|

भक्तपुर : जिल्ला विपद् व्यवस्थापन समिति भक्तपुरले कोरोना भाइरसको नाममा हुने कालोबजारी अन्त्यका लागि टोलटोलसम्म सबै संयन्त्र परिचालन गर्ने भएको छ।
समितिको मंगलबारको बैठकले भाइरस संक्रमण नियन्त्रणका लागि सजगता अपनाउन सरकारी तथा गैरसरकारी संघसंस्था, स्थानीय तह ,सञ्चारमाध्यम, नागरिक समाज, पेसाकर्मी, समाजसेवी, सामाजिक अगुवासँगको सहकार्य गरिने भएको बताएको छ। 

नियमित बजार अनुगमन गर्ने र अनुगमनबाट कालोबजारी गरेको पाइए तत्काल कानुनी कारवाही गर्ने तथा एसईई परीक्षा केन्द्रहरुमा कोरोनासम्बन्धी हेल्प डेस्क सञ्चालन गर्नेसमेत बैठकले निर्णय गरेको छ।

बैठकले जिल्लामा राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको कार्यालय भवन तथा अन्य आवश्यक संरचना बनाउन पहल गर्ने, जिल्लाभित्र रहेको नगरपालिका र रेडक्रसमा विपद् ब्यबस्थापनका लागि सम्पर्क व्यक्ति र गतिविधिको माग गर्ने, स्वास्थ्यकर्मीहरु आवश्यक भएको अवस्थामा सेवा उपलब्ध गराउन तयारी अवस्थामा रहनुपर्ने निर्णय पनि गरेको छ।

बैठकमा पूर्वमन्त्री महेश बस्नेत, बागमती प्रदेश सांसद शशिजंग थापा, चाँगुनारायण नगरपालिकाका मेयर सोम मिश्र, मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठलगायत प्रमुख जिल्ला अधिकारीले हुमकला पाण्डेले थप सक्रियता बढाउन आवश्यक रहेको बताएका थिए। भक्तपुर अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा.सुमित्रा गौतमले जिल्लाका विभिन्न अस्पतालमा २३ बेडको आइसोलेसन क्षेत्र तोक्ने गरी तयारी भइरहेको जानकारी दिए।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.