्तिको व्यवस्था मिलाउँदै संघ र प्रदेश सरकारसँग सहयोगको माग गर्ने बताए।

जिल्ला प्रशासनको पहल

प्राकृतिक विपत्तिपछि प्रभावित गाउँ टोलमा जनताको  गुनासो सुन्न पुगेका प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले इतिहासमै यस्तो असिनाको दृष्य आफूले नदेखेको बताए। उनले किसानलाई विपत्तिबाट भएको क्षतिबारे उचित राहत उपलब्ध गराउन कुनै कसर बाँकी नराख्‍ने बताए।

प्राकृतिक विपत्तिलगत्तै बसेको नगर प्रमुख सूर्यप्रसाद अधिकारीको अध्यक्षतामा बसेको बैठकले क्षतिको विवरण संकलन गरी सम्बन्धित वडा कार्यालयहरूमा पठाउने निर्णय गरेको छ। त्यस्तै, विपतपछि चिसोका कारण महामारी बिरामी हुन सक्ने विषयलाई ध्यानमा राख्दै आवश्यक औषधि आपूर्तीमा कमी आउन नदिन तयारी अवस्थामा रहन व्यवस्था मिलाउनेसमेत निर्णय गरेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.