इटालीमा जस्तो महाभूल नगरौँ

|

छिमेकी राष्ट्र चीनबाट सुरु भएको नोबल कोरोना भाइरस (कोभिड १९) को कहर विश्‍वभर फैलिइरहेका बेला अर्को छिमेकी भारतले पनि भाइरससंँग लड्न आह्वान गर्यो। भारतीय जनताले पनि त्यसको स्वागत गरे।

हामी नेपाली मनमैत्री भएर हो वा परेपछि मात्रै विश्वास गर्ने बानीले यो महामारीमा ठूलो संकट व्यहोर्नु पर्ने देखिन थालेको छ। चीनबाट सुरु भएको कोभिड-१९ इटालीसम्म पुग्दा त्यहाँका देश र जनताले बेलैमा सावधान हुन नसक्नु महाभूल भएको छ। अहिले इटालीले जुन नियती भोग्‍नुपरेको छ, त्यसको मूल्य चुकाउन त्यो देशलाई लामो समय श्रम, मेहनत र धन खर्च गर्नु पर्ने देखिँदै छ। मानिसको जीवन क्षति त अपूरणीय नै भइहाल्यो।

तर हामी आफैंलाई कसले सम्झाउने हो चिन्ताको बिषय बनेको छ। के हामीले यसको नियन्त्रण गर्न सक्ने अवस्था छ? हामीले संयमता अपनाई यो भाइरस आउन नदिनु नै आजको मूल चुनौती हो। उसको लागि अरुले होइन, आफैंले सुरक्षित भइरहनु पर्नेछ। कोभिडको अर्थ को भिड्ने होइन, हामी आफैं आफ्नो र देशको रक्षाका लागि भिड्ने हो।

हिजो अस्तीको जस्तो बन्दलाई मनोरञ्जनात्कम बनाएर दिन काट्ने, साथीभाइँसँग तास खेल्ने, भेटघाट गर्ने, मादकपदार्थ पिउने वा आफ्नो आफ्नो स्वार्थको गुटको लागि जम्मा हुने बेला यो होइन। सबैले सचेत हुनु पर्छ।

यसको जन्मबारे फरक फरक अड्कलबाजी भइरहेको बेलामा वेद-धर्महरुको व्याख्या र मान्यताका आधारमा वा देवमुनी भएका कारणले वा हाम्रो क्षमता शक्ति (इम्युनिटी पावर) बढी भएको कारणले पशुपतिनाथले रक्षा गर्छन भन्‍ने अवधारणाहरुले झुटो आश्‍वासन देखाएर देश र जनतामाथि खेलवाड नगरौं।

अमेरिकाले बनाएको मानवनिर्मित जीवाणु होस्, वा चीनको ल्यावबाट निस्केको भाइरस होस्, यो खतरनाक छ। यसबाट हामीले हाम्रो समाज देश जनताको रक्षा गर्नु पर्दछ। हाम्रो देशको पूरा तन्त्रलाई हिजो आज सामाजिक संजालको जालोबाट बाहिर निस्कन पर्ने खास बेला आएको छ।

अहिले हिजोको पुरानो उखानहरुलाई आत्मसाथ गर्नुपर्ने बेला आएको छ। कसले हो कुन्नी मर भन्दैमा साँढे मर्दैन, बुढी मरि हैन काल पल्केको बुझ्नुपर्छ। यस्ता उक्तिहरुलाई आत्मसाथ गर्न आजको संवेदनशील नागरिकहरुको दायित्व हो। काठमाडौंमा बस्ने विभिन्‍न देशको स्वार्थका निम्ति लागि परेका तथा हाम्रो राजनितिमा बुद्धिजीवि धमिरा बढी ढोडे पल्केकाहरुको आवाज होइन। यो बेला आपत नपरि आफैँले आफैलाई भन्नुपर्ने बेला आएको छ, बुझ्नुपर्ने बेला आएकोछ।

तपाईं घरबाट ननिस्कनुको अर्थ तपाईंले देशकमा आउन लागेको संकटको मोचन गरेको बुझिनेछ। नजानेकालाई सिकाऊँ जानेकोले सुनाऔं। देश र जनता रहे दल रहने हो। कृपया सबै दलका भातृसंगठनमार्फत राष्ट्रिय नेताहरु मार्फत सबैले सबैमा पुग्नेगरि भन्नु जो जाहाँ छ त्यहाँबाट सहयोग गरौं।

उद्यागी व्यवसायीहरुले आ-आफ्नो उत्पादनको प्रयोगकर्तासम्म देश कोभिडको माया जालमा फस्‍न न दिन बिगुल फुक्न पर्छ यसबेला। इटालीको मिलान शहरमा लासहरुको ठूलो चिहान बनिरहेको छ। चीनको वुहानमा चिता जलिरहेको छ।

विश्वको सबैभन्दा शक्तिमान राष्ट्र अमेरिका यो समस्याबाट जुध्न सारा शक्ति लाएर प्रयास गरिरहेको छ। यो बेला हामी जस्तो प्रकृतिले धनी तर स्रोतसाधनले गरिबीको रेखामुनि रहेको नेपालको रक्षार्थ हामी सबै मिलेर देशलाई बचाउनु पर्छ।

यो महामारी मात्र होइन, यो हाम्रो भविष्य र वर्तमानको लागि अभिसाप पनि हो र हाम्रो भाग्य उदयको नयाँ मार्ग पनि हो। विक्रम सम्वत १४०६ तिर पनि यस्तो महामारी विश्वमा फैलिएको इतिहास छ। त्यो बेला विश्वको जनसंख्याको एक तिहाई मानिसले आफ्नो ज्यान गुमाएका थिए।

तर त्यो अज्ञानता थियो। असुविधाको समय थियो। हिजो आज सूचनाको पहुँच सबै जसोलाई सजिलोसँग छ। अब यो अवस्थामा पनि नेपाली नेपाल र हामीले यो परिस्थितिलाई आत्मसाथ गर्न सकेनौ भने यस्को भयावहबाट हामीलाई पशुपतिनाथले पनि बचाउन सक्ने छैनन्।

राज्यद्वारा प्रेषित र स्वास्थ्य संगठनद्वारा दिएका कार्यहरु अनुशरण नै यो महाकालबाट बच्‍ने मुख्य आधार हो। यो भाइरस हावामा ३ घण्टा, तामाको भाडामा ४ घण्टा, कागजमा २४ घण्टा, स्टीलको भाडाकुडाँमा २ दिनदेखि ३ दिनसम्म, प्लास्टिकका वस्तु तथा भाँडाहरुमा ३ दिनसम्म रहने हुँदा आफ्नो भाँडा, आफ्ना सामान आफैं चलाऊँ, बाहिर नजाऊँ, सेनिटाइजर प्रयोग गरि सबैलाई भनौँ र आफू पनि स्वस्थ व्यवहार गरौँ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.