|

सिन्धुली : विश्वभर फैलिएको कोरोना भाईरस (कोभिड–१९)को संभावित संक्रमणको रोकथाम तथा नियन्त्रणका लागी सिन्धुलीमा क्वारेन्टाइनस्थल तोकिएको छ। 

शुक्रबार जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंको नेतृत्वमा बसेको सरोकारवाला निकायको बैठकले अहिले खाली रहेको भु–संरक्षणको कार्यालयलाई क्वारेन्टाईन स्थल तोकेको हो। 

बैठकले जिल्लाका नौ ओटै स्थानिय तहहरूको समन्वयमा सचेतनामुलक अभियानहरू संचालन गर्ने, कोरोना भाईरस रोकथाप तथा बच्ने उपायसहित पर्चा, पम्प्लेटजस्ता सामग्रीका माध्यमबाट प्रचार-प्रसारको अभियान तीव्र बनाउने निर्णय भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले जानकारी दिए। 

उनका अनुसार कोरोना भाइरस संक्रमणको जोखिम देखाउँदै दैनिक उपभोग्य वस्तुमा हुने कालोबजारी तथा कृत्रिम अभाव रोक्न बजार अनुगमन गर्ने निर्णय पनि बैठकले गरेको छ। जिल्लामा खाद्यान्न, नुन, तेल, ग्याँस र औषधी लगायतका दैनिक उपभोग्य वस्तु अभाव हुन नदिन अनुगमन तीव्र पार्ने निर्णय गरेको हो। 

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले शुक्रबार सिन्धुलीमाढीका केही पसलहरूमा अनुगमन गरेको छ। अनुगमनका क्रममा व्यापारीहरूले खाद्यान्न, नुन, तेल, ग्याँस र औषधी लगायतका दैनिक उपभोग्य वस्तु अभाव नरहेको बताएका छन्। 

कोरोना भाइरसको सम्भावित संक्रमणबाट बच्न सिन्धुलीका स्थानीय तहले गाउँगाउँमा सचेतना कार्यक्रम शुरू गरेका छन्। जिल्लाको सुनकोशी गाउँपालिकाले कोरोना भाइरस संक्रमण रोकथामका लागि १० लाख रूपैयाँ बजेट बिनियोजन गर्दै विभिन्न सचेतनाका अभियानहरू शुरू गरेको छ। 

गोलन्जोर, फिक्कल,मरिण, तिनपाटन, हरिहरपुरगढी, घ्याङलेख गाउँपालिका तथा कमलमाई र दुधौली नगरपालिकाले साबुनसहितको धारा राखेर हात धुने व्यवस्था मिलाएको जनाएका छन्। सिन्धुलीमाढीमा रहेको एक मात्र जिल्ला अस्पतालले तीन शय्या क्षमताको अलग कक्ष (आइसोलेसन वार्ड) स्थापना गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.