भन्छन्, 'उता पनि बस्‍न दिएन, नेपाल पनि छिर्न पाइएन'

|

पर्सा : प्रत्येक दिन मानिसको घुइँचो हुने मुलुकको मुख्य भन्सार नाका वीरगन्जमा सोमबारबाट मानिसको आवागमन ठप्प भएको छ। सोमबार बिहान १० बजेदेखि अर्को निर्देशन जारी नभएसम्म आगामी सात दिनका लागि वीरगन्ज नाकामा मानिसको आवागमन ठप्प भएको हो। 

कोरोना भाइरस ( कोभिड १९ ) फैलिन सक्ने सम्भावनालाई मध्यनजर गरी सोमबारदेखि सरकारको निर्देशनअनुसार प्रवेश मार्ग बन्द गरिएको पर्साका प्रमुख जिल्ला अधिकारी विष्णुप्रसाद कार्कीले बताए। ‘मालसमान बोकेका सवारी साधनलाई भने रोकिने छैन,’ उनले भने। भारतका विभिन्न ठाउँबाट नेपालको प्रवेशद्वारसम्म आइपुगेका नेपालीहरु भने आफ्नै देश प्रवेश गर्न पाएका छैनन्। 

वीरगन्जको शंकराचार्य गेटको दक्षिणतर्फ ठूलो संख्यामा जम्मा भएका नेपालीहरू आवागमनको अवस्था सहज भए नेपाल प्रवेश गर्ने आसमा बसेका छन्। प्रायः भारतका विभिन्न कलेजमा पढ्दै गरेका नेपाली विद्यार्थीको संख्या बढी रहेको छ। ‘उता पनि बस्न दिएन, यता आफ्नो देशमा आउँदा पनि प्रवेश पाइएन। अब हामी कता जाने ?’ उनीहरुले गुनासो गरे। 

त्यसैगरी भारततर्फ जान लागेकाहरु पनि वीरगन्ज भन्सार कार्यालयको मुख्य गेटयता सडकमै ‘सीमा कट्न पाइन्छ कि’ भन्ने आसले प्रतीक्षारत छन्। उज्यालो भएदेखि रातको १० बजेसम्म खचाखच हुने वीरगन्ज भन्सार क्षेत्र यतिबेला भने सुनसानजस्तै बनेको छ। यता वीरगन्ज बजारका खाद्यान्न बिक्रीवितरण गर्ने पसलहरुमा भने सोमबार साँझ उपभोक्ताको भीड बाक्लिएको छ। दिनभर पर्साको सदरमुकाम वीरगन्ज सुनसान देखिएको र साँझमा भने एकाएक भीड बढेको थियो। 
 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.