|
गोरखाको अजिरकोट गाउँपालिकास्थित नम्की होमस्टे

गोरखा : कोरोना भाइरसको संक्रमणबाट बच्न चौतर्फी सचेतना अपनाइएका बेला गोरखाका होमस्टेहरूले पनि पाहुना राख्‍न छाडेका छन्।

कोरोनाको संक्रमण त्रासले शहरभन्दा पनि गाउँतिर घुम्न जाने क्रम सुरु भएसँगै धेरै मानिस भिडभाड हुने डरले होमस्टेहरूले पाहुना राख्‍न बन्द गरेका हुन्।

‘शुक्रबारदेखि हामीले कुनै पनि घरमा पाहुन नराख्‍ने निर्णय गरेका छौँ’ अजिरकोट गाउँपालिकाको बुद्धनम्की होमस्टेका सदस्य मीरा तामाङले भनिन्।

बाहिरबाट आउने पाहुनाहरू होमस्टेमा बस्दा कोरोना त्रास भइरहेका बेला संक्रमण हुन सक्ने, एक अर्कोमा भाइरल रोग सर्नसक्ने आशंकामा स्थानीयले होमस्टे बन्द गराएका हुन्।

१७ घरमा होमस्टे रहेको नम्की धेरै पाहुना आउने मध्येको एक हो। २०६९ सालदेखि सुरु भएको होमस्टे २०७२ सालको भूकम्पपछि २०७४ बाट पुन सुरु भएको हो।

एकनासका घर, तामाङ र गुरुङ समुदायको बस्ती, गाउँसम्म कालोपत्रे सडक भएकाले त्यहाँ पाहुना धेरै पुग्छन्। सरकारले अत्यावश्‍यक कामबाहेक घरबाहिर ननिस्कनु भन्ने सूचना जारी गरिरहेका बेला होमस्टेमा आउजाउ बन्द गरिएको सिरानचोक गाउँपालिकाको क्होल आरुबोट सामुदायिक होमस्टेका सल्‍लाहकार सुरेन्द्र गुरुङले बताए।

 ‘हामीले होमस्टेको तालिम र कार्यक्रम पनि स्थगित गर्‍यौँ’ उनले भने, ‘तत्काल हामीले पाहुना नराख्‍ने सल्लाह गरेका छौँ।’ भूकम्पको केन्द्रबिन्दुमा रहेको ‘बारपाक होमस्टे गोरखा’ ले समूहमा आएका पाहुना नराख्‍ने भएको छ।

२० घरमा होमस्टे रहेको बारपाक गोरखाको राम्रो चल्ने होमस्टे मध्येको हो। होमस्टेका पूर्व-अध्यक्ष मनोज घलेले भने, ‘केही दिनयता पाहुना आएका छैनन्, पहिले आउने भनेर ‘बुकिङ’ गरेकाहरू पनि कोरोनाको कारण रद्द भयो।’

बारपाक दुर्गम भेगमा रहेकाले आपतमा परेका एक/ दुईजना भए मात्रै होमस्टेमा राख्‍ने अन्यथा समूहमा आएकालाई नराख्ने निर्णय भएको छ।

होमस्टे सञ्‍चालक समितिले समूहमा होमस्टेमा बस्ने, कार्यक्रम गर्ने योजना केही समय पछि सार्नसमेत अनुरोध गरेका  छन्। गोरखा नगरपालिका-५ पश्लाङ होमस्टेले पनि पाहुन राख्‍न छाडेको छ।

होमस्टे सञ्चालक समितिका अध्यक्ष पूर्णबहादुर रानाले आउन खोजेका पाहुनालाई पनि अहिले नआउन भनेको बताए। ‘केही समययता पाहुना आउने क्रम ह्वातै घटेको छ’ उनले भने। गोरखामा होमस्टेको संख्या २५ भन्दा बढी छ। आर्थिक वर्ष ०७५/०७६ मा २२ वटा होमस्टेले गण्डकी प्रदेश सरकारको दुई करोड २५ लाख भन्दाबढि अनुदान पाएका छन्।

 यीमध्ये अधिकांश होमस्टे अनुदान लिनकै लागि ढिला गरी दर्ता भएका थिए। यो वर्ष पनि अनुदानका लागि केही संख्या थपिँदो छ। तर व्‍यवस्थित रुपमा सञ्‍चालन हुने सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.