संक्रमण रोकथामका लागि बृहत् तयारी थालेका छौं : मुख्यमन्त्री भट्ट

|

कञ्चनपुर : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले कोरोना भाइरसको संक्रमण रोकथामका लागि आवश्यक पूर्वतयारी थालिएको बताएका छन्। शनिबार पश्चिमी सीमा नाका गड्डाचौकीको अवलोकन गर्दै मुख्यमन्त्री भट्टले आफूहरूसँग भएका साधन र स्रोतको प्रयोग गरेर काम अगाडि बढाइएको बताए। उनले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई सुरक्षित गर्नका लागि कसरी व्यवस्थीत गर्ने भनेर तयारी भइरहेको बताए।

'संसारभर फैलिएको कोरोना भाइरसको रोकथामका लागि आवश्यक सामग्रीको अभाव छ' उनले भने, ‘संघीय सरकार संग समन्वय गरी अपुग सामग्रीको व्यवस्था मिलाइनेछ। आवश्यक औषधीका लागि अप्ठेरो छैन।’

कैलाली र कञ्चनपुर तराईका जिल्ला सीमा क्षेत्र भएका बढी जोखिम भएकाले बृहत तयारी गरिएको उनको भनाई रहेको छ कोरोनाको संक्रमण देखिए त्यसलाई व्यवस्थित गर्नका लागि तराई र पहाडी जिल्लामा क्वारेण्टाइन र आइसोलेसन कक्ष स्थापना गरिएको उनले बताए।

नेपाली सेनाका सैन्य अधिकारी संकरबहादुर पण्डीतले यात्रुको चापलाई मध्यनजर गर्दै गड्डाचौकीमा शुक्रबारदेखि हेल्थ डेस्क राखिएको बताए।

राष्ट्रियता, राष्ट्र र जनताप्रति नेपाली सेना सधैं कटिवद्ध रहेको चर्चा गर्दै उनले शंकास्पद बिरामी चेकजाँचका क्रममा फेला परे महाकाली अस्पतालमा लैजानका लागि नेपाली सेनाको एम्बुलेन्सको व्यवस्था गरेको बताए।

भीमदत्त नगरपालिकाका नगर प्रमुख सुरेन्द्र विष्टले साझेदार संस्थासँग मिलेर कोरोना भाइरस रोकथामका लागि अपनाउनुपर्ने पूर्वतयारी भइरहेको बताए। नगरपालिकाले सामुदायिक भवनमा एक सय जनालाई राख्न सकिने गरी क्वारेण्टाईनको व्यवस्था गरिएको बताए। महाकाली अस्पतालमा रहेको आइसोलेसन कक्षलाई व्यवस्थित गर्नेतर्फसमेत ध्यान दिइएको उनले बताए। बजार क्षेत्रमा हुने कालोबजारी रोक्नका लागिसमेत कार्य अगाडि बढाइएको उनले सुनाए।

हेल्थ डेस्‍कबारे जानकारी

यसैबीच, मुख्यमन्त्री भट्टले सीमा क्षेत्रमा राखिएको हेल्थ डेस्कको अवस्थाबारे समेत जानकारी लिएका छन्। आजै कैलालीको त्रिनगर भन्सारनजिकै गौरीफन्टामा राखिएको हेल्थ डेस्कको समेत उनले अवलोकन गरेका छन्।

मुख्य मन्त्री भट्टले सामाजिक विकासमन्त्री कृष्ण सुवेदीले भीमदत्तनगरस्थित महाकाली अस्पतालको असोलेसन कक्ष र भीमदत्त नगरपालिकाको क्वारेण्टाईन राख्‍न तयार गरिएको कक्षको अवलोकनसमेत गरेका छन्। मुख्यमन्त्री भट्टले कोरोनाका शंकास्पद बिरामी राख्नका लागि महाकाली अस्पतालमा ५० शैय्‍याको प्रीफाभ आइसोलेसन वार्ड तत्काल निर्माण गर्ने घोषणासमेत गरेका छन।

नेपाली सेनाको हेल्थ डेस्क

पश्चिमी सीमा नाका गडडाचौकीमा नेपाली सेनाले समेत हेल्थ डेस्क राखेर भारत बाट आउने यात्रुहरुको चेकजाँचको कार्यलाई अगाडी बढाएको छ। नेपाली सेनाको भीमदत्तनगरमा रहेको २५ नम्बर बाहिनीले पाँच जना सैनिक स्वास्थ्यकर्मीको टोली परिचालन गरी यात्रुहरुको चेकजाँच गरि रहेको छ। नेपाली सेनाले हेल्थ डेस्कमै एम्बुलेन्सको समेत व्यवस्था गरेको छ।

एकैदिन १० हजार बढी यात्रु भित्रिए

पश्चिमी सीमा नाका गड्डाचौकीबाट एकैदिन भारतबाट १० हजार बढी यात्रुहरु भित्रिएका छन्। बिहानीको समयमा धेरै यात्रुहरु भारतबाट आएपछि सडक क्षेत्रमा राख्‍ने व्यवस्था नहुँदा भन्सार कार्यालयको परिसरमा राखिएको थियो। हेल्थ डेस्कका स्वास्थ्यकर्मीहरूलाई चेकजाँच गर्न निकै हम्मे हम्मे परेको थियो।

चार दिनयता देखि यात्रुको चाप बढेपनि यति धेरै यात्रुहरु आएको पहिलोपटक भएको इलाका प्रहरी कार्यालय गडडाचौकीका सहायक प्रहरी निरीक्षक रमेश धामीले बताए।

'अरू बेला दैनिक तीन हजार देखि पाँच हजार यात्रु आएका थिए। आज दश हजार बढी यात्रु आए' उनले भने। भारत आएका यात्रुहरुमा कोरोना भाइरस संक्रमणका शंकास्पद बिरामी भने नदेखिएको हेल्थ डेस्कका कर्मचारीहरुको भनाई रहेको छ। 

गन्तव्यमा जानका लागि महाकाली यातायतले बसको व्यवस्था गरेको छ। महाकाली यातायातका अध्यक्ष डम्बर पन्तले यात्रुहरुलाई गन्तव्यमा जानका लागि अतिरिक्त बसको व्यवस्था मिलाईएको बताए। बसका कर्मचारी र बसभित्र कोरोना भाइरस बारे सचेता फैलाने र सतर्कता अपनाउने कुराहरुसमेत गर्न लगाईएको उनले बताए।

भारतद्वारा सवारीसाधन सञ्चालनमा रोक

पश्चिमी सीमा नाका गडडाचौकी भएर भारत तर्फ जाने सवारी साधान र ढुवानीका साधनलाइृ भारतले रोकेको छ। यात्रुको चापलाई मध्यनजर गर्दै भारतले तत्कालका लागि सावारी साधान रोकेको हो। नेपाल बाट भारत तर्फ जाने नेपाली लाई समेत जान रोेकेको छ भने भारत बाट नेपाल आउने नेपालीलाई आउन दिएको छ। भारतीय नागरिकलाई भारत तर्फ जान भने दिएको छ।  

भिडियो :

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.