|

डडेल्धुरा : जिल्ला प्रशासन कार्यालय, डडेल्धुराले निषेधाज्ञा जारी गरेको छ। कोरोना संक्रमण रोकथाम, नियन्त्रण र संक्रमण फैलन नदिन अत्यावश्यक सेवा बाहेकका सबै गतिविधि बन्द गराउन निषेधाज्ञा जारी गरेको हो। डडेल्धुराका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सोमबार एक सूचना जारी गर्दै मंगलबारदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेका हुन्। 

‘डडेल्धुरालाई कोरोना भाइरसको संक्रमणबाट जोगाउनका लागि अतिआवश्यक सेवाबाहेक अन्य सबै व्यापार व्यवसाय, समूहमा मानिस जम्मा भई भेला, सभा, गोष्ठी सेमिनार गर्न, भीडाभाड हुने गरी आवतजावत गर्न भोलिदेखि अर्को सूचना नभएसम्म निषेध गरिएको छ’, प्रजिअ पन्तद्वारा जारी सूचनामा उल्लेख छ। उक्त निषेधाज्ञाको उलङ्घन गरेको पाइएमा कानून बमोजिम कारबाही गरिने चेतावनी पनि प्रशासनले दिएको छ।

डोटीमा पनि निषेधाज्ञा 

कोरोना भाइरस (कोभिड–१९) को संक्रमणलाई रोकथाम तथा नियन्त्रण गर्न चुनौतीपूर्ण भएको भन्दै जिल्ला प्रशासन कार्यालय डोटीले निषेधाज्ञा जारी गरेको छ। 

जुनसुकै अवस्थामा पनि संक्रमण फैलन सक्ने परिस्थितिलाई ध्यानमा राखी जनस्वास्थ्य हितअनुकूल हुने अवस्थाको सिर्जना गर्न सर्वपक्षीय सहयोग र पहल हुनु जरुरी रहेको सूचना सार्वजनिक गर्दै मंगलबार बिहान १० बजेदेखि लागू हुने गरी निषेधाज्ञा जारी गरेको हो। प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलद्वारा हस्ताक्षरित सूचनामा उल्लेख भएअनुसार हालका दिनहरुमा नेपाल बाहिरबाट जिल्ला भित्रिने नागरिकको संख्या बढ्दै गइरहेको, त्यसमा पनि भारतबाट फर्कने नागरिकको संख्या दिनानुदिन थपिँदै गएकोले यसबाट कोरोना भाइरस संक्रमण बढ्ना बढी सम्भावना भएकाले परिस्थितिलाई नियन्त्रणमा लिन नसके उत्पन्न हुने परिस्थिति झनै जटिलपूर्ण हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

जिल्लाभित्रको जनजीवन सामान्य बनाइराख्न र नेपाल राजपत्रमा तोकिएका अत्यावश्यक सेवाहरु भोजनालय, खाद्यान्न तथा फलफुल एवं तरकारी, औषधि पसल, अस्पताल तथा स्वास्थ्य केन्द्र, मालसामान ओसारपसार गर्ने ढुवानी साधनहरु, सरकारी छापाखाना, सञ्चार सेवा, आन्तरिक सुरक्षा कार्य, खानेपानी, पेट्रोलियम पदार्थ वितरण, फोहोरमैला संकलन तथा ढुवानी र विद्युत् सेवाबाहेकका सेवाहरू र स्थलहरू बन्द गर्न निषेधाज्ञा जारी गरिएको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.