धादिङ : धादिङको उत्तरी भेगमा पर्ने त्रिपुरासुन्दरी गाउँपालिकाले स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा उपकरण वितरण गरेको छ।
गाउँपालिकाले स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्यकर्मी र कर्मचारीहरूको सुरक्षालाई ध्यानमा राख्दै सम्भावित बिरामी फेला पारेमा उपचारका बेला स्वास्थ्यकर्मीलाई संक्रमणबाट बचाउन व्यक्तिगत सुरक्षा उपकरण सामग्री हस्तान्तरण गरेको हो।
साबिकको मूलपानी, सल्यानटार, आगिन्चोक, त्रिपुरेश्वर गाविस मिलेर बनेको त्रिपुरासुन्दरी गाउँपालिकाअन्तर्गत सल्यानकोट, मूलपानी, त्रिपुरेश्वर र आगिन्चोकमा एक/एकवटा स्वास्थ्य चौकी र सल्यानटारमा प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालनमा छन्।
पालिकाले व्यक्तिगत सुरक्षा उपकरण सबै स्वास्थ्य संस्थामा २/२ सेटका दरले वितरण गरेको छ। गाउँपालिकाले ५ लाखको लागतमा २५ सेट सुरक्षा सामग्री खरिद गरी पालिकामा ल्याएको त्रिपुरासुन्दरी गाउँपलिका स्वास्थ्य संयोजक यमबहादुर श्रेष्ठले बताए।
कोरोना भाइरस (कोभिड १९) बाट बच्नका लागि त्रिपुरासुन्दरी गाउँपालिकाले विभिन्न तयारी गरेको जनाएको छ। कोरोना भाइरस संक्रमण रोक्न गाउँपालिकाले सबै स्वास्थ्य संस्थामा साबुन पानीसहित हात धुने व्यवस्था मिलाउनुका साथै सजगता अपनाउन सूचनाका लागि पर्याप्त व्यवस्था र भारतमा वा अन्य देशबाट काम छाडेर आएकाहरूको निगरानी बढाएको बढाएको जनाएको छ।
सम्भावित संक्रमण बढ्न नदिन गाउँपालिकाले आइसोलेसन कक्ष र क्वारेन्टाइन कक्षको समेत स्थापना गरेका छ। तत्कालको लागि सल्यानटार प्राथमिक स्वास्थ्य केन्द्रमा ४ बेडको आइसोलेसन कक्ष स्थापना गरिएको गाउँपलिका स्वास्थ्य संयोजक श्रेष्ठले जानकारी दिए।
श्रेष्ठका अनुसार प्राथमिक स्वास्थ्य केन्द्रको एक भवनमा २५ बेडको क्वारेन्टाइन कक्ष बनाइएको हो। नियमित बिरामी जाँच गर्नेलाई समेत ध्यानमा राखेर आइसोलेसन र क्वारेन्टाइन बनाइएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।