वैकल्पिक शक्ति कांग्रेस र नेकपाबाटै निस्कनुपर्छ
वैकल्पिक शक्ति कांग्रेस र नेकपाबाटै निस्कनुपर्छ
काठमाडौं : नेपालकाे कम्युनिष्ट आन्दाेलनका नेतृत्वकर्ता पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धर। जो सरकार, सत्ता र शक्तिकाे पछाडि नलागेका नेताकाे छवि बनाएकाे नेतामा पर्छन्। उनलाई विभिन्न आराेप लागे तर, जे आरोप लाए पनि आरोप लगाउनेहरूले पुष्टि गर्न कहिल्यै सकेनन्।
९० वर्ष कटेका मानन्धरलाई केही शारीरिक कठिनाई भए पनि राजनीतिक रूपमा सचेत र जागरूक हुन बाधा छैन। २००७ सालदेखि आफ्नै पिताले किसानलाई दिएको ऋणका तमसुक च्यातेर राजनीति सुरु गरेका मानन्धरले ००९ सालको रौतहट किसान आन्दोलनमा युवा नेताका हैसियतले भाग लिए।
हाल सक्रिय राजनीतिमा नरहे पनि मानन्धर वर्तमानलाई उत्तिकै चासो राखेर नियाल्ने नेतामा पर्छन्। उनै मानन्धरसँग थाहाखबरका तीर्थ काेइराला र सन्ताेष अधिकारीले वर्तमान राजनीतिका बारेमा गरेकाे कुराकानीकाे संक्षिप्त अंश :
दाँत खिइसक्याे। हात खुट्टा गल्छ। कान सुन्दिनँ। रहे भएका दाँत जम्मै झिकेर नयाँ भर्ने साेचमा छु। जे खाए पनि अड्कन्छ। नझिके दु:ख दिन्छ। उमेर अनुसारको अवस्था छ ।
परिवर्तन दुई प्रकारका हुन्छन्। एक प्राकृतिक अर्थात् स्वाभाविक परिवर्तन। याे कसैले गरे पनि नगरे पनि भइरहन्छ। त्याे मानेमा नेपाल अछुताे रहन सक्दैन। अर्काे मानिसकाे प्रयासले परिवर्तन ल्याउने। प्रयासद्वारा परिवर्तन ल्याउने कुरा नेपालमा सही ढंगबाट भएन। जति हुनसक्थ्याे त्याे पनि भएन। म पत्रपत्रिकामा पढ्छु अचम्ममा पर्छु। २००७ सालदेखिकाे क्रान्तिले राजनीतिक विकृतिको अन्त्य अझै भएन। झन विकृति देख्छु। सामाजिक प्रयासले हुने काम पनि सोचे जस्तो भएनन्।
म सम्झन्छु २०१५ सालकाे निर्वाचनमा कम्युनिष्ट पार्टीबाट एकजना पनि महिला उम्मेद्वार थिएनन्। एकजना द्वारिकादेवी ठकुरानी कांग्रेसकाे तर्फबाट थिइन्। कम्युनिष्ट आन्दाेलन पुरुषकाे हैकमबाट मुक्त हुनै पाएन। अहिले पनि आश्चर्य लाग्छ। महिलाहरुलाई कानुनी हैसियत दिए पनि सामाजिक ढंगले वा भनौं समावेशी ढंगले अगाडि बढाउन अझै खाेजेका छैनन्। अहिलेका आन्दाेलन स्वार्थ पूरा गर्न हुन्छन्, हाम्रो बेलामा जनताकाे मुद्दामा आन्दाेलन हुन्थ्याे। समाज र राजनीति सँगसँगै हिडाउने काम हुन्थ्यो । बजारको प्रभाव कम थियो बिचारको प्रभाव ज्यादा थियो।
हाे आन्दाेलनले सामाजिक, आर्थिक रुपान्तरण गर्नु पर्ने हाे। याे गरेरै हुने कुरा हाे। आफैँ हुने हाेइन। केही भएन।
नेपालकाे कम्युनिष्ट आन्दोलन राेगले ग्रसित छ। मलाई त आश्चर्य नै लाग्छ। अहिलेकाे नेपाल कम्युनिष्ट पार्टी छ याे ओली र प्रचण्ड दुईजनाले सिंगो पार्टी चलाइरहेका छन्। सामूहिकता भन्ने कुरा कम्युनिष्ट पार्टीकाे मूल मर्म हाे। संसारमा मैले कहीँ यस्ताे देखेकाे छैन। वर्षदिन बित्दासमेत केन्द्रीय कमिटीकाे बैठक हुँदैन, उनीहरूसँग काेही बाेल्न सक्दैनन्।
मलाई सबैभन्दा आश्चर्य के लाग्याे भने घनश्याम भुसालमाथि ठूलाे आशा थियाे। उनले भन्थे पार्टी नसप्रिएसम्म न पार्टी राम्राेसँग चल्न सक्छ, न सरकार।यस्ताे भन्ने मान्छे पार्टी सुधार्न छाेडेर मौका पाउनासाथ आफैँ मन्त्री हुन दौडिएर गए। अमिक शेरचन त्यस्तै भए। उपप्रधानमन्त्री भइसकेको मान्छे गण्डकी प्रदेशकाे प्रमुख हुन गए। मैले चिनेका मानेका अमिक शेरचन धेरै परिवर्तन भइसके छन्। झण्डै कराेड पर्ने गाडी चढेर हिंड्छन्। मलाई पहिले मेरै घरमा आएर भनेका थिए हाम्राे पार्टी माओवादीमा मिलेकाे मन परेकाे छैन। उनी पनि नुन चिनी जस्तै घुलनशील रहेछन्।
नेपालमा वैकल्पिक शक्ति तयार भइरहेकै छैन। अहिले केहीले आफूलाई आफैँ वैकल्पिक शक्ति मान्छन् उनीहरूबाट केही हुँदैन। संसारभरका कुरा गर्दा दिल्लीमा केजरीवाल एकजनाले सबैकुरा उल्टाएर शक्ति निर्माण गर्याे जनताकाे मन जित्याे। मानिसले गर्न सक्ने विकासका काम गर्याे। इटलीमा पनि त्यस्तै भयाे।
नेपालमा अहिले भएकै राजनीतिक पार्टीबाट वैकल्पिक शक्ति निर्माण हुनुपर्ने म देख्छु। त्यसमा पनि यहाँ धक्का लागेकाे म देखेँ। तर कांग्रेस र कम्युनिष्ट बाहेकका पार्टीबाट अहिले नै वैकल्पिक शक्ति हुने छाँटकाँट म देख्दिनँ। जबसम्म नयाँ पुस्ताले केही गराैँ भन्ने आँट मनबाटै गर्ने वातावरण बन्दैन याे पुरानै पुस्ताले केही गर्न सक्दैन।
आचारसंहिता पास गरेकाे हप्ता दिनभित्रै ओलीले आफ्नै जन्मदिनकाे तडकभडक देखाए याे नेपालकाे कम्युनिष्टकाे लागि त लाजमर्दाे हाे नि। उनीहरूबाट नयाँ पुस्ताले के सिक्ने? ओलीले यसबारे अलिकति पनि पश्चात्ताप गरेनन्। गाेकुल बाँस्काेटाकाे सुरक्षामा अझ पनि अडियाेकाे विषयमा प्रधानमन्त्रीकाे हैसियतमा के बाेलेकाे त्यस्ताे? त्यसरी बोलेपछि छानविन कसरी हुन्छ? छानविन गर्नेले के हिम्मतले गर्छ? नेतृत्वमा बस्नेले शब्दमा ख्याल राख्नुपर्छ। रिसराग र प्रेम पनि ठाउँमा मिलाएर व्यक्त गर्नुपर्छ। तर, यिनीहरूबाट नयाँ पुस्ताले सिक्नुपर्ने कुराहरू हराउँदै गइसके।
कांग्रेसकाे पनि हालत उस्तै छ। अखबारमा खबर पढ्छु। विवाद भएकाे बाहेक देशकाे लागि गर्ने पार्टीमा गुट बलियाे बनाउने बाहेक कांग्रेसकाे खबर छैन।
यी दुवै पार्टीमा केही गर्न असम्भव छैन। जति कम्युनिष्ट, कांग्रेस बिग्रिए पनि उनीहरू ठूलै संस्था हुन्। उनीहरूकाे नेपालकाे राजनीतिमा इतिहास छ। निकै ठूलाठूला त्यागीहरू पनि जन्माएकाे पार्टी हाे। त्यसैले प्रतिपक्षकाे रूपमा हाेस् या सत्तापक्षकाे रूपमा हाेस विकल्प यही दुई पार्टीभित्रबाट निस्कनुपर्छ।
अहिले कुनै आन्दाेलन छैन छ त केबल स्वार्थपूर्ति गर्ने आन्दाेलन छन् याे साँचाे हाे। अब नयाँ नेता आउन कठिन छ। जनताकाे घरमा पुग्ने नेता छैन वातावरण छैन। जनताले पत्याउने काम गर्न सक्नुपर्छ। अहिले त्यो भएन।
नेपाली कम्युनिष्टकाे आन्दाेलन कसरी उठाउने, किसानकाे के समस्या के छ त्याे उठान गर्ने किसान आन्दाेलनमा कसैकाे ध्यान गएकाे छैन। ध्यान छ त मेराे गुट कसरी बलियाे बनाउने। प्रचण्ड र ओलीले नेतृत्व गरेकाे नेकपा, गुटहरूकाे महागुट हाे। याे पार्टी बन्न सकेन। संघहरूकाे महासंघ भएजस्तै नेकपा पनि गुटहरूकाे महागुट हाे। सत्ताकाे भाेक जाग्ने जगाउने खालका भए नेता।
हामीले आन्दाेलन सुरु गर्दा हजारकाे कुरा ठूला हुन्थे। अहिले कराेड,अरब, खरबकाे बाहेक कुरा हुनै छाेडे। सत्ता र शक्तिबाहेकअरू कुरा हुनै छाेडे। कति शक्तिशाली भएकाे छु भन्ने कुरा पैसामा दाँजिन थालियो। पैसाले निर्धारण गरेकाे कम्युनिष्ट पार्टीमा। नेपालकाे कम्युनिष्ट आन्दाेलनलाई सोभियत संघ विघटन हुनुले पनि असर गरेकाे छ। भ्रष्टाचारले सिध्यायाे। अहिले आन्दाेलनकाे नेतृत्व पछाडिबाट माफियाले गरिरहेकाे छ।
कर्मचारी भनेका सरकारका हात खुट्टा हुन्। कर्मचारीतन्त्रले गर्दा धेरै काम अल्झिएका छन्। कर्मचारीले अप्ठ्याराे पारी दिन्छन्। याे ठूलाे समस्या हाे। राजनीतिक दललाई त कति भन्नु यिनीहरू नै देश विकास गर्नभन्दा पनि कसरी कमाउने ध्याउन्नमा छन्। समाज कर्मचारी सबैलाई बाटो देखाउने नेतृत्व व्यापारी दलाल ठेकेदार र कर्मचारीले देखाएको बाटोमा हिँडेको देख्छु।
तपाईंको ईमेल गोप्य राखिनेछ ।