काठमाडाैं : पूर्व-अर्थसचिव रामेश्वर खनालले एक महिनाको निवृत्तिभरण बापतको रकम नेपाल सरकारको कोरोना कोषलाई दिने घोषणा गरेका छन्। खनालले ट्वीटरमा लेख्दै चैत महिनामा आउने ४१ हजार ७ सय ३१ रुपैयाँ कोरोना कोषमा जम्मा गरिदिने घोषणा गरेका हुन्।
सहयोग दिने घोषणा गर्दै उनले लेखेका छन्, ‘सरकारी कोरोना कोषमा चैत महिनाको मेरो मासिक निवृत्तिभरण रु ४१,७३१ जम्मा गर्ने घोषणा गरेँ। ई सेवाबाट जम्मा गर्न मिल्ने गराइदिए, आजै जम्मा गर्न सक्थेँ।’
उनले आफूले सहयोग गरेको रकम रोजगारी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेहरूलाई प्रयोग गर्न पनि सरकारलाई आग्रह गरेका छन्। ‘यसको प्रयोग रोजगारी गुमाएका दैनिक ज्यालादारीमा काम गर्नेलाई राहत दिन प्रयोग गरिदिए हुन्थ्यो’ उनले लेखेका छन्।
आइतबार मात्रै मन्त्रिपरिषद्ले कोष खडा गर्ने र मन्त्रीको एक महिनाको तलब राख्ने घोषणा गरेको थियो। कोषमा सरकारले ५० करोड राख्ने निर्णय गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।