|

रामचन्द्र तामाङ 

पाँचथर : मान्छेको जन्मपछि मुत्यु निश्चित छ। मृत्यु अघि मान्छेका अनेकौं रहरहरू पनि हुन्छन्। तर, ज्यूँदो छँदै मुत्यु र चिहानको रहर भने कसैको हुँदैन। किनभने मान्छे सर्बाधिक डराउने भनेकै मृत्यु र त्यसपछि चिहानसँग हो।

यद्यपि, एकदिन मरण हुन्छ नै। त्यसपछि आफन्त, नातेदार र छिमेकले घाटमा लगेर पुरेपछि चिहान (कपुरखान) बन्ने गर्छ। जुन चिहान मृतकको नाममा हुन्छ। यस विपरीत सबैलाई अनौठो लाग्ने गरी पाँचथरको फालेलुङ गाउँपालिका ८ सुर्के नाँगीका ८२ वर्षीय मनप्रसाद कुरुम्बाङले भने आफ्नो चिहान जीवित छँदै आफैँ बनाएका छन्। 

हुनतः लिम्बू समुदायमा देह त्यागपछि शव घाटमा लगेर पुर्ने संस्कार छ। त्यसपछि पुरेकै ठाउँमा चिहान बनाउने चलन छ। तर, मनप्रसादले यो संस्कारको क्रमभङ्गता गरेका छन्। अनि अनौठो ढंगले आफ्नो चिहान आफैँले बनाएका हुन्।

चिहानमा मुत्युवरणपछि भित्रपट्टी आफ्नो शव राख्न मिल्ने गरिको ठाउँ बनाएका छन्। उनले कालिगढ लगाएर चिहान बनाएका हुन्। उनले कान्छी श्रीमतीको पनि चिहान बनाएका छन्। यसअघि स्वर्गवासी भएकी जेठी श्रीमतीको पनि स्मरण स्वरुप चिहान घर बनाएका छन्। 

चिहान सिमेन्ट, गिट्टी र बालुवा लगाएर चिटिक्कको बनाएका हुन्। यसरी बनाएका तीनवटै चिहानको दैनिकजसो सरसफाइसमेत गर्दै आएका छन्। घरबाट करिब दुई सय मिटरको दुरिमा छ। रंगीन देखिने गरी बनाएको चिहानमा मन्दिर आकारमा जस्ताको छानो हालिएको छ। हेर्दा चिहान चिटिक्कको देखिन्छ।

बाटोको छेउमा  छ। चिहानको पछाडिपट्टि चाहिँ शवभित्र राख्न मिल्ने खाली भाग राखिएको छ। यसरी मृत्युवरण अघि नै कपुरखान बनाएपछि कतिपय मान्छेले उनलाई नराम्रो पनि भनेका छन्। उनले भने, 'धेरै जसोले भने हामी पनि यसै गर्छौं।' 

मनप्रसाद बि.स.१९९४ सालमा जन्मिएका हुन्। उनले २१ वर्षको उमेरमा बि.स. २०१४ सालमा विवाह गरे। उनकी जेठी श्रीमती खड्गमाया निङ्लेखुको यसअघि नै मृत्यु भएको छ। मुत्य भएपछि श्रीमतीको सम्झनास्वरुप चिहान बनाएको बताए। यसरी श्रीमतीको मृत्युपछि २०५० सालमा कान्छी श्रीमतीका रूपमा बुधमाया लिम्बूसँग बिहे गरेर ल्याए। बुधबामाया जीवितै छन्। तर, उनको पनि कुरुम्बाङले चिहान बनाइसकेका छन्।

बुधमायाले मुत्युपछि आफूहरूलाई भनेजस्तो ठाउँमा नराख्न सक्ने र दाह संस्कारमा लापरबाही गर्न सक्छन् भनेर श्रीमानले आफूसँग सल्लाह गरी चिहान निर्माण गरेको बताइन्।

कुरूम्बाङ दम्पतिले यसरी बाँच्दैमा चिहान बनाउनुकोपछि एउटा कारण रहेछ। त्यो हो, अरुको दाह संस्कार गर्न जाँदा आफूहरूलाई चित नबुझ्नु। कुरुम्बाङले भने, 'मुत्यु अघि नै चिहान हेर्ने इच्छा थियो। दाह संस्कार गर्दा लापरबाही गर्छन्। र आफूलाई चाहिँ मुत्युवरणपछि राम्रो घरमा बस्ने इच्छा छ। त्यसैले ज्युँदो छँदै चिहान बनायौं।’

बुबाआमासँगै रहेका कान्छा छोरा यामप्रसाद कुरुम्बाङले बुवाआमाको इच्छालाई आफूहरूले सहजै स्वीकारेका छन्। कुरूम्बाङले आफ्नो चिहान ३ वर्ष अघि नै बनाएको बताए। उनले एक लाख १२ हजार ८० रुपैयाँ खर्च गरेर चिहान निर्माण गरेको बताए।

दिवंगत भएपछि आफ्नो र श्रीमतीको शवलाई त्यही राखिदिन परिवारलाई भनेको पनि कुरुम्बाङले बताए। कुरुम्बाङको दुई भाइ छोरा, चार बहिनी छोरी र दर्जनौं नाती नातिनी छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.