|

काठमाडौं : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्न प्रमुख विशेषज्ञ तथा सहसचिव तहका विभागीय प्रमुखहरूलाई विभिन्न विषयको संयोजक तोकेको छ।

सकेसम्म नेपालमा कोरोना भाइरस नछिरोस् तथा संक्रमण फैलिएको खण्डमा स्वास्थ्य सेवा द्रुतरूपमा सेवा उपलब्ध गराउनका लागि मन्त्रालयले प्रमुख विशेषज्ञ चिकित्सकसहित मन्त्रालयमा रहेका सहसचिवलाई विभिन्न समितिका संयोजक तोकेर कामको जिम्मेवारी दिएको हो।

मन्त्रालयका दुई प्रमुख विशेषज्ञ चिकित्सक डा रोशन पोखरेललाई वैदेशिक समन्वय गर्ने संयोजक र अर्का प्रमुख विशेषज्ञ डा दीपेन्द्ररमण सिंहलाई अन्तर मन्त्रालय निकाय तथा प्रदेश समन्वय गर्ने संयोजक तोकेको छ।

त्यस्तै, सहसचिव डा गुणराज लोहनीलाई अस्पतालहरूसँग सम्बन्धित विषयवस्तुको संयोजक, डा तारानाथ पोखरेललाई प्रयोगशाला सम्बन्धित विषयवस्तुको संयोजकको जिम्मेवारी दिएको छ।

यस्तै, औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाललाई औषधिजन्य विषयवस्तुको संयोजक, डा विकास देवकोटालाई सामग्री व्यवस्थापन संयोजक, रघुराम विष्टलाई कर्मचारीसँग सम्बन्धित विषयवस्तुको संयोजक र शैलजा रेग्मी भट्टराईलाई सूचना विषयवस्तुको संयोजकको जिम्मेवारी दिइएको छ।

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीबाट नेपाललाई जोगाउन मन्त्रालयले उच्च अधिकारीहरूलाई थप जिम्मेवारीका साथ प्रभावकारी खटाउने निर्णय गरेको हो।

फ्रान्सबाट आएकी एकजना नेपाली महिलामा कोरोना भाइरस संक्रमण देखिएको छ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको स्वास्थ्य परीक्षणबाट १९ वर्षीया युवतीमा कोरोना देखिएको हो। 

उनी फ्रान्सबाट फर्किएर 'होम क्‍वारेन्टाइन' मा बसेकी थिइन्। होम क्‍वारेन्टाइनमा बसेकै बेला खोकी लागेपछि स्वास्थ्य जाँचका लागि उनी टेकु अस्पताल पुगेकी थिइन्। 

 यसअघि अर्का नेपाली नागरिकलाई कोरोना संक्रमण देखिएको थियो। तर उनी उपचारपछि ठीक भइसकेका छन्। योसँगै नेपालमै दुईजनालाई कोरोना संक्रमण पुष्टि भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.