|

गुल्मी : गुल्मीको सदरमुकाम तम्घासदेखि दूरी र भौगालिक विकट रहेको स्थानीय तह हो कालीगण्डकी गाउँपालिका। भौगोलिक तवरले हेर्दा विकास निर्माणमा कम विकास भएको र यातायात, खानेपानी, सिँचाइ जस्ता तवरले पनि कालीगण्डकी गाउँपालिका पछि परेको देखिन्छ।

साबिकका हर्मिचौर, अर्बेनी, जयखानी, पूर्तिघाट, फोक्सिङ, भुर्तुङ र खडगकोट गरी ७ गाविस मिलेर बनेको गाउँपालिकाको केन्द्र पूर्तिघाटमा छ। कुल १०१ दशमलव ०४ वर्ग किलोमिटर क्षेत्रफल रहेको गाउँपालिकामा कुल १८ हजार ८७६ जनसंख्यामध्ये ८ हजार २७५ पुरुष र १० हजार ६०१ महिलाको संख्या रहेको छ।

गाउँपालिकाको उत्तरमा बाग्लुङ, पूर्वमा पर्वत, दक्षिणमा स्याङजा र पश्चिममा जिल्लाकै चन्द्रकोट गाउँपालिका रहेको छ। यहाँको बजार विशेष स्याङजाको मिर्मी र बुटवल केन्द्रित रहेको छ।

स्थानीय तहको निर्वाचनमा गाउँपालिकामा तत्कालीन नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच तालमेल गरेर नेपाली कांग्रेसका तर्फबाट अध्यक्ष बेदबहादुर थापा निर्वाचित भए। विगत एक दशकदेखि नेपाली कांग्रेको राजनीति गर्दै आएका बेदबहादुर थापामगर युवा नेतृत्वअन्‍तर्गत रहेका छन्।

कालीगण्डकी गाउँपालिकाले हाल गरिरहेका विकास निर्माणका कार्यहरू र आगामी योजनाबारे थाहाखबरकर्मी तिलाचन पाण्डेले उनै अध्यक्ष थापासँग गरेको कुराकानीको सम्पादित अंश :

स्थानीय तहको निर्वाचन भएको करिब तीन वर्ष हुन लाग्यो हालसम्मको अवस्था कस्तो छ?

गुल्मी जिल्लाको सदरमुकाम तम्घासबाट कोसौँ टाढा रहेको यस कालीगण्डकी गाउँपालिकामा विकासले गति लिन लागिरहेको छ। यहाँका जनताले विकासका निम्ति विजय गरी पठाएपछि मेरो सम्पूर्ण समय यहाँहरूको साथ सहयोगमा नै बितिरहेको छ। निर्वाचित भएको यस तीन वर्षको अवधिमा यहाँका पूर्वाधारदेखि कृषि क्षेत्र, खानेपानीका साथै शिक्षामा हामी हाम्रो समय र लागानी लगाइरहेको छौँ।

सिंह दरबारको अधिकार गाउँ-गाउँसम्म आएपछि खासमा जनताले के पाए?

गाउँमै अधिकार आएपछि गाउँका जनताहरू जिल्ला, केन्द्रमा विकासका निम्ति धाउने समस्या हल भएका छन्। स्थानीय तहले पाएका अधिकारहरू बढेका छन् तिनै सेवाहरू जनतालाई प्रदान गरिरहेका छौँ। जनताका आवश्यकताहरू यस गाउँपालिकाको कार्यलयमा सिधै राख्‍न पाउनुहुन्छ, हरेक विकासहरू फिल्ड भिजिट गरी वास्तविक आवश्यकताको पहिचान गरी जनताका समस्याहरू जनतासँगै बसेर हल गर्न पाएका छौँ।

पहिलो वर्ष हामीहरू कनुन, नीति निर्माण गर्नमा खर्च गरियो भने अबका दिनहरूमा जनताले अनुभूति गर्ने गरी काम गर्न लागेका छौँ। हालसम्म जग राख्‍ने काम भयो भने अब सोही जगलाई आधार मानेर जनताले अनुभूति गर्ने गरी काम हुन्छ।

तपाईं निर्वाचित भएर आइसकेपछि देखिने गरी के के काम गर्नुभयो?

निर्वाचित भएर आएको तीन वर्षको अवधिमा धेरै उपलब्धिका कामहरू भएका छन्। संघीयताको मर्मअनुसार पहिले स्थानीय तहको निर्वाचन भएपछि हामीहरू आएर बस्ने कार्यालय थिएन।

स्थानीय तहहरूसँग आवश्यक पर्ने कानुनहरू निर्माण गर्नुपर्ने भएका कारण पनि सोचेअनुरूप काम गर्न नसक्नु स्वाभाविक नै थियो। त्यी सबै समस्याहरूका बाबजुत पनि हामीहरूले पालिकाका वडा वडाहरूमा धेरै योजनाहरूको डिपिआर भएर काम भइरहेको र अन्य केही योजनाहरूको डिपीआर भइरहेका छन्।

सबै वडाहरूमा मोटर बाटोको पहुँच पुगेको छ। युवालाई स्वदेशमै रोजगारी सिर्जना गर्नका लागि समूह, सहकारी, निजी फर्महरूलाई अनुदान दिई कृषि र पशुपालनलाई व्‍यावसायिक तवरमा काम गरिरहेका छौँ।

एक घर एक धाराको माध्यमबाट खानेपानीको समस्या समाधान गर्नेगरी लागिपरेका छौँ। एक घर एक करेसाबारीलाई प्रथामिकता साथ अगाडि बढाएका छौँ।

स्थानीय तहका प्रमुखहरू खासमा बाटो भत्काउन मात्रै लागे भन्ने आरोप छ नि?

वास्तवमा देश विकासका लागि पूर्वाधारको अपरिहार्य छ तसर्थ यसको लागि मोटर बाटो अनिवार्य छ त्यसैले प्रथामिकताको आधारमा जहाँ मोटर बाटो पुगेको छैन जो सुविधाविहीन छ त्यहाँ मोटर बाटो पुर्‍याएका छौँ। हाम्रो आवश्यकताले होइन जनताका आवश्यकतामा हामी सदा सरिक छौँ।

तर पनि आवश्यकताका आधारमा काम गरिरहेको छौँ। भविष्यमा के हुन्छ थाहा छैन हाल मसँग डोजर छैन निर्माण व्यवसायीहरूको डोजर नै प्रयोग गरिरहेका छौँ। कहीँ कतै स्थानीय तहका अध्यक्षहरूले गरिरहेका होलान् तर हामीसँग जोडेर भन्नु त भएन नि।

निर्वाचनका समयमा जनतासँग गरेका प्रतिबद्धता अहिले सम्झनुहुन्छ?

पक्कै पनि, निर्वाचनको समयमा जनताका घर—घर जाने क्रममा जनतासँग यहाँका विकासबारे केही प्रतिबद्धता जाहेर गर्‍यौँ। तिनै प्रतिबद्धत अहिले मेरो दिनचार्य बनेको छ। ती प्रतिबद्धता क्रमश: पूरा गर्दैछौ।

समयानुसार जनताका आवश्यकताहरू बढ्दै जाने क्रममा कतिपय प्रतिबद्धताहरूमा ढिलाइ नभएको होला भन्न सकिन्न। यसमा हामी गम्भीर छौँ धेरै पूरा गरेका छौँ भने बाँकी पूरा गर्ने चरणमा छौँ।

स्थानीय तहले बढी कर लिएको आरोपलाई के भन्‍नुहुन्‍छ?

पुँजीका आधारमा र विभिन्न सेवा प्रवाहका क्षेत्रमा त्यति धेरै कर लगाएका छैनौँ। तर, पनि हामीले कर बढाएको नभई करको दायरालाई भने बढाएका छौँ। न्‍यूनतम मात्र कर लगाएका छौँ, धेरै कर उठाएर जनतालाई मारमा पारेका छैनौँ। जनताले व्‍यवसाय गरेका र गर्न लागेकाहरूलाई अनिवार्य दर्ता गरी करको दायरामा ल्याएको भने निश्चित हो।

योजना विनियोजन र अनुदानका कार्यक्रममा पनि राजनीति घुस्छ भन्छन् नि?

त्यसो होइन, योजनाहरू प्रथामिकताको आधारमा विनियोजन गर्ने गरिएको छ भने अनुदान व्‍यावसायिकताका आधारमा आवश्यकताकै आधारमा मात्र सञ्‍चालन गर्ने गरिएको छ। यदि युवाहरू विदेशबाट फर्किएर आएका युवाहरूलाई व्‍यवसायमा लगाउने गरी वितरण गरेका छौँ।

निर्वाचनको समयमा फरक-फरक पार्टीबाट आयौँ तर त्यसपछि हामीलाई राजनीति गर्नुछैन। तपाईंले प्रश्नमा उल्लेख गरेजस्तो गरी योजना विनियोजन र अनुदानमा किन राजनीति गर्ने? पालिकाभित्र रहेका युवालाई व्‍यावसायिकरूपमा कृषि, पशुपालनमा लगाई आर्थिकरुपमा आत्मनिर्भर बनाउने हाम्रो अभियान छ।

जसले काम गर्छ त्यसले अनुदान पाउँछ। कसैका अनुहार हेरेर अनुदान दिँदैनौँ र दिएका पनि छैनौँ। गाउँपालिकालाई कृषि, पशुपालन र पर्यटनका माध्यमबाट समृद्ध बनाउने अभियानमा लागिपरेका छौँ।

हामीले लिएका केही लक्ष्यहरूमा सबै नागरिकहरू जागरूक हुनुहुन्छ, स्थानीय सरकारले गनुपर्ने काममा हामी गम्भीररूपमा जिम्मेवार छौँ। स्थानीय सरकार पहिलो अभ्यास र नागरिकहरूका महात्वाकांक्षा बढ्दै जानु हाम्रो लागि समस्या रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.