|
दार्चुलास्थित महाकाली नदीमाथि बनेको लाली र डाड्या जोड्ने पूल।

दार्चुला : नेपाल भारत जोड्ने दार्चुलाको खलंगास्थित महाकाली नदी माथिको पुल भारतीय पक्षले आइतबार ४५ मिनेट बन्द गरेको छ। पूर्व सूचनाबिनै सीमा सुरक्षा बल (एसएसबी) ले पुल बन्द गरेको भारतीय प्रशासनले जानकारी दिएको छ।

नियमित ६ः४५ मा खुल्नु पर्ने पुल नेपालतिर खुलिसक्दा भारततिर भने एसएसबीले पुल खोलेको थिएन। धारचुला क्षेत्रका एसडिएम अनिल कुमार शुक्लाले पुल बन्द गर्ने सरकारी निर्णय नभएकोले एसएसबीसँग कुरा गरेर तत्काल पुल खोल्ने बताएपछि ७ः३० बजे पुल खुलेको हो।

महाकाली नदी माथि राखिएको लाली, जौलजिवी, दत्तु र हुतिमा रहेको पुलमा भने बिहानैदेखि सञ्चालनमा छन्।

आवागन बन्द गर्न दुबैतिर माग

कोरोनाको संक्रमण कम गर्न नेपाल र भारत दुवैतर्फका नागरिकहरुले निश्चित समयका लागि नेपाल-भारत जोड्ने पुल बन्द गर्नुपर्ने बताउन थालेका छन्।

भारतमा कोरोनाको संक्रमण देखिएपनि दुई देशमा निर्वाध आवागमन हुँदा कोरोनाको संक्रमण बढ्ने भन्दै नेपाल-भारत जोड्ने सबै पुल बन्द गर्नुपर्ने स्थानीय मोहन बिष्ट बताउँछन्। उनी भन्छन्‌, ‘हामी कहाँ संक्रमण देखिएको छैन, भारतीयहरु निर्वाध नेपाल आउन पाएका छन्, उनीहरूबाट संक्रमण आउन सक्छ, यो जोखिमलाई हेरेर पुलहरू निश्चित समयसम्मका लागि बन्द गरिनुपर्छ।' 

भारतमा 'जनता कर्फ्यु' चलिरहेको अवस्थामा नेपालबाट मान्छे भारतीय बजार क्षेत्रमा पुगे कर्फ्युको कुनै मतलब नहुने बताउँदै धारचुलाका स्थानीय राकेश तिवारी पनि निश्चित समयका लागि पुल बन्द हुनु पर्ने बताउँछन्। हिन्दुस्तान दैनिकका स्थानीय सम्वाददाता समेत रहेको तिवारी कोरोनाको संक्रमण कम गर्न सरकारहरुले पुल बन्द नगरेपनि स्थानीयहरुले दबाव दिएर पुल बन्द गर्न लगाउनुपर्ने बताउँछन्।

भारतबाट नेपाल आउने नेपालीहरुलाई असर नपर्ने गरी निर्वाध आवागमनमा रोक लगाउने गरी पूलहरु बन्द गर्दा जोखिम कम हुने भएकाले यसतिर सरकारहरूले सोच्नुपर्ने बेला आएको नेपाल पत्रकार महासंघ दार्चुलाका अध्यक्ष शंकरसिह धामी बताउँछन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.