|
फाइल फोटो

अर्घाखाँची : प्रदेशसभा सदस्य रामजीप्रसाद घिमिरेले भारी असिनापानीका कारण अन्‍नबालीमा क्षति ब्यहोरेका शीतगंगाका किसानलाई प्रदेश-५ सरकारबाट सहयोगको व्यवस्था मिलाउने बताएका छन्।

असिनाले नष्ट गरेको तरकारी, फलफूल तथा अन्‍नबालीको अवलोकन गर्ने क्रममा नेता घिमिरेले किसानलाई नआतिन आग्रह गर्दै क्षतिपूर्ति दिन प्रदेश सरकारले कुनै कसर बाँकी नराख्ने बताएका हुन्।

किसानको नाजुक अवस्थाबारे प्रदेश-५ का कृषिमन्त्रीलाई जानकारी गराइसकिएको बताउँदै नेता घिमिरेले प्रदेश सरकारबाट मात्र नभई संघीय सरकारसँग पनि सहयोगको माग गर्ने प्रतिबद्धता जनाए।

शीतगंगाको ३ र ४ वडामा किसानको अन्नबाली पूर्णरूपमा नष्ट गरेको छ भने वडा नम्बर ५ र १२ मा आंशिक रूपमा क्षति पुगेको छ। पूर्णरूपमा प्रभावित क्षेत्र वडा नम्बर ३ र ४ को थर्पु, साहुटोला, बजारटोला, अमराईलगायतका स्थानमा पुगेर अवलोकन गरि पीडित किसानलाई क्षतिपूर्ति दिने उनले आश्वासन दिएका हुन्।

नगरका उपप्रमुख टीका रेश्मीमगरले इतिहासमै नदेखिएको अविरल वर्षासँगै परेको असिनाले चुटेर किसानको बाली पूर्णरूपमा क्षति गरेको बताए। उपप्रमुख रेश्मीमगरले पाँच दिनभित्र किसानको क्षतिको विवरण लिएर नगरले क्षतिको संवोधन गर्ने बताए।

यसअघि नगर प्रमुख सूर्यप्रसाद अधिकारी, प्रमुख प्रशासकीय अधिकृत अर्जुन गौतम, प्रमुख जिल्ला अधिकारी विजयराज पौडेल, जिल्ला प्रहरी प्रमुख प्रकाश विष्ट, अनुसन्धान प्रमुख विनय चर्तुभेदी, सशस्त्र प्रहरी प्रमुख माधव रेग्मी, पत्रकार विष्णुकुमार आले, नवीन केसीलगायतको समूहले प्रभावित क्षेत्रमा पुगेर अवलोकन गरिसकेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.