|

बागलुङ : धौलागिरी अञ्चल अस्पतालले कोरोना भाइरस भित्रन नदिने र आम नागरिकलाई सचेत बनाउन विभिन्न कार्यक्रम सञ्‍चालन गर्ने भएको छ।

बिहीबार बसेको व्यवस्थापन समितिको बैठकमा प्रमुख जिल्ला अधिकारी गौलोचन सैजु, प्रहरी उपरीक्षक नवराज भट्ट र बागलुङ नगरप्रमुख जनकराज पौडेल र स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौं समेत सहभागी भएर सर्तकता अपनाउने निर्णय गरेको अध्यक्ष केवी राना मगरले बताए।

अस्पतालबाहिरै साबुनपानीले हात धुने व्यवस्था गर्ने निर्णय भएको उनले बताए। त्यसअनुरूप तत्कालै व्यवस्थापनसमेत थालिएको उनले जानकारी दिए।

ओपिडीमा दैनिक सयौं बिरामीको भीड लाग्न थालेको छ। भीड हुन नदिनका लागि टोकन लिएर खुला रुपमा पालो पर्खने व्यवस्थापन मिलाउने, पालो आएपछि मात्र जाँच गर्न जाने व्यवस्था मिलाइएको छ।

अस्पतालमा आउने हरेक बिरामीलाई सेनिटाइजरले हात सफा गर्न सिकाउने, मास्क झिकाउने निर्णय भएको हो।

गुरौले जिल्लाभरका सबै स्वास्थ्य चौकीको उपचार क्षमता बढाउने, हरेक स्वास्थ्य चौकीमा पर्याप्त औषधि बितरण गर्ने, साबुनपानीले हात धुने र सामान्य उपचार सेवा गाउँमै गराउने निर्णय भएको जानकारी दिए।

‘सामान्य बिरामी हुँदा सदरमुकाम आउँदा भीड बढ्ने, संक्रमणको जोखिम हुने भएकोले उपचार सेवा गाउँकेन्द्रीत गर्न लागेका हौं’ अध्यक्ष रानाले भने।

सरकारले २५ जनाभन्दा धेरै हुनेगरी भीडमा नबस्न पनि आम नागरिकलाई सचेत गराएको छ। ‘घरायासी उपचारले हुने समान्य दुखाई, दाँत उखेल्ने, मुसाकोठी हटाउने जस्ता समस्या अघिपछि पनि समाधान गर्न सकिन्छ’ अस्पतालका डा. प्रदिप श्रेष्ठले भने ‘होलबडी चेकअप, बच्चाले खान मन नगर्ने, दुव्लाउँदै जाने जस्ता समस्याको पनि उपचार गर्ने यो उपयुक्त समय होईन।’

अस्पतालले भीडभाडको कम गर्न आवश्यक तयारी गरेर फराकिलो ठाउँमा बिरामी राखेर पालो प्रणालीमा उपचार गर्ने व्यवस्था मिलाउने तयारी थालेको जनाएको छ।

अत्याधिक बिरामीको चाप हुने सामान्य उपचार कक्षमा चिकित्सकलाई बिभाजन गरेर फराकिलो ठाउँ बनाउने तयारी पनि अस्पतालले गरेको अध्यक्ष रानाले बताए।

यसैबीच, बागलुङ नगरपालिकाले पनि हेल्थडेक्स स्थापना गरेर सेवाग्राहीलाई स्वास्थ्य परीक्षण गर्न थालेको छ। कार्यालयमा आउने सेवाग्राहीलाई साबुनपानीले हात धुन लगाउने, ज्वरो नाप्ने र सेनिटाइजर लगाउन भनेको स्वास्थ्य शाखाका इन्चार्ज दिनेश जिसीले बताए।

नगरभित्रका सबै इकाई र स्वास्थ्यचौकीमा समेत सेनिटाइजर र उपचार सामाग्री पठाइएको छ। नगरपालिकाले आकस्मिक कोष समेत परिचालन गरेर चैत महिनाभर सर्तकता अपनाउने तयारी गरेको हो।

प्रमुख प्रशासकीय अधिकृत दण्डपाणी शर्माले भएका कोषहरु परिचालन गरेर सामाग्री खरिद गर्ने, आम जनतालाई स्वास्थ्य रहने सन्देश दिने, व्यानरहरु लेखेर टाँग्ने काम थाल्ने बताए।

यसैबीच, कोरोना भाईरसको संक्रमण भित्रिन नदिन यहाँका युवाहरुले सचेतना अभियान थालेका छन्। ‘हाम्रो संसार’ नामक संस्थाको सक्रियतामा बागलुङका बिभिन्न स्थानमा सचेतनामुलक कार्यक्रम सञ्चालन गरिएको हो।

बागलुङ बजार, कुश्मीशेरा बजार, गल्कोटको हटिया बजार, ढोरपाटन नगरपालिकाको बुर्तिबाङ बजार लगायतका क्षेत्रमा युवाहरुले कोरोना सचेतना सामग्रीहरु वितरण तथा पर्खालमा टाँस्ने अभियान चलाएको नवराज पौडेलले बताए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.