|
भारतबाट आएकालाई बसबाट घर पठाइँदै। तस्बिर : थाहाखबर

डडेल्धुरा : कैलालीस्थित सुदूरपश्चिमको प्रमुख नाका गौरीफन्टामा दिनभर अलपत्र परेका नेपालीहरूलाई घर पठाइएको छ। भारतबाट आएका नौ सय ९९ जनालाई २१ बसमा गन्तव्य पठाइएको हो।

संघीय सरकारको आदेशपछि सुदूरपश्चिम सरकार र स्थानीय प्रशासनले यातायात प्रालिसँग समन्वय गर्दै उनीहरुलाई गन्तव्यतिर पठाएको हो।

सुदूरपश्चिम बाहिर चार बस, सुदूरपश्चिमका ६ पहाडी जिल्लामा १२ वटा, टीकापुर क्षेत्रमा चार र महेन्द्रनगरतर्फ एउटा गाडी पठाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

सुदूरपश्चिमका नौ जिल्लामध्ये बाजुरा बाहेकका ८ जिल्लाका ८ सय ७६ र अन्य १३ जिल्लाका एक सय २३ जनालाई सीमामै बसको व्यवस्थापन गरेर पठाउन लागिएको कैलालीका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए। केही यात्रु छुटेका भए थप बस व्यवस्था गरिने उनले बताए।

कैलालीका मात्रै दुई सय ९१ जनालाई गन्तव्य पठाइएको छ। सुन्दर सुदूरपश्चिम यातायात प्रालिका अध्यक्ष पदम सापकोटाले आफ्नो समितिले मात्रै १५ वटा गाडी यात्रुलाई पुगाउन दिएको जानकारी दिए। उनीहरूलाई स्कर्टिङमा गन्तव्य पुर्‍याइनेछ।

देशमा लकडाउन चलिरहेका बेला गौरीफान्टामा प्रहरी र सीमामा रोकिएका नेपालीबीच तनाव उत्पन्न भएको थियो। सरकारले देशभरका सीमा सिल गरेपनि घर फर्किन चाहेका नेपाली सीमामा रोकिएपछि तनाव भएको हो।

आवगमनमा रोक लगाएको अवस्थामा गौरीफन्टा नाकामा भारतबाट आएका सयौंको संख्यामा नेपालीसहितले सुरक्षा घेरा तोड्न खोज्दा तनाव भएको थियो। सीमामा खटिएका प्रहरी र सशस्त्र प्रहरीमाथि ढुंगासमेत बर्साउँदै केही युवाहरु नेपालतर्फ छिरेका थिए। 

सरकारले लक डाउन गरेपछि मंगलबार बिहान गौरीफन्टा नाका हुँदै घर फर्किन लागेका नेपालीलाई रोक लगाउँदा नेपाल प्रहरी र घर फर्कन लागेका नेपालीबीच झडप भएको थियो। 

संघीय सरकारले सीमामा अलपत्र नेपालीलाई प्रवेश अनुमति दिने निर्णय गरेको थियो। तर, मंगलबार बिहानैदेखि लकडाउन गरिएपछि सीमामा आइपुगेका नेपालीलाई त्यहीँ रोकिएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.