भारतीय एजेन्ट र भन्सारका कर्मचारीकै मिलेमतो !

|

बारा : राजस्व अनुसन्धान कार्यालय पथलैयाको नियन्त्रणमा रहेको ७२ हजार  केजी अखाद्य चिनी उपभोक्तामाझ पु-याउन आयातकर्ता कम्पनीले चलखेल सुरु गरेको छ। जलेश्वर भन्सार प्रमुख तथा कर्मचारीकै मिलेमतोमा फागुन २५ गते उक्त चिनी नेपाल भित्र्याइको थियो। चिनीको म्याद नगुज्रिएको भन्दै चिनी आयातकर्ता अनुष्का मल्टिपर्पोज कम्पनीका सञ्चालकले बजारमा लैजाने चलखेल सुरु गरेका हुन्। 

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरको प्रयोगशाला परीक्षण प्रतिवेदनमा उक्त चिनी म्याद गुज्रिएको भनी उल्लेख गरिएको छ। यति हुँदाहुँदै पनि जलेश्वर भन्सार कार्यालयले उक्त चिनी नेपाल भित्राउन अनुमति दिएको थियो। नियन्त्रणमा रहेको ७२ हजार केजी अखाद्य चिनी बजारमा पु-याउन आयातकर्ता कम्पनीका सञ्चालक शिवलाल तिमिल्सनाले उच्च राजनीतिक र प्रशासनिक भेटघाट थालेका छन्। 

‘यो चिनीे खानयोग्य छ’, तिमिल्सिनाले भने, ‘हाम्रो एजेन्ट र खाद्य प्रमाणीकरण कार्यालयका कर्मचारीबीच हिसाबकिताब नमिलेर यो पत्र लेखिएको हो।’ जलेश्वर प्रयोगशालाले निकालेको प्रतिवेदन किर्ते भएको समेत उनले बताए। सम्बन्धित कार्यालयको लेटरप्याड किर्ते गरी झूटो पत्र बनाएको उनले आरोप लगाएका छन्। 
‘यो चिनी हामीले भारतबाट ल्याब परीक्षण गरी ल्याएका हौं, खाद्य प्रमाणीकरण कार्यालय जलेश्वरले के आधारमा यो पत्र लेख्यो, हामीलाई थाहा छैन।’ ५० केजीका १ हजार ४ सय ४० मध्ये केही चिनीका बोरामा मात्र  लट नम्बर उल्लेख छ। 

अखाद्य चिनी आयात गर्ने नेपाली र भारतीय एजेन्ट कम्पनीका प्रतिनिधि हाल केही दिनदेखि पथलैया राजस्व अनुसन्धान कार्यालयमा छन्। ‘नेपाली आयातकर्ताको दबाबमा भारतीय एजेन्ट कम्पनीका प्रतिनिधिले म्याद गुज्रिएको चिनीलाई खानयोग्य छ भन्दै हामीकहाँ दबाब दिइरहेका छन्’, राजस्व अनुसन्धान कार्यालय पथलैयाका एक कर्मचारीले भने। सामान्यतया चिनी उत्पादनको मितिले २ वर्षभित्र खानयोग्य मानिन्छ। तर अनुष्का मल्टिपर्पोज कम्पनीले आयात गरेको चिनीको बोराबाहिर उत्पादन र म्याद गुज्रिने मिति उल्लेख गरेको छैन। 

राजस्व अनुसन्धान कार्यालय पथलैयाका सूचना अधिकारी होमबहादुर पाण्डेले भने आयातकर्ताले नेपाल भित्र्याएको चिनी खानयोग्य भनी कतै पेस गर्न नसकेको बताए। ‘यहाँ केही गल्ती कमजोरी त भएकै छ, तर कसको कमजोरीले म्याद गुज्रिएको चिनी नेपाल भित्रियो भन्ने विषयमा अनुसन्धान हुन बाँकी छ’, पाण्डेले भने, ‘मेरो सामान एकपटक नेपालको केन्द्रीय ल्याबमा परीक्षण गर्न पाऊँ भन्दै आयातकर्ताले चलखेल गर्न मिल्ने ठाँउ खोजिरहनुले यसको गतिविधि शंकास्पद देखिन्छ’

मिलेमतोमै चिनी नेपाल भित्रिएको हो : क्वारेन्टाइल प्रमुख

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय जलेश्वरका प्रमुख विपिनकुमार ठाकुरले सम्बन्धित निकायको मिलेमतोबिना गुणस्तरहीन चिनी नेपाल भित्रन नसक्ने दाबी गरे। ‘खाद्य प्रमाणीकरण कार्यालयले आधिकारिक पत्र दिँदादिँदै अखाद्य चिनी कसरी भित्रियो ?’ चिनी आयातकर्ता कम्पनीले खाद्य प्रमाणीकरणको पत्र किर्ते हो भनेर लगाएको आरोपको विषयमा ठाकुरले सो पत्र आधिकारिक भएको प्रस्ट पारे। 

म्याद गुज्रिएको ठूलो परिमाणको अखाद्य चिनी नेपाल आयात गर्नुमा भन्सार कार्यालय प्रमुख र कर्मचारीको संग्लनता प्रस्ट देखिएको ठाकुरले प्रस्ट पारे। खाद्य प्रमाणीकरण कार्यालयले भन्सारलाई पठाएको पत्रको बोद्यार्थ खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागलाई र त्यसको जानकारी भन्सार विभागलाई समेत पठाएको उनले जनाए। 

यता उपभोक्ता हिकहित संरक्षण मञ्चले भने भन्सार कर्मचारी तथा प्रमुखको मिलेमतोमा नेपाल भित्रिएको अखाद्य तीन ट्रक चिनी जिल्ला प्रशासन कार्यालय बाराले आफ्नो नियन्त्रणमा लिएर नष्ट गर्न माग गर्दै बारा प्रशासनमा उजुरी  दिएको छ। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.