केही पातलो भेटघाट गर्दै, केही टेलिफोनमा सक्रिय

|
फाइल फोटो

काठमाडौं : विश्‍वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणको जोखिम बढ्दै गएपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका शीर्ष नेताहरुले छलफल र भेटघाट बन्द गरेर 'होम क्‍वारेन्टाइन'मा बस्‍न थालेका छन्।

औपचारिक भेटघाट, सभा, सम्मेलनमा जाँदा कोरोना भाइरसको संक्रमण फैलिन सक्ने भन्दै नेताहरुले सबै कार्यक्रम रद्द गरी होम क्‍वारेन्टाइनमा बस्न थालेका हुन्। 

कांग्रेसका सभापति शेरबहादुर देउवाले भेटघाट बन्द गरी 'होम क्‍वारेन्टाइन'मा बसेको तीन भइसक्यो। उनले अझै केही समय कसैसँग भेटघाट नगर्ने बताएका छन्।

‘सभापतिज्यूले भेटघाट बन्द गर्नुभएको तीन दिन भयो,’ देउवाका स्वकीय सचिव भानु देउवाले भने, ‘उहाँ होम क्‍वारेन्टाइनमा बस्नु भएको थाहा नहुनेहरु भेट्न आउनु हुन्छ तर, गेटबाटै फर्किनुहुन्छ।’  

उपसभापति विमलेन्द्र निधिले पनि नेता कार्यकर्तासँग भेटघाट बन्द गरेर होम क्‍वारेन्टाइनमा बस्न थालेको दुई दिन भइसक्यो। उनका स्वकीय सचिव विश्वास विक्रमले भने, ‘कोरोनाले जोखिम निम्त्याउने भन्दै भेटघाट बन्द गर्नुभएको दुई दिन भइसक्यो। उहाँले सबैलाई सजक र सतर्क भएर बस्न पनि भन्‍नु भएको छ।’ 

महामन्त्री शशांक कोइरालाले भने विहान बेलुका समय मिलाएर नेता कार्यकर्ता भेटघाट गरिरहेका छन्। महामन्त्रीनिकटक नेता दिपक गिरीले भने, ‘स्वस्थ रहने, सतर्क रहने हो। महामन्त्रीज्यूले भेटघाट सतर्क भएरै नेता कार्यकर्तासँग भेटघाट गरिराख्नु भएको छ।’ 

वरिष्ठ नेता रामचन्द्र पौडेलले विज्ञप्ति नै निकालेर कोरोना भाइरसको संक्रमणबाट जोगिन सामाजिक दूरी कायम गर्न र अत्यावश्यक काम तथा कुराकानी टेलिफोनबाटै गर्न आग्रह गरेक छन्।

पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले भने,‘वरिष्ठ नेताले भेटघाटलाई पूर्ण रुपमा बन्द गर्नु भएको छ। संक्रमणको जोखिम कम भएपछि नियमित भेटघाट जारी राख्ने नेता कार्यकर्तालाई भनिरहनु भएको छ। उहाँले अत्यावश्यक काम टेलिफोनबाटै गरिरहनु भएको छ।’  

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनमा सभापति पदमा उम्मेद्‍वारी घोषणा गरिसकेका तेस्रो धारका नेता कृष्णप्रसाद सिटौलाले भेटघाट बन्द गरेका छैनन्।

सिटौलाले नेता कार्यकर्तासँग भेटघाट गर्दा केही दुरी कायम गरेर, जोखिम न्यूनीकरण गर्न विभिन्‍न तरिका अपनाएको उनको सचिवालयले जनाएको छ।

सिटौलाका स्वकीय सचिव किरण सिटौलाले भने, ‘नेता कार्यकता आइरहनु भएको छ। भेटघाट जारी छ। तर घर बाहिर खासै निस्कनु भएको छैन।’

सिटौलाले नेता कार्यकर्तासँग भेटघाट गर्दा मास्क तथा सेनिटाइजरको प्रयोग अनिवार्य गरेका छन्। कांग्रेसका अन्य शीर्ष नेताहरु पनि होम क्‍वारेन्टाइनमै बसिरहेका छन्। 

यसअघि नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पत्रकार सम्मेलन नै गरेर पार्टीको आन्तरिक कार्यक्रमहरु सदस्यता नवीकरण, प्रशिक्षण लगायत सबै गतिविधि स्थगित गरिएको जानकारी दिएका थिए।   
 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.