|

कोरोना भाइरसको स‌ंक्रमण विश्वव्यापी बन्दै गर्दा श्रीलंकाले आगामी महिनाका लागि तय गरेको संसदीय निर्वाचनलाई अनिश्चितकालका लागि स्थगित गरेको छ।सरकारले कोरोना भाइरसको स‌ंक्रमण रोकथाम र नियन्त्रणका लागि तत्कालका लागि निर्वाचनलाई स्थगित गर्ने निर्णय लिएको अधिकारीले बताएका छन्।

‘विश्व स्वास्थ्य संगठनले श्रीलंकालाई भोलि कोरोनाभाइरसको स‌ंक्रमणको खतरा नरहेको बताए पनि हामीले निर्वाचनलाई तोकिएको समय (अप्रिल २५) मा सम्पन्न गर्न सक्दैनौं’, निर्वाचन आयोगका प्रमुख महिन्दा देशाप्रियाले बिहीबार बताए। ‘निर्वाचन मे, जुन वा जुलाईमा कहिले गर्ने भन्ने विषय कोरोना भाइरस स‌ंक्रमण फैलिने क्रम कहिलेसम्म जारी रहन्छ भन्ने विषयमा निर्भर रहन्छ।’

श्रीलंकाका राष्ट्रपति गोतावाय राजापाक्षले आगामी निर्वाचनमा आफ्नो दलले दुई तिहाई बहुमतका साथ संसदमा आउने विश्वाससहित यसबाट आफूलाई थप शक्तिशाली बनाउन सविधान संशोधनको अपेक्षा गरिरहेका अनुमानहरू स्थानीय राजनीतिक विश्लेषकहरूले बताएका छन्। कोरोना भाइरसका कारण विश्वव्यापी सन्त्रास फैलिए पनि श्रीलंकामा भने यसको स‌ंक्रमण पुष्टि भएका ५३ व्यक्ति मात्र रहेका छन्। 

सरकारले यो हप्तादेखि अन्तर्राष्ट्रिय विमानस्थललाई बन्द (लकडाउन) गरेको छ भने संवेदनशील मानिएका करिब आठ लाख ५० हजार नागरिकलाई अतिआवश्यक कामबाहेक आफ्नो घरबाट बाहिर नजान निर्देशन गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.