|

काठमाडौंः कोरोना संक्रमण रोकथाम गर्न सरकारले २५ जनाभन्दा बढी मानिस एकै स्थानमा भेला हुन नपाउने निर्णय गरेपछि रानीपोखरी पुनर्निर्माणको काम रोकिएको छ। 

अधिकांश कामदारले काठमाडौं छोडेपछि कामदार अभाव भएको र कोरोना त्रास फैलिएपछि रानीपोखरीको काम केही दिनको लागि रोक्ने निर्णय भएको हो।

पुनर्निर्माणमा संलग्न कामदारहरू केही दिनअघि देखि नै धमाधम काठमाडौंबाट बाहिरिइसकेका छन्‌। काममा संलग्‍न कामदारहरू भक्तपूर र कीर्तिपूरमा रहेको ठेकेदार देवरत्न महर्जनले जानकारी दिए।

'अनिश्चितकालको लागि काम बन्द गर्ने घोषणा गरेका छौं,' ठेकेदार महर्जनले भने, 'त्यसभन्दा अगाडि सरकारले केही सूचना जारी गर्‍यो भने काममा आउँछौं।' सबै डराइरहेको र कामदारले नै काम गर्न नमानेकाले आफूहरूले जर्बजस्ती काममा लागाउन नसक्ने उनले बताए। कामदार स्वेच्छाले नै काम गर्न नआएकाले कामदारको संख्या घटिरहेको उनको भनाइ छ।

अनिश्चित कालको लागि काम रोकिने हो भने चैतभित्र रानीपोखरीको पुनर्निर्माणको काम सम्पन्‍न नहुने महर्जनले बताए। राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चैतभित्र  रानीपोखरी पुनर्निनिर्माण गरिसक्ने घोषणा गरेको थियो। प्रहरीले पनि रानीपोखरीमा भीडभाड गरेर काम नगर्न अनुरोध गरिसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.