महिला स्वास्थ्य स्वयंसेविकाले नेतृत्व गर्ने

|

काठमाडौं : कोरोना भाइरस नियन्त्रणको लागि सरकारले देशभरका गाउँपालिकामा स्वयंसेवक परिचालन गर्ने भएको छ। त्यसको लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा श्रीकृष्ण गिरीको अध्यक्षतामा स्वयंसेवक परिचालन समिति गठन गरेको छ।

स्वास्थ्य तथा शिक्षा मन्त्रीस्तरीय संयुक्त बैठकले कोरोना भाइरसबारे जनचेतना तथा निगरानी गर्न डा. गिरीको संयोजकत्वमा चार सदस्यीय स्वयंसेवक परिचालन समिति गठन गरेको हो। समितिमा स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, सहसचिव डा. गुणराज लोहनी र शिक्षा मन्त्रालयका सहसचिव दीपक शर्मा सदस्य रहेका छन्।

उक्त समितिले देशभरका ६ हजार ७४४ वडामा स्वयंसेवक खटाउने व्यवस्था गर्ने जिम्मेवारी पाएको छ। संयोजक प्राडा गिरीका अनुसार स्वयंसेवकले देशभरका वडामा हरेक दिन कम्तिमा २ देखि ५ जनाको समूह बनाइ घर-घर सचेतना कार्यक्रम अघि बढाउने छन्।

त्यसको लागि स्थानीय तहमा स्वयंसेवकको छनोट स्थानीय तहकै स्वास्थ्य समितिले गर्नेछ। तर, स्वयंसेवकको नेतृत्व महिला स्वास्थ्य स्वयंसेविकाले गर्ने छन्। स्वयंसेवकले घरघरमा गएर कोरोना भाइरसबाट जोगिनका लागि ध्यान दिनुपर्ने कुराका बारेमा भन्नेछन्।

‘स्वयंसेवकमा स्वास्थ्य क्षेत्रका र बाहिरका हुनेछन्, उनीहरूले कोरोना भइरसबाट बच्ने उपाए बारे सूचना दिने छन्' संयोजनक प्राडा गिरीले भने। गत डिसेम्बरमा चीनबाट फैलिएको नयाँ कोरोना भाइरसले विश्वभर महामारीको रूप लिएको छ। कोरोना भाइरसको प्रभाव दक्षिण एसियामा पनि बढ्दै गएको छ।

भारतमा दुईजनाको ज्यान लिइसकेको कोरोना भाइरसबाट पाकिस्तानमा पनि पहिलो व्यक्तिको मृत्यु भएको छ। उता इटालीमा एकै दिन ३४९ जनाको ज्यान गएको छ। मंगलबारसम्म विश्‍वभरमा कोरोना भाइरसबाट सात हजारको ज्यान गएको छ।

विश्‍वका १६० देशका मानिस कोरोनाबाट संक्रमित भइसकेका छन्। विश्‍वमा एक लाख ८२ हजार ५४७ जना संक्रमित भएका छन्। भारतमा कोरोनाबाट १२९ जना संक्रमित भएका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.