भद्रपुर : झापाको बिर्तामोडमा ‘अटो रिक्सामा’ गीतकाे म्युजिक भिडियो सार्वजनिक गरिएको छ।
पत्रकार तथा मोडल रमेश तिवारी र मोडल वन्दना आचार्य (बेबो) द्वारा अभिनित हलेसी टेड्र लिंकका प्रबन्धक चूडामणि पौडेलको ‘अटो रिक्सामा’ म्युजिक भिडियो सोमबार सार्वजनिक गरिएको हो।
पत्रकार चन्द्र भण्डारीले सो म्युजिक भिडियो औपचारिक रूपमा सार्वजनिक गरेका थिए। बिर्तामोडका युवा व्यवसायी पौडेलले दर्जन बढी गीतको रचना गरिसकेका छन्। गायक सन्तोष शिवाको स्वरमा रहेको म्युजिक भिडियोमा टिका भण्डारीको संगीत रहेको छ।
निर्माता पौडेलको रचनामा तयार पारिएको म्युजिक भिडियोको निर्देशन शंकर कोइरालाले गरेका हुन्। भिडियोलाई झापा, काठमाडौँ र चितवनका विभिन्न भूगोलमा छायांकन गरिएको बताइएको छ।
भिडियोमा मोडल तिवारीलाई अटो ड्राइभरको रूपमा देख्न सकिन्छ। बिदेशिएर दुःख गर्नुभन्दा नेपालमै बसेर पनि केही गर्न सकिन्छ भन्ने सन्देश म्युजिक भिडियोमार्फत दिइएको छ।
भिडियोमा रमेश र वन्दनाको प्रेमलाई झल्काइएको छ। गीत सार्वजनिक कार्यक्रममा नेपाल पत्रकार महासंघ झापा शाखाका अध्यक्ष तारामणि सापकोटा, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष कुमार भट्टराई, उपाध्यक्ष राजु न्यौपाने, गायक सन्तोष शिवाले म्युजिक भिडियोको विषयमा चर्चा गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।