|

दार्चुला : जिल्ला विपद् व्यस्थापन समितिले अत्यावश्यक सेवाका वस्तुबाहेक पसल र यातायात पूर्ण बन्द गर्ने निर्णय गरेको छ। अत्यावश्यक कामबाहेक सर्वसाधारणलाई हिँडडुल गर्नसमेत प्रतिबन्ध लगाइने भएको छ। सोमबार बसेको बैठकले जिल्लालाई चैत्र १० गते बेलुकी ५ बजेबाट लक डाउन गर्ने निर्णय गरेको हो। लक डाउन कार्यान्वयन गराउन सुरक्षाकर्मीसमेत परिचालन गरिने प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए। 

बजार अनुगमन

जिल्ला प्रशासन कार्यालयले सदरमुकाम बजारमा खाद्यान्न र ग्यासको अवस्था पत्ता लगाउन सोमबार बजार अनुगमन गरेको छ। सदरमुकाममा रहेका डेढ दर्जन सप्लायर्समा मौज्दात रहेको खाद्यान्न र ग्यासको रिकर्ड लिएर त्यसलाई वितरण गर्ने तरिकासमेत बताइएको अनुगमनमा रहेका जिल्ला प्रशासन कार्यालय दार्चुलाले बताए। मंगलबारदेखि सप्लार्यहरुले प्रतिपरिवार २५ किलो चामल, ५ किलो दाल, ५ लिटर तेल, २ किलो नुन र २ किलो चिनीका दरले मात्रै बिक्री गर्न जिल्ला प्रशासन कार्यालयले व्यापारीहरुलाई निर्देशन गरेको छ। 

यो महिना ४ सयभन्दा बढी भित्रिए 

चैत्र महिनामा मात्रै दार्चुलामा ४ सयभन्दा नागरिक भारतलगायत विभिन्न अन्य देशबाट दार्चुला भित्रिएका छन्। बाहिरबाट आएका नगरिक सेल्फ क्वारेन्टाइनमा बसे÷नबसेको समेत अनुगमन गर्न वडास्तरीय अनुगमनको व्यवस्थान गरिने पौडेलले जानकारी दिए। 

धारचुलामा नेपाली अलपत्र

चैत्र १० गतेदेखि भारतसितका सबै नाका बन्द हुने सूचना नपाएका र भारतको अन्य क्षेत्रबाट दार्चुला सदरमुकाम भित्रिन खोज्ने नेपालीहरू धारचुला र जौलजिवी बजारमा अलपत्र परेका छन्। बिहान ११ बजे मात्रै धारचुला पुगेका मालिकार्जुन गाउँपालिका पस्तीका जयराज जोशी र पिथौरागढमा मजदुरी गर्दै आएका रमेश धामी मात्रै नभएर उनीसँग आएका अन्य नेपाली पनि धारचुलामा अलपत्र छन्। 

‘हामीले नेपालको पुल बन्द हुन्छ भन्ने थाहा पाएका थिएनौं, बिहान ११ बजे पुग्दा पुल बन्द भएको थियो। भारततिर पुल खोल्दा पनि नेपालतिर भने पुल नखोलिँदा समस्या भएको छ,’ दिल्लीबाट धारचुला पुगेका जोशीले भने।

भारतीय प्रशासनले बाहिरबाट आएकाहरुलाई होटेलहरुमा समेत बास नदिएको बताउँदै जोशीले नेपाली प्रशासनले आफ्नो पीडा बुझ्नुपर्ने बताए। सूचना नपाएका नेपालीहरुलाई साँझसम्म नेपाल भित्र्याइने सिडिओ पौडेलले जानकारी दिएका छन्।

निर्बाध आवागमन, बजार खुला

नेपाल सरकारले चीन र भारतसँग जोडिएका सबै सीमा बन्द गरेको भए पनि दुवै देशको सीमा क्षेत्रमा पर्ने दार्चुलाको सदरमुकाम बजार खलंगामा भने यसको कुनै असर परेको छैन। खलंगा बजार पूर्ण रुपमा खुला छ भने नागरिकहरु निर्बाध आवतजावत गरिरहेका छन्।

भारत जोड्ने पुल बन्द हुनुपूर्व (बिहान १० भन्दा पहिले) सीमावर्ती भारतीय बजार धारचुलाबाट दैनिक उपभोग्य समान ल्याउन पुल क्षेत्रमा सयौं स्थानीय भेला भएका थिए। स्थानीय प्रशासन र नगरपालिकासँग आवश्यक छलफल गरेर बजार बन्द गर्ने नगर्ने निस्कर्षमा पुग्ने उद्योग वाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगलसिह ठगुन्नाले जानकारी दिएका छन्।
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.