|

दार्चुला : त्रिदेशीय सीमा क्षेत्र व्यास जोड्ने घोडेटो बाटो पुनर्निर्माणको विस्तृत परियोजना प्रतिवदेन (डिपीआर) तयारीमा ढिलाइ भएको छ। एक महिनाभित्र डिपीआर तयार गर्ने भनिएकोमा तीन महिनासम्म पनि तयार पारिएको छैन।
 

मन्त्री परिषद्ले भारतबाट अतिक्रमित कालापानी-लिम्पियाधुरा-लिपुलेक क्षेत्रको नजिक नेपाली भूभाग जोड्ने घोडेटो बाटो मर्मत गरी सञ्चालनमा ल्याउन मंसिर २३ गते निर्णय गरेको थियो। मन्त्री परिषद्ले बाटो पुनर्निर्माणको जिम्मेवारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभागलाई दिएको थियो।

विभागले परामर्शदाता 'साइनिङ एक्सि'मार्फत पुस पहिलो हप्ता डिपिआर निर्माण गर्न थालेकोमा तीन महिनासम्म डिपिआरको टुंगो लाग्न नसकेको हो। विभाग र परामर्शदाताको टोलीले पुस ८ गते दार्चुलामा सरोकारवालासँग छलफल गर्दै एक महिनाभित्र डिपीआर तयार गरिने बताएका थिए।

परामर्शदाता इन्जिनियर जयराज पन्त भने आफूले बाटोको डिपीआर एक महिना पहिले नै विभागलाई बुझाइसकेको बताउँछन्।

प्राविधिक कारणले ढिलाइ भयोः विभाग

केही प्राविधिक कारणले डिपीआर तयारीमा ढिलाइ भएको स्थानीय पूर्वाधार विभागका प्रवक्ता एवं सिनियर डिभिजनल इन्जिनियर महेश्वर घिमिरेले बताए। ‘नयाँ प्रविधिबाट घोडेटो बाटो निर्माण गर्नुपर्ने भएकोले डिपिआर तयारीमा केही बढी समय लागेको हो’ उनले भने, ‘एक/दुई दिनभित्रै डिपिआर तयार गरी मन्त्रालयमा पेश गरिनेछ।’ 

डिपीआर तयारीको जिम्मेवारी पाएका परामर्शदाता इन्जिनियर जयराज पन्तले दुई हप्ताअघि नै आफूले विभागमा डिपीआर बुझाएको बताए। इन्जिनियर पन्तले पेश गरेको डिपीआरमा लागत बढी देखिएपछि विभागले पुनरावलोकन गरिरहेको जनाएको छ।

परामर्शदाताले राप्लाको दुम्लिङदेखि बुँदीसम्मको १६.४ किलोमिटर लामो बाटो निर्माणका लागि २५ करोड बजेट लाग्ने विवरण विभागमा पेश गरेको छ। सडक निर्माणको जति बजेट बाटो निर्माणमा लाग्ने देखिएपछि विभागले बाटो निर्माणको लागत घटाउन थप अध्ययन गरेको स्थानीय पूर्वाधार विभागका इन्जिनियर जनकराज पन्तले बताए।

३ सय मिटर लामो क्यान्टिलिभर पुल बन्ने 

दुम्लिङदेखि बुँदीसम्मको घोडेटो बाटोअन्तर्गत चट्टानको बीचमा क्यान्टिलिभर पुल राख्न प्रस्ताव गरिएको छ। भिरालो चट्टान भएको क्षेत्रमा १३ सय ३० मिटर लामो पुल निर्माणको गृहकार्य भइरहेको छ।

नयाँ प्रविधिको पुल भएकोले यसको डिजाइन र प्राविधिक तयारीमा केही समय बढी लागेको इन्जिनियर जनकराज पन्तले बताए। स्विजरल्याण्डको प्रविधि भएकाले त्यहाँका प्राविधिकसँग यसबारे थप छलफल र परामर्श गरिएको विभागले जनाएको छ। 

भिरालो चट्टानको बीचमा बनाइने पुललाई क्यान्टिलिभर पुल भनिन्छ। डिपिआरको स्वीकृतिपछि ठेक्का प्रक्रियामार्फत पुल निर्माण गरिने विभागले जनाएको छ। चट्टानमा एंकल ब्लक निर्माण गरी पुल राखिनेछ। क्यान्टिलिभर पुल बाहेक थप दुईवटा ट्रस पुल पनि राखिने विभागका इन्जिनियर पन्तले बताए।

व्यास जोड्ने बाटोको चौडाई १ मिटर २० सेन्टिमिटर हुने विभागले जनाएको छ। परामर्शदाताले पेश गरेको डिपिआरको मस्यौदा पुनरावलोकन गरी बाटो निर्माण तथा मर्मतको लागत १५ करोडको हाराहारीमा झारिएको विभागका इन्जिनियर पन्तले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.